१० लाख बढी किशोरीले लगाए एचपीभी खोप

काठमाडौँ, २९ माघ । गत २२ माघ देखि सुरु भएको पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप अभियानमा अहिलेसम्म १० लाख किशोरीले एचपीभी खोप लगाएका छन् ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार अभियान सुरु भएको ७ दिनमा १० लाख १६ हजार ७७१ किशोरीले एचपीभी खोप लगाएका हुन् ।
प्रदेश अनुसार कोशी प्रदेशमा एक लाख ८१ हजार ५०, मधेश प्रदेशमा एक लाख ४८ हजार ५६, बागमती प्रदेशमा एक लाख ९६ हजार ७४ किशोरीले खोप लगाएका छन् ।
यसैगरी, गण्डकी प्रदेशमा ८६ हजार ११२, लुम्बिनी प्रदेशमा एक लाख ८९ हजार ८७७, कर्णाली प्रदेशमा ८२ हजार ७९६, सुदूरपश्चिम प्रदेशमा एक लाख ३२ हजार ८०४ किशोरीले एचपीभी खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ७८६ लक्षित गर्दै एचपीभी खोप अभियान सञ्चालन गरिरहेको छ ।
एचपीभी खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने चिकित्सक बताउछन् । अभियानमा दिइएको खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन चिकित्सकको सुझाव छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भईरहेको र १० लाख बढीले खोप लिईसकेको भन्दै खुशी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत खोप अभियानमा सम्लग्न सबै पक्षलाई धन्यवाद समेत दिएका छन् ।
उनले भनेका छन्, ‘माघ २२ गतेदेखि सुरू भएको देशव्यापी एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको छ । हालसम्म १० लाख किशोरीहरूले यो खोप लिइसकेका छन् । अभियान फागुन ६ गतेसम्म चल्ने छ। खोप लगाउन यस अभियानमा संलग्न हुनुभएका व्यवस्थापक, स्वास्थ्यकर्मी, स्वयंसेवक, शिक्षक, अभिभावक तथा सरकारी तथा गैरसरकारी सबै निकायलाई धन्यवाद !’
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



