सन्दर्भ : १० औँ स्वास्थ्य बीमा दिवस

श्रम मन्त्रीको गरम कुरा : कसरी होला पुरा ?

कार्यक्रम व्यवस्थापनमा चुकेको बोर्ड  : बोल्ने-बोलाउने पुरुष, महिला सुन्ने मात्रै ?
336
Shares

काठमाडौँ, २५ चैत । बुधबार दशौँ स्वास्थ्य बीमा दिवस समारोहमा प्रमुख अतिथि बनेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले मन्तव्य दिने क्रममा बीचबीचमा भन्ने गरेका थिए, ‘नयाँ नेता हुँ, बोल्ने क्रममा कता कता पुग्छु कि भन्ने डर छ,’ यसो भन्दा दर्शक दीर्घामा सहभागीहरु हास्थे तर उनले फेरी झटारो ठोक्थे ।

अलि ‘गरम’ मुडमा प्रस्तुत भएका मन्त्री साहले आफ्नो शुभकामना मन्तव्य दिने क्रममा कसैलाई बाँकी राखेनन् ।

‘स्वास्थ्य बीमालाई यो दयनीय अवस्थामा पुर्याउने कोहो भनेर सोध्नु हुन्छ भने म भन्छु यसमा मुख्य भूमिका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै हो । फेरी स्वास्थ्य मन्त्री भन्नु होला, त्यो होइन उहाँ नयाँ हुनुहुन्छ, मन्त्रालय भित्रको व्युरोक्र्याट्स । पहिले मलाई लाग्यो देश बिगारेको नेताले हो, तर मन्त्री भएपछि मैले बुझेँ देश विगार्ने त व्युरोक्रयाट्सले हो रहेछ,’ मन्त्री साहले भने ।

उनले स्वास्थ्य बीमालाई स्वास्थ्य मन्त्रालयको सहसचिवले हल्लाइदिएको भन्दै चर्का असन्तुष्टि व्यक्त गरे ।

स्वास्थ्य बीमा बोर्ड भित्र अध्यक्ष र कार्यकारी हावी भएको भन्दै सदस्यहरुलाई रबर स्ट्याम्पको रुपमा राखी भूमिका विहीन बनाईएको आरोप लगाए ।

बोल्ने क्रममा उनले बेलाबखतमा आफूसंग जोडिएर आएका कतिपय समाचारका विषयलाई इन्गित गर्दै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई समेत कटाक्ष गरेका थिए ।

स्वास्थ्य बीमा कार्यक्रमको कतिपय नीति, बोर्डका नेतृत्वका गतिविधि चित्त बुझ्दो नभएको भन्दै उनले यहि अवस्थाबाट सुधारको अपेक्षा गर्न नसकिने बताए ।

उनले बोर्डले १० वर्षे उपलव्धीका रुपमा प्रस्तुत गरेका कतिपय तथ्यांक तथ्यांकमा मात्रै ठिक देखिएको भन्दै बास्तविकता अर्कै रहेको भन्दै आत्मालोचना गर्न बोर्डका पदाधिकारी तथा कर्मचारीहरुलाई आग्रह गरे ।

एक प्रसंगमा उनले अहिलेको नीति बोर्ड दुब्लाउँदै जाने र सेवा प्रदायक संस्था मोटाउँदै जाने खालको भएको भन्दै त्यसलाई सुधार गर्नु पर्ने बताए ।

श्रम मन्त्री साह स्वास्थ्य बीमा दिवसको अवसरमा प्रमुख अतिथिको रुपमा आएर कडिकडाउ निर्देशन दिईरहँदा यता तालुक मन्त्रालयको नेतृत्व गरेकी स्वास्थ्य मन्त्री निशा मेहता भने सुनसरीका अस्पतालहरुमा निरीक्षण गर्दै थिईन ।

स्वास्थ्य समूहका सचिव डा विकास देवकोटा पनि अनुपस्थित थिए । कार्यक्रममा स्वास्थ्यकै जनसंख्या हेर्ने प्रशासन तर्फका सचिव डिल्लीराम शर्मा, प्रमुख विशेषज्ञ डा श्रीकृष्ण श्रेष्ठ र महानिर्देशक डा केशरबहादुर ढकाल विशिष्ट अतिथिको रुपमा थिए ।

अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई सफल गराउन गरिएका प्रयास र समस्याकाबारेमा बताएका थिए ।

बोर्डका कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेलले मन्त्री साह नआउँदै बोर्डको अवस्था, सुधारका लागि भएका प्रयास र भावि योजना समेत समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले पछिल्लो आठ वर्षमा स्वास्थ्य बीमा कार्यक्रममा सहभागीता दर १७८ गुणा बढेको बताए ।

‘सन् २०१६ मा ३२ हजार विमित थिए, सन् २०२४ मा आईपुग्दा सो संख्या बढेर ५६ लाख ८० हजार पुगेको उल्लेख गरे । यो त राम्रो उपलव्धी हो,’ डा. पौडेलले भनेका थिए । तर पछि आएका मन्त्री साहले ‘त्यो ५६ लाखमा ३० लाख त राज्यले अनिवार्य गरी दायित्व समेत राज्यले व्यहोर्नेहरुको संख्या हो नि,’ भन्दै प्रश्न गरेका थिए ।

आरोप प्रत्यारोप भन्दा मिलेर अघि बढ्ने कि ?

नयाँ सरकार गठन पछि स्वास्थ्यको पहिलो ठूलो औपचारिक कार्यक्रम थियो स्वास्थ्य बीमा दिवस । तर यहि दिवसमा प्रस्तुत भएका अतिथिहरुको पारा भने पुरानै देखियो ।

आरोप प्रत्यारोप ।

समाधानका उपाय न कसैले बतायो, न पत्यायो ।

श्रम मन्त्री साहले असफलताको सबै श्रेय स्वास्थ्य तिर पोखिदिए । कर्मचारी तन्त्रतर्फ थोपारिदिए ।  मन्त्रालयका सचिव शर्मा, बोर्डका अध्यक्ष थापा लगायतले आरोपको खण्डन गर्ने प्रयास गरेका थिए ।

जिम्मा लिनु पर्ने स्वास्थ्य मन्त्री, स्वास्थ्य समूहका सचिव भने उपस्थित नै भएनन् । यसैले यो विषय फेरी पनि वेवास्तामै पर्ने हो कि भन्ने चिन्ता बढेको छ ।

कार्यक्रम व्यवस्थापनमा चुकेको बोर्ड  : बोल्ने-बोलाउने पुरुष, महिला सुन्ने मात्रै ?

बुधबारको दशौँ स्वास्थ्य बीमा दिवस समारोहमा खड्किएको दृश्य थियो महिला सहभागिता । मञ्चमा बसेका सबै पुरुष मात्रै थिए । कार्यक्रम सञ्चालन गर्ने, अतिथिहरुलाई खादा लगाईदिने समेत पुरुष थिए ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय फोरमहरुमा महिला सहभागिताको विषयलाई बढी महत्वको साथ हेरिन्छ । बोर्डका अधिकारीहरुले त्यस विषयमा ख्याल गर्नु पर्ने हो तर त्यस्तो देखिएन ।

‘देख्नु भएन हामी महिलाको काम त सुन्ने ताली बजाउने मात्रै त हो, अतिथि बन्ने, बोल्ने त सबै पुरुष महोदय नै हुनुहुन्छ हेर्नुस् न,’ एक कर्मचारीले कटाक्ष गर्दै भनिन् ।

‘बोर्डका अधिकारीहरुले कार्यक्रमको समीक्षा गर्ने भएमा यो विषयलाई गम्भीरताका साथ लिनु पर्छ,’ उनले अन्तिममा भनिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “श्रम मन्त्रीको गरम कुरा : कसरी होला पुरा ?

Leave a Reply to CMBhandari Cancel reply

Your email address will not be published. Required fields are marked *