लिखित दिएको चार वर्ष पछि डा. भुवन पौडेल प्रमुख जनस्वास्थ्य प्रशासक पदमा बढुवा

1.2k
Shares

काठमाडौँ, २४ कात्तिक । लोक सेवा आयोगले स्वास्थ्यमा रिक्त रहेको निर्देशक, प्रमुख जनस्वास्थ्य प्रशासक (१ पद) एघारौँ तहमा विज्ञापन खोलिएको विज्ञापनको लिखित परीक्षा २०७८ साउन १५ र भदौ १ तोकिएको थियो ।

सोही अनुसार डा भुवन पौडेल पनि एक परीक्षार्थी बनेर परीक्षामा सहभागी भए । तर, उनले दिएको लिखितको नतिजा आउन ४ वर्ष २ महिना लाग्यो । गत २ कात्तिकमा नतिजा आयो र उनको नाम निस्कियो । त्यसबेला नै अन्तर्वार्ताका लागि मिति तोकिएको थियो । सोही अनुसार आज भएको अन्तर्वार्तामा उनी एघारौँ तहमा बढुवा भए ।

लोक सेवा आयोगले आज अवेर प्रकाशित गरेको नतिजामा डा. भुवन पौडेल प्रमुख जनस्वास्थ्य प्रशासक (एघारौँ तह)मा बढुवाका लागि सिफारिस गरिएको उल्लेख छ ।

‘ढिला त भयो तर नतिजा राम्रो आयो,’ छोटो प्रतिक्रिया दिदै डा. पौडेलले भने ।

यसरी किन लम्बिएको थियो नतिजा ? डा. पौडेलले अतित कोट्याए ।

‘पहिले मैले फारम भरे पनि परीक्षामा सहभागी हुन नपाउने गरी बन्देज लगाएको थियो । मैले त्यसविरुद्ध अदालतमा रिट दायर गरेँ । अदालतले मेरो पक्षमा अन्तरिम आदेश जारी गरयो । मैले सोही अन्तरिम आदेशबाट लिखित परीक्षामा सहभागी भएँ । तर त्यसको नतिजा आउनका लागि त फैसला कुर्नु पर्दथ्यो । गत २३ असारमा हाम्रै पक्षमा फैसला आएपछि गत २ कात्तिकमा लिखितको नतिजा आएको हो । त्यसपछि आज अन्तर्वार्ता थियो । यसमा पनि म सिफारिसमा परेछु,’ उनले भने ।

हाल बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा कार्यरत डा पौडेल अब भने संघीय कर्मचारीको रुपमा जिम्मेवारी सम्हाल्ने छन् । स्वास्थ्य मन्त्रालयमा एउटा, विभागमा दुईवटा ठाउँ, केन्द्र अन्तर्गत अरु दुईवटा ठाउँमा यो समूहको दरबन्दी रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *