‘लगातार ३० मिनेट भन्दा बढी नबस्नुस्, क्यान्सरको जोखिम घटाउनुस्’

एजेन्सी । तपाईँको लगातार नचलिकन एकै ठाउँमा लामो समयसम्म बस्ने बानी छ । त्यस्तो बानी छ भने अब परिवर्तन गर्नुहोस् । किनभने यसले गम्भीर स्वास्थ्य समस्या ल्याउन सक्छ । हालै गरिएको एक नयाँ अध्ययन्ले एकैपटक लगातार ३० मिनेटभन्दा बढी समय बस्ने वा जाग्राम अवस्थामै पल्टिरहने बानीले क्यान्सरका कारण मृत्यु हुने जोखिम बढाउन सक्ने देखाएको छ ।
पिएलओएस मेडिसिनमा प्रकाशित अध्ययन रिपोर्टका अनुसार शोधकर्ताहरूले ९१ हजारभन्दा बढी व्यक्तिलाई करिब १२ वर्षसम्म पछ्याएर अध्ययन गर्दा, दिनमा एकैपटक ३० मिनेटभन्दा बढी समय निष्क्रिय (बस्ने वा सुत्ने) व्यक्तिहरूमा क्यान्सरबाट मृत्यु हुने सम्भावना बढी देखिएको हो। साथै, प्रत्येक अतिरिक्त एक घण्टा लगातार निष्क्रिय रहँदा यस्तो जोखिम झन्डै १० प्रतिशतले बढ्ने अध्ययनले जनाएको छ।
तर अनुसन्धानले एउटा सकारात्मक पक्ष पनि देखाएको छ। यदि ३० मिनेटभन्दा लामो समय बसेपछि बीच–बीचमा उठेर केही समय हिँड्ने वा हल्का शारीरिक गतिविधि गर्ने हो भने यो जोखिम घटाउन सकिन्छ। अनुसन्धानकर्ताहरूका अनुसार प्रत्येक आधा घण्टामा एक पटक उठेर कार्यालय वरिपरि छोटो दूरी हिँड्नु मात्रले पनि स्वास्थ्यमा उल्लेखनीय फाइदा पुर्याउन सक्छ।
अध्ययनका प्रमुख लेखक तथा ग्लास्गो विश्वविद्यालयका डा. फ्रेडरिक होका अनुसार, “हाम्रा तथ्यांकले एकैपटक ३० मिनेटभन्दा बढी बसिरहनु विशेषगरी क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित रहेको देखाउँछ। खुसीको कुरा, बीच–बीचमा उठेर छोटो दूरी हिँड्ने जस्तो सामान्य गतिविधिले पनि यसबाट केही हदसम्म सुरक्षा दिन सक्छ।”
उनले थपे, “हालका स्वास्थ्य निर्देशिकाहरूले मध्यम वा तीव्र व्यायामलाई बढी प्राथमिकता दिएका छन्। तर हाम्रो अध्ययनले हल्का शारीरिक गतिविधिलाई पनि बेवास्ता गर्नु हुँदैन भन्ने देखाएको छ। भविष्यमा हुने क्लिनिकल परीक्षणहरूले सबैका लागि एउटै सल्लाह दिनेभन्दा पनि व्यक्तिअनुसार उपयुक्त रणनीति विकास गर्न सहयोग गर्नेछन्।”
अध्ययन्मा विशेषगरी लामो समयसम्म निष्क्रिय रहने बानीको स्वास्थ्यमा पर्ने असरको अध्ययन गरेको हो। यसअघि पनि लामो समय बसिरहनु वा पल्टिरहनु मुटुरोग तथा केही प्रकारका क्यान्सरसँग सम्बन्धित रहेको प्रमाण भेटिएको थियो। तर निष्क्रिय समय कसरी बिताइन्छ भन्ने पक्षले पनि स्वास्थ्यमा असर गर्छ कि गर्दैन भन्नेबारे कम अध्ययन भएको थियो।
अनुसन्धानमा सहभागीहरूले लगाएका विशेष उपकरणबाट प्राप्त तथ्यांकको विश्लेषण गर्दा, लामो समयको निष्क्रियतालाई शारीरिक गतिविधिले प्रतिस्थापन गर्दा क्यान्सरको जोखिम कम हुन सक्ने देखियो। लाभदायक गतिविधिमा बिस्तारै हिँड्ने, घरायसी काम गर्ने, कपडा इस्त्री गर्ने वा भाँडा माझ्ने जस्ता सामान्य कामहरू पनि समावेश थिए।
अध्ययनले दिएका मुख्य बुँदाहरु
- दिनमा एक घण्टा निष्क्रिय समयलाई हल्का शारीरिक गतिविधिले प्रतिस्थापन गर्दा क्यान्सरबाट मृत्यु हुने जोखिम १२ प्रतिशतले घटेको पाइयो।
- दिनको ३० मिनेट निष्क्रिय समयलाई मध्यम स्तरको गतिविधि (जस्तै सामान्य गतिमा हिँड्ने) ले प्रतिस्थापन गर्दा जोखिम ८ प्रतिशतले कम भयो।
- दिनको ५ मिनेट निष्क्रिय समयलाई तीव्र शारीरिक गतिविधिले प्रतिस्थापन गर्दा जोखिम २२ प्रतिशतसम्म घट्न सक्ने देखियो।
यद्यपि अनुसन्धानकर्ताहरूले यो अध्ययन अवलोकनात्मक भएकाले यसबाट प्रत्यक्ष कारण–परिणामको सम्बन्ध निश्चित रूपमा प्रमाणित गर्न नसकिने बताएका छन्।
यस अनुसन्धानमा संलग्न नभएका ओपन युनिभर्सिटीका अनुप्रयुक्त तथ्याङ्कशास्त्रका अवकाशप्राप्त प्राध्यापक केभिन म्याककनवेले अध्ययनका नतिजा निकै रोचक भए पनि यस विषयमा अझ थप अनुसन्धान आवश्यक रहेको बताएका छन्।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
