नेपाल स्वास्थ्य प्राविधिक संघको स्थापना दिवस र बर्तमान सन्दर्भ

नेपाल स्वास्थ्य प्राविधिक संघले धेरै उतारचढावको बाबजुद आज आषाढ १६ गते ४८औँ स्थापना दिवस मनाइरहेको छ । यस सन्दर्भमा सम्पूर्ण सरोकारवाला स्वास्थ्यकर्मीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
साथै, यो संघ स्थापना गर्न र यसको लक्ष्य प्राप्तिको लागि आफ्नो जिउ, ज्यान , जागिर र अवसरको पर्वाह नगरी लाग्नुहुने सम्पूर्ण अग्रजहरूप्रति हार्दिक नमन टक्र्याउँछु ।
स्थापनाकालमा पञ्चायती शासकको नजरमा अराष्ट्रिय तत्वको नामले मुद्दा खेप्नुपरेको थियो । भने त्यसयता पनि आम स्वास्थ्यकर्मीहरूको अधिकारका लागि लड्दै नेपाल स्वास्थ्य व्यवसायी परिषद्को गठन गर्ने कार्यमा नेतृत्वदायी भूमिका खेलिएको हो ।
परिषद् गठन सम्बन्धी व्यवस्थामा ऐनको दफा ४(१)(ख) बमोजिम यस संघका अध्यक्ष पदेन सदस्य, साथै ऐ (ङ) बमोजिम यस संघको सिफारिसमा प्याथोलोजी, फिजियोथेरापी र पब्लिक हेल्थ समूहबाट नेपाल सरकारबाट मनोनित ३ जना सदस्य हुने व्यवस्था रहेकोमा केही स्वार्थ समूहको दबाबमा भरखरै मात्रै सरकारले ल्याएको अध्यादेशमार्फत उक्त ३ जना मनोनयन गर्ने व्यवस्था हटाउन ऐनको दफा ६ मा रहेको “मनोनयन वा” भन्ने शब्द झिकिएको छ भनिएको छ ।
जसको कारण अब मनोनयनको प्रावधान हटाई अब निर्वाचित सदस्यहरूको पदावधि ३ वर्षको हुनेछ भनिएको छ । यसले गर्दा अब परिषद् गठनमा सरकारले अध्यक्ष र रजिस्ट्रार मन्त्रिपरिषद्बाट नियुक्त गर्नेछ भने अन्य ५ जना पदेन वा प्रतिनिधि रहने र बाँकी सदस्यहरू निर्वाचनबाट आउनुपर्नेछ ।
यहाँ उल्लेख गर्न खोजेको कुरा, “सुत्केरी नभई सुत्केरीको व्यथा थाहा हुँदैन” भनेझैँ, जुन संस्थाले आफ्नो धेरै कुरा गुमाएर झण्डै दुई दशक लामो संघर्षबाट यो उपलब्धि हासिल गर्यो, यो प्राप्त उपलब्धि खोसेर आफूहरू जान पाउनुपर्ने मागसहित पुरानालाई हटाउनुपर्छ भन्ने दबाब सिर्जना गर्ने काम गरेको छ । त्यसैले पनि यहाँ उल्लेख गर्न आवश्यक ठानेको छु ।
साथसाथै, यतिबेला ट्रेड युनियनहरू खारेजीमा परेका छन्, जसले गर्दा पेशागत संघ–संगठनहरूको अझै आवश्यकता महसुस गरिएको छ । तसर्थ पनि म तमाम स्वास्थ्यकर्मीहरूबीच अपिल गर्न चाहन्छु कि सबैजना यही संस्थामा आबद्ध भई यस संघलाई सशक्त ढंगले अगाडि बढाऔँ । नत्र जहिले पनि राज्य निर्मम हुन्छ र यसले आवश्यकता पर्दा उपयोग गर्ने र सामान्य अवस्थामा यसलाई लत्याउने, यसको अधिकार कटौती गर्ने वा औचित्यहीन सावित गरी खारेज गर्ने सम्मको निरंकुशता लाद्न सक्छ ।
यतिबेला यो संघमाथि चौतर्फी हमला हुने काम भइरहेको पनि जानकारी गराउन चाहन्छु । यसलाई कमजोर सावित गरी आफूहरू कसरी परिषद्मा जान सकिन्छ भन्ने समूह सक्रिय भइरहेको छ । आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्नुभन्दा पनि यसलाई कसरी कमजोर बनाउने भन्ने मात्र ध्येय रहेको पाइन्छ ।
कतिपय विषयगत संघ–संगठनहरू यो समग्र स्वास्थ्यकर्मीहरूको पेशागत तथा माउ संस्था अर्थात् छाता संगठन स्वीकार गर्न आनाकानी गर्ने र विषयगत संस्थाहरूले यो संस्था सरह सुविधा पाउनुपर्छ भनेर दाबी गर्ने अथवा यो संस्थालाई राजनीतिक लाञ्छना लगाउने र नेतृत्वलाई कमजोर र बदनाम गराउन उद्यत भएको देखिन्छ । मैले यसो भनिरहँदा सबै विषयगत संस्थाहरूलाई इंगित गरेको होइन, केवल जुन-जुन संस्था यसलाई कमजोर बनाउन उद्यत रहेका छन्, केवल उनीहरूलाई मात्र हो ।
अन्तमा, यस संघको ११औँ राष्ट्रिय महाधिवेशन आगामी आश्विन ९ र १० गते हुन गइरहेकोले पुनः सम्पूर्ण सरोकारवाला स्वास्थ्यकर्मीहरूलाई हार्दिक अपिल गर्दै आज देशैभर यस संघको ४८औँ स्थापना दिवसको सुखद् उपलक्ष्यमा सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
# श्रेष्ठ नेपाल स्वास्थ्य प्राविधिक संघ (PAN) का केन्द्रीय अध्यक्ष हुन् ।
सम्पर्क इमेल : [email protected]







