स्वास्थ्य मन्त्री डा. शर्मा र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाडौँ, १८ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।
शिष्टाचार भेटवार्तामा दुई देशबीचको स्वास्थ्य क्षेत्रको द्विपक्षीय साझेदारीलाई अझ दीगो र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटवार्तामा परम्परागत चिनियाँ औषधि र आयुर्वेद स्वास्थ्य सेवाबीचको सहकार्य, नेपालमा औषधीय जडीबुटीको उत्पादन तथा प्रशोधन, आपतकालीन स्वास्थ्य सेवा सुदृढीकरण, र नेपालमै अत्याधुनिक जीन प्रयोगशाला स्थापना गर्ने विषयमा समेत छलफल भएको छ।
राजदूत सोङले चीन सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिने बताए ।
त्यस्तै, भेटका क्रममा मन्त्री शर्माले क्यान्सर उपचार, अस्पताल सेवा सुदृढीकरण साथै कोभिड–१९ महामारीका समयमा चीन सरकारले नेपाललाई प्रदान गरेको सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरिन।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




