सुर्तीजन्य पदार्थको प्याकेटमा सतप्रतिशत चित्र छाप्ने निर्देशिका कार्यान्वयन सम्वन्धी मुद्धाले पायो अग्राधिकार

96
Shares

काठमाडौँ, १४ पुस । सर्बोच्च अदालतले सुर्तीजन्य पदार्थको बट्टा पेटी तथा पार्सलको प्याकेजिङ गर्दा सत प्रतिशत भागमा चेतावनीमुलक सन्देश र चित्र छाप्नु पर्ने व्यवस्था सम्वन्धी मुद्धालाई अग्राधिकार दिन आदेश गरेको छ ।

उपभोक्ता हित संरक्षण मञ्चको तर्फबाट सचिव जयप्रसाद पौडेलले गत ११ पुसमा दायर रिटको आज प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलास विपक्षीको नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ ।

मञ्चका अध्यक्ष ज्योति बानियाले बार्षिक ३९ हजार २०० बढीको ज्यान जाने मुख्य कारक तत्व सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्न सरकारले बनाएको ऐन, निर्देशिका तथा नियमावली जस्ता कानूनी दस्तावेजहरुको कार्यान्वयनमा सुर्ती उद्योगहरुले अदालती प्रक्रियामा जाने र कार्यान्वयनमा बाधा पुरयाउने काम गरेकोले यसलाई छिटो टुंगोमा पुरयाउन यस मुद्धालाई अग्राधिकार राखी टुंङ्ग्याउन माग गरेको र सो माग अनुसारको आज आदेश आएको बताए ।

उनले डब्लुएचओ एफसीटीसीमा २० वर्ष अघि नै हस्ताक्षर गरेको नेपालले त्यसका व्यवस्थाहरुको पनि पालना गर्नु पर्ने भन्दै संघीय संरचनामा गईसकेपछि अब सुर्ती नियन्त्रण सम्वन्धी कानूनहरु संघले जस्तै प्रदेश र स्थानीय तहहरुले अनिवार्य बनाउनु पर्ने माग समेत रहेको बताए ।

उनले सत् प्रतिशत चित्र सबैखाले सुर्तीजन्य पदार्थमा राखिनुपर्ने समेत आफूहरुको रिटमा उल्लेख गरिएको बताए ।

त्यसो त  यसअघि सुर्ती उद्योगको मुद्धामा अल्पकालिन अन्तरिम आदेश नआएको भए सुर्तीजन्य पदार्थको बट्टा पेटी तथा पार्सलको प्याकेजिङ गर्दा सत प्रतिशत भागमा चेतावनीमुलक सन्देश र चित्र छाप्नु पर्ने व्यवस्था १ भदौ देखि नै कार्यान्वयनमा आईसक्थ्यो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २१ माघमा जारी गरेको ‘सुर्तीजन्य पदार्थको बट्टा र्‍यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अंकित गनेृ निर्देशिका – २०८१’ मा कार्यान्वयनको मिति १ भदौ २०८२ राखिएको थियो ।

तर, त्यसविरुद्ध १८ असारमा सुर्ती उद्योग स्वास्थ्य मन्त्रालयबाट जारी गरेको निर्देशिका कार्यान्वयन नगरियोस भन्दै सर्बोच्च पुग्यो । सर्बोच्चले पनि २० असारमै प्रारम्भिक सुनुवाई गर्दै निर्देशिका कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गर्‍यो ।

आदेशसंगै १ भदौबाट कार्यान्वयन हुनु पर्ने निर्देशिका रोकियो । २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा सर्बोच्च अदालत जलेपछि यो मुद्धा झनै पेण्डिङमा बस्यो । यता मुद्धा पेण्डिङमा बसिरहँदा उद्योगीहरुले निर्वाध रुपमा पुरानै व्यवस्था अनुसार सुर्तीजन्य पदार्थ बिक्री बितरण गरिरहेका छन् ।

बार्षिक रुपमा ३९ हजार २०० जनाको ज्यान जाने, यसको सेवनले लाग्ने रोगको उपचारका लागि बार्षिक रुपमा ४३ अर्ब बढी खर्च हुने सुर्तीजन्य पदार्थ पदार्थको प्रयोग नियन्त्रण गर्न चालेको बिरुद्ध सरकारी संयन्त्र नै बाधक जस्तो देखिए पछि उपभोक्ता हित संरक्षण मञ्चले निर्देशिका कार्यान्वयन लगायतको माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेको थियो ।

रिटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहित १५ वटा निकायलाई विपक्षी बनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *