भारतमा पहिलो डेंगु खोप ‘क्युडेङ्गा’ प्रयोगको अनुमति

16
Shares

नयाँदिल्ली, ५ साउन । भारतले डेङ्गु नियन्त्रणका लागि पहिलो पटक खोप प्रयोगको अनुमति दिएको छ ।

स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको ‘क्युडेङ्गा’ खोपलाई चारदेखि ६० वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृति दिएको जनाएको छ ।

जलवायु परिवर्तन, तीव्र सहरीकरण र बढ्दो तापक्रमका कारण डेङ्गुको जोखिम बढिरहेका बेला यो निर्णयलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

भारतको केन्द्रीय औषधि मानक नियन्त्रण सङ्गठन (सीडीएससीओ) ले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत मूल्याङ्कनपछि स्वीकृति प्रदान गरेको हो ।

मन्त्रालयका अनुसार उक्त खोप चारदेखि ६० वर्ष उमेर समूहका व्यक्तिमा डेङ्गु रोगको रोकथामका लागि प्रयोग गरिने छ । ‘क्युडेङ्गा’ खोप दुई मात्रा (डोज) मा दिइने छ ।

यसमा दोस्रो मात्रा पहिलो खोप लगाएको तीन महिनापछि लगाइने व्यवस्था छ । टाकेडाले भारतमा खोपको उत्पादन र आपूर्ति विस्तार गर्न भारतीय कम्पनी बायोलोजिकल ईसँग सहकार्य गरिरहेको जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त खोपले डेङ्गु भाइरसका सबै चार प्रकार (सेरोटाइप) विरुद्ध सुरक्षा प्रदान गर्छ । यो खोप युरोपेली सङ्घ (इयु), बेलायत, स्विट्जरल्यान्ड, इन्डोनेसियासहित ४२ देशमा प्रयोगका लागि स्वीकृत भइसकेको छ ।

साथै यसले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को पूर्वयोग्यता (प्रि-क्वालिफिकेसन) पनि प्राप्त गरेको छ ।

हालसम्म विश्वभर दुई करोड ४० लाखभन्दा बढी मात्रा वितरण भइसकेको र यसको प्रयोगका क्रममा कुनै गम्भीर सुरक्षा समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डब्लुएचओका अनुसार विश्वको करिब आधा जनसङ्ख्या डेङ्गुको जोखिममा छ । प्रत्येक वर्ष विश्वभर अनुमानित १० करोडदेखि ४० करोडसम्म मानिस डेङ्गुबाट सङ्क्रमित हुने गरेका छन् ।

पछिल्ला वर्षमा जलवायु परिवर्तन, मौसमको बदलिँदो स्वरूप र तीव्र सहरीकरणका कारण डेङ्गुको सङ्क्रमण उल्लेखनीय रूपमा बढेको छ ।

भारतको पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार सन् २०२१ यता देशमा १० लाखभन्दा बढी डेङ्गु सङ्क्रमण पुष्टि भएका छन् भने कम्तीमा एक हजार ५०० जनाको मृत्यु भएको छ ।

यसैबिच भारतमै विकास भइरहेको पानासिया बायोटेकको ‘डेन्गीअल’ नामक डेङ्गु खोप अन्तिम चरणको क्लिनिकल परीक्षणमा पुगेको छ ।

स्वीकृति प्राप्त गरेपछि यो विश्वकै पहिलो एकल मात्रा (सिङ्गल डोज) डेङ्गु खोपमध्ये एक बन्न सक्ने अपेक्षा गरिएको छ । एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *