पालिकाहरुमा सुर्ती उद्योगको दवदवा : शिक्षकको तलव देखि एम्बुलेन्स उपहारसम्म


काठमाडौँ ८ असार । कानूनत सुर्ती उद्योगलाई राज्यले तोकेको कर तिर्नु बाहेक अन्य सर्वसाधारणसंग जोडिएर बस्तुको वितरण तथा प्रायोजन गर्न छुट छैन् । तर, मुलुककै सबैभन्दा ठूलो भनिएको सुर्ती उद्योग सूर्य नेपालले राज्यले बनाएको कानूनको ठाडो उल्लंघन गर्दै बस्तु बितरण तथा प्रायोजन गर्दै आएको छ । र त्यस्तो प्रभावमा स्वयं सरकारी अड्डाहरु पर्दै आएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिकालाई गतवर्ष कोभिड बढि रहेका बेला सूर्य नेपालले एम्बुलेन्स किनेर उपहार दियो । त्यति मात्रै होइन सो नगरपालिकामा पढाउनका लागि निजी स्रोतबाट नियुक्त भएका कतिपय शिक्षकको तलव समेत सूर्य नेपालले प्रायोजन गर्दै आएको छ ।
सामाजिक उत्तरदायित्वकै नाममा सो पालिकाका कतिपय किसानलाई कृषि तथा पशुपक्षी सम्वन्धी तालिम, प्लम्बिङ तालिम पनि दिदै आएको छ ।
नगरपालिका प्रमुख कृष्णराज पण्डित भन्छन्, ‘मेरै नगरमा सूर्य नेपालले हामीलाई एम्बुलेन्स दियो, शिक्षकहरुलाई भर्ना गरिदिने तलव उपलव्ध गराउने, कृषि तथा पशुपक्षी सम्वन्धी तालिम दिने काम गर्दै आएको छ । यो त राम्रो कुरा पो हो त, होईन र ?’

उनले त्यसो भनिरहँदा सरकारले बनाएको सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) निर्देशिका २०७१ को दफा २२ को उपदफा ७ मा रहेको संस्थागत उत्तरदायित्व बहन गर्ने नाममा सुर्ती उद्योगीहरुले प्रदान गर्ने कुनै पनि किसिमका शैक्षिक उत्थान तथा आपतकालिन सेवामा सहयोग र सहकार्य स्वीकार गर्न हुँदैन भन्ने व्यवस्थाले जिस्क्याई रहेको थियो ।

नगरप्रमुख पण्डितलाई सुर्ती नियन्त्रण सम्वन्धी कानूनले यसरी तलव र एम्बुलेन्स लिन त मिल्दैन नि भनेर सम्झाउँदा भने तत्कालिक आवश्यकता हो भन्दै थप बहस गर्न चाहेनन् । तर उनले आफू आउनु भन्दा पहिले नै नगरपालिकाले सहयोग लिएको बताए । ‘म त भर्खर न आएको हुँ । यो त अघिल्ला बर्ष देखिको कुरा हो,’ उनले थप स्पष्ट पार्न खोजे ।

त्यसक्रममा उनले तनहुँमा सूर्य नेपाल स्थापना हुँदा ६ – ७ सय व्यक्तिले रोजगारी पाएको र राज्यलाई ६ अर्व कर तिरेको भन्दै खुशी व्यक्त गरे । तर उनले सो उद्योगबाट निस्कने उत्पादनले बार्षिक २७ हजार बढीको ज्यान लिने र ४० अर्व बढी उपचारमा खर्च हुने भन्ने कुरामा भने थाहा पाएनन् ।

‘चुरोट खानु हुँदैन, मैले कैले पनि खाएको छैन् । त्यसका लागि बृहत जनचेतनाको खाँचो छ,’ उनले अन्तिममा यो पनि भने कि, ‘यदि हामीले गरेका कामहरु कानून विपरित हुन भने त्यसलाई सच्याउन पनि जरुरी हुन्छ ।’

यता तनहुँकै म्याग्दे गाँउपालिकाले पनि सूर्य नेपालबाट गतवर्ष एउटा एम्बुलेन्स उपहार पाएको छ । त्यसबाहेक उसले गाँउपालिकाले कोभिड संक्रमणका बेला खोलेको कोभिड रातह कोषमा २० लाख रुपैयाँ नगद समेत जम्मा गरिदिएको छ ।

सुर्ती नियन्त्रण सम्वन्धी कानूनले यसरी सुर्ती उद्योगको प्रायोजनमा एम्बुलेन्स लिने र नगद लिने काम कानून विपरित हो भनेको छ । तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले महामारीका बेला सूर्य नेपालबाट एम्बुलेन्स र नगद स्वीकार गरेको बताए ।

‘पहिले गाउँपालिकाले किनेको एउटा मात्रै एम्बुलेन्स थियो । कोभिडको बेलामा सूर्य नेपालले आएर सहयोग गर्ने इच्छा देखायो हामीले त्यसलाई स्वीकार गरयौँ,’ उनले भने ।

सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी फोकल पर्सन समेत रहेका प्रमुख कार्यकारी अधिकारीले सधै कानूनकै मात्रै कुरा गरेर नहुँने भन्दै आपत परेको बेलामा सहयोग गर्ने आउनेको प्रस्ताव स्वीकार गरेको बताए ।

उनले सुर्ती नियन्त्रण सम्वन्धी बनेको आफूलाई थाहा भएको र अब जनतासंग अध्यक्ष कार्यक्रम गरिरहँदा यो विषय उठाउने विश्वास व्यक्त गरे ।

सुर्ती उद्योगको प्रभाव :
भूकम्प होस या कोरोना महामारीको बेला नेपालको प्रमुख सुर्ती उद्योग सूर्य नेपालले राज्यका विभिन्न निकायलाई प्रभावमा पार्ने र आफ्नो बजार विस्तार गर्ने गर्दै आएको छ । एम्बुलेन्स, शिक्षकको तलव, अन्य शीपमुलक तालिम जस्ता सुन्दा राम्रो जस्तो देखिने कार्यमा थोरै रकम प्रायोजन गरी आफ्नो व्यापारलाई आफूखुशी ढंगले अघि बढाउने चाल चालेको छ ।

कानूनले सुर्ती उद्योगबाट कुनै पनि किसिमका उपहार तथा प्रायोजन लिन पाईने छैन भनिएपनि स्थानीय निकायहरु त्यसमा बेखबर जस्तै देखिन्छ । यसको प्रत्यक्ष फाईदा सुर्ती उद्योगहरुले लिईरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *