सुर्ती उद्योगीद्धारा गिफ्टेड ‘बिलासी गाडी’मा बालेनको सवारी !
काठमाडौँ महानगरले सुर्तीजन्य पदार्थ बिक्री बितरणमा रोक लगाउने निर्णय गर्दा रिट हाल्ने उद्योगी हुन् मालपानी

काठमाडौँ, ९ माघ । मौकामा चौका हान्न माहिर छन् नेपालका सुर्ती उद्योगीहरु । २०७२ सालको भूकम्पको बेला होस र कोभिड – १९ को बेला आफ्नो बर्चस्व कायम गर्न उनीहरु नेता, मन्त्री हुँदै प्रधानमन्त्रीसम्म पहुँच राख्न पुग्ने गरेका छन् ।
उद्योगीहरुको प्रभाव यति देखियो आर्थिक प्रलोभनमा छिटो फस्ने भनिएका पुराना राजनीतिक दल र तिनका नेताहरुले गैरकानूनी ढंगबाटै सहित आफ्नो पक्षमा पार्न सफल तिनै उद्योगीहरुले यसपक नयाँ भनिएका दल र आशा लाग्दा नेताहरुलाई समेत पुरानै ड्याङमा मिलाइ दिएका छन् ।
सन्दर्भमा हो, भावी प्रधानमन्त्रीका रुपमा घोषित बालेन्द्र शाह (बालेन) ले चडेको गाडी । झण्डै ८ करोड पर्ने कालो रङको ल्याण्ड रोभर डिफेन्डर गाडी उपलव्ध गराउने व्यक्तिको लगानी सुर्ती उद्योगमा पनि रहेको खुलासा भएको छ ।
कानून त सुर्ती उद्योगीहरुसंग त्यसरी गिफ्ट वा सहयोग लिन मिल्दैन । अझ त्यसमाथि पनि राजनीतिक दलका नेताहरु र अझ भावी प्रधानमन्त्रीका उम्मेदवार समेत बनेका बालेनले त अझ हुँदैन ।
यातायात व्यवस्था कार्यालयको रेकर्ड अनुसार उक्त गाडी रुपन्देहीको तिलोत्तमा १५ स्थित त्रिमुर्ती इन्डस्ट्रिज प्रालिको नाममा दर्ता छ । यो उद्योगले भने करेन्ट मसला उत्पादन गर्छ । यसका मुख्य लगानीकर्ता कमल किशोर मालपानी हुन् ।
मालपानीको अर्को उद्योग श्रीराम टोबाको प्रालि जनस्वास्थ्यमा गम्भीर असर पुरयाउने करेन्ट गुट्खा, भोला गुट्खा, पावर खैनी र जीत खैनी उत्पादन गर्छ ।
यो कम्पनीले सरकारले ल्याएको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी चेतावनीमलुक चित्र राख्ने व्यवस्थाको विरोधमा सर्बोच्चमा पटक पटक मुद्धा हाल्ने र मुद्धालाई कमजोर पार्ने नाममा समेत परिचित छ ।
अझ अनौठो कुरा त के छ भने जतिवेला बालेन काठमाडौँ महानगरपालिकाको कमाण्ड हाक्दै थिए र उनले महानगर भित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्ने निर्णय गरेका थिए । त्यसको कार्यान्वयन नगर्न भन्दै सबैभन्दा पहिले उच्च अदालत पाटनमा रिट दायर गर्ने श्रीराम टोबाको नै थियो । २०८० मंसिरको अन्तिम साता दायर रिटमा उच्च अदालत पाटनले पनि श्री राम टोबाकोको पक्षमा अन्तरिम आदेश जारी गरेर महानगरको विक्रि बितरणमा रोक लगाउने निर्णय कार्यान्वयनमा बाधक बनेको थियो । अहिले सोही उद्योगले उपलव्ध गराएको सवारीमा हिडदा बालेनमाथि थप प्रश्न र शंका उब्जिएको छ ।
त्यसो त गत वैशाखमा वाणिज्य विभागले कर छलीको आरोपमा श्रीराम टोबाको प्रालिको उद्योगमा छापा समेत मारेको थियो।
कर छलीको आरोप लागेका र सुर्तीजन्य पदार्थ जस्तो हानिकारक वस्तु बेच्ने उद्योगीबाट विलासी सुविधा लिनुले सुशासनको नारा दिने रास्वपा नेतामाथि नैतिक प्रश्न उठाएको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु बताउँछन्।
कानून उल्लंघन
नेपालको कानुनले सुर्तीजन्य पदार्थ उत्पादकबाट कुनै पनि प्रकारको सहयोग लिन र उनीहरूले विज्ञापन गर्न पूर्णतः रोक लगाएको छ। सुर्ती उद्योगीहरुले नीतिगत रुपमा प्रभाव बढाउन यस्तै चलाखी गर्दै कानुन विपरित काम गर्दै आइरहेका छन्।
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १० अनुसार उत्पादकले कुनै पनि व्यक्ति वा माध्यमबाट आफ्नो वस्तुको विज्ञापन वा प्रवर्धन गर्न पाउँदैन।
यस्तै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ६ मा भनिएको छ, ‘सार्वजनिक निकायका पदाधिकारीहरुलाई सुर्ती उद्योगबाट प्रदान गरिने कुनैपनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सुर्ती उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सुर्ती उद्योगको सहयोगमा वा सुर्ती उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैठक, भ्रमण, तालीम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रमहरुमा सहभागीता स्वीकार गर्नु हुदैन ।’
बालेन जस्ता चर्चित व्यक्तिले सुर्ती उद्योगीको गाडी चढ्नुलाई अप्रत्यक्ष ‘प्रायोजन’ मानिन्छ, स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने, ‘जुन गैरकानुनी हो।’
सीएसआरमा समेत प्रतिबन्ध
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ र नियमावलीको नियम २२ ले प्रष्ट पारेको छ कि सुर्ती उद्योगले सामाजिक उत्तरदायित्वका नाममा समेत कसैलाई आर्थिक वा भौतिक सहयोग दिन पाउँदैनन्।
‘कसैले पनि उत्पादक लगायतले प्रदान गर्ने आर्थिक, भौतिक र संरचनागत सहयोग ग्रहण गर्न पाउनेछैन र उत्पादक लगायतले पनि यस्तो सहयोग गर्न पाउने छैन’ नियमावलीको नियम २२ को उपनियम १ र २ मा भनिएको छ, ‘सरकारी वा गैह्रसरकारी वा निजी क्षेत्रबाट संचालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन, सत्संग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राबिधिक, भौतिक, संरचनागत तथा अन्य कुनै पनि प्रकारको सहयोग उत्पादक लगायतले प्रदान गर्न पाउने छैन।’
मालपानीले आफूहरूले नै बालेनलाई गाडी दिएको स्वीकार गरेका छन्।
के कारणले ल्याइएको हो यस्तो कानून ?
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा हरेक वर्ष सुर्तीजन्य पदार्थको सेवनबाट ३९ हजार २०० बढीको ज्यान जाने गरेको छ । जो नेपालमा हुने कुल मृत्युको एक चौथाईँ हो ।
सन् २०१९ मा स्वास्थ्य मन्त्रालयले गरेको सर्वेक्षण अनुसार हाल नेपालमा कुल जनसंख्याको झण्डै २९ प्रतिशत मानिस धूम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्दछन् ।
त्यस्तै एक्सन नेपालले हालसालै गरेको सूर्तिजन्य पदार्थको सेवनबाट हुने क्यान्सर रोगको निदान तथा उपचार सेवामा आउने बिरामीको आर्थिक भार सम्बन्धी अध्ययनले १६ प्रतिशत बिरामीले उपचारका लागि आफ्नो घरखेत बेच्ने गरेको देखाएको छ ।
यी रोगहरुबाट बचाउन सूर्तिजन्य पदार्थको सेवन न्युनिकरण, नियन्त्रण तथा नियमन गरी सर्वसाधारण जनताको स्वास्थ्य र आर्थिक हितको अभिवृद्धि गर्न सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८, नियमावली २०६८ तथा निर्देशिका २०७१ ल्याएको हो ।
मुख्य उदेश्य अब यसको प्रर्वद्धन नगरियोस, यसको प्रयोगलाई बढावा नदिईयोस् भन्ने नै हो । सार्वजनिक मञ्चमा लोगो प्रयोग हुँदा, सार्वजनिक व्यक्तित्वहरुले सहभागिता जनाउँदा यसको झन् प्रचार हुन्छ भनेर यस्तो कानून ल्याइएको हो ।
- कानून विपरित सूर्ति उद्योगीसंग ‘डोनेसन’ बुझ्दै प्रदेशका मुख्यमन्त्रीहरु
- कानुन कुल्चेर फेरी पनि कार्यक्रमको प्रायोजन गर्दै चुरोट कम्पनी सूर्य नेपाल, स्थानीय प्रशासनले के गर्ला ?
- चुरोट उत्पादक कम्पनीको मुख्य प्रायोजनमा हुन लागेको साहित्यिक कार्यक्रमको सामाजिक संघसंस्थाद्धारा बिरोध, सरकार अहिलेसम्म मौन
- कानूनको धज्जी उडाउदै नेपाल लिटरेचर फेस्टिबल आयोजक, फेरी पनि सुर्ती उद्योगको प्रायोजनमा कार्यक्रम गर्दै
- पालिकाहरुमा सुर्ती उद्योगको दवदवा : शिक्षकको तलव देखि एम्बुलेन्स उपहारसम्म
सम्पर्क इमेल : [email protected]







