जेनजी आन्दोलनका घाइतेहरुको ट्रमा सेन्टरमा रातभर भयो सर्जरी

108
Shares

काठमाडौँ, २४ भदौ । जेन जी आन्दोलनमा प्रहरीको गोली लागी घाईते भएकाहरुको राष्ट्रिय ट्रमा सेन्टरमा रातभर शल्यक्रिया भएको छ ।

ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरीडेन्टेन्ट डा. बद्री रिजालका अनुसार टाउको, गर्धन, छाती, पेटमा गोली ८ जनाको मेजर सर्जरी गरिएको छ । यस्तै हात खुट्टा तथा शरीरका अन्य भागमा गोली लागेका १३ जना बढीको पनि माइनर सर्जरी भएको छ ।

‘ट्रमामा रातभर सर्जरी भएको छ । रातभरीमा ८ बढीको मेजर सर्जरी भएको छ, अरु १३ जनाको पनि उत्तिकै जोखिमपूर्ण सर्जरी भएको छ,’ प्रमेसु डा रिजालले भने ।

उनले अब राती सर्जरी गरिएकाहरुको केही वेरमा राउण्ड गरेपछि उनीहरुको अवस्थाबारेमा जानकारी दिन सकिने बताए । ‘अहिले नै भन्न हतार हुन्छ । मेजर शल्यक्रिया भएको छ । केही बेरमा हामीले बिरामीको अवस्थाबारेमा औपचारिक जानकारी दिने छौँ,’ उनले भने ।

बानेश्वरमा भएको गोलीकाण्ड पछि सिभिल र एभरेष्ट अस्पतालमा घाइते भरिभराउ भएपछि थप उपचारका लागि ट्रमामा ल्याइएको हो । त्यहाँ ल्याइएका मध्ये ८ जनाको मृत्यु भएको थियो ।

‘हिजो नै ८ जनाको मृत्यु भएको हो । थप मृत्यु भएको छैन,’ डा. रिजालले भने ।

वीर अस्पतालमा थप आईसीयू तयारी अवस्थामा
यसैबीच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा गम्भीर घाइतेका लागि नौ वटा आईसीयू बेड तयारी अवस्थामा राखिएको छ । न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले उपचारमा कुनै पनि अभाव नहोस भन्नका लागि आईसीयू बेड तथा वार्डहरु तयारी अवस्थामा राखिएको बताए ।

‘अहिले ९ बेड आईसीयू तयारी अवस्थामा छ । ट्रमामा केही घाइतेहरुलाई यता वीरको सर्जिकल भवनमा सिफ्ट गर्ने गरी हिजो देखि नै एउटा वार्ड खाली अवस्थामा राखिएको छ । आवश्यक परेमा थप वेडहरुको पनि व्यवस्थापन गरिनेछ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *