कुुष्ठरोग निवारण गरि छाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्छ : प्रधानमन्त्री ओली


काठमाडौँ, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एक भन्दा तलको सङ्ख्यामा कुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण उन्मुलन नभएसम्म आफूहरु सन्तुष्ट नहुने बताए ।

उनले पहिला पहिला आशीर्वाद दिइँदा पाचन प्रणाली राम्रो होस् भनेर दिइने स्मरण गर्दै आहार–बिहार र हेरचाहलाई सहीरुपमा गरेर स्वस्थ्य रहन सकिने र कुष्ठरोगजस्ता सङ्क्रामक रोग लागिहालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रुपमै अघि बढाउन आग्रह गरे ।

सोही प्रसंगमा प्रधानमन्त्री ओलीले आफूले पञ्चायतकालमा गोलघरमा रहँदा चिसो भुइँमा राखेर यातना दिइएको सम्झँदै त्यही कारण आफ्नो मिर्गौला फेल भएको सन्दर्भ उल्लेख गरेका थिए ।

प्रधानमन्त्री ओलीले कुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए । उनले रोग लुकाउनु हुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठरोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि समेत गरे ।

स्वास्थ्य मन्त्रालय सासाकावा फाउण्डेशन, विश्व स्वास्थ्य संगठन, नेपाल कानुन समाज लगायतका संस्थाहरुको सहकार्यमा आयोजित दुई दिने सम्मेलनका लागि देश तथा विदेशबाट प्रतिनिधिहरु आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *