भत्काईयो छाउ गोठ, हटेन ‘छाउपडी प्रथा’

काठमाडौँ, २२ भदौ । माओवादीद्धन्द बेला जिल्ला सदरमुकाम मंगलसेन आक्रमणको ठूलो लडाईँ हुँदा होस् या तत्कालीन गृहमन्त्री एव नेकपा एमालेका नेता भीम रावलको गृह जिल्ला भएका कारण होस् सुदूरपश्चिमको जिल्ला अछाम जहिल्यै चर्चामा छ ।
चर्चा मात्रै होईन, समय क्रमसंगै अछाम धेरै परिवर्तन पनि भएको छ । अछामेली नागरिकहरुको दैनिक जीवन र आनिवानी समेत फेरिएको छ । तर त्यहाँ एउटै कुरा फेरिएको छैन, त्यो हो छाउपडी प्रथा ।
शुक्रबार राजधानीमा वियोङ बेइजिङ कमिटी (बीबीसी) र मिन्सुरियल हेल्थ एण्ड हाइजिन म्यानजमेन्ट पार्टनर्स एलायन्स (एमएसएमपीए) नेपालको संयुक्त आयोजनामा भएको छाउपडी प्रथाको अन्त्य र सुरक्षित र मर्यादित महिनावारीको सुनिश्चितता विषयक पत्रकार अन्तर्क्रिया कार्यक्रममा छाउपडी प्रथाविरुद्ध जेहाद छेडेका दुई अभियन्ताहरुले बस्तुस्थिति तथा भोगाई बताएका थिए ।
कार्यक्रममा छाउ गोठ भत्काउने अभियानमा अढाई दशक देखि क्रियाशील अभियन्ता पशुपति कुँवर र पत्रकार समेत रहेकी अभियन्ता मेनुका ढुंगानाले अछाममा जकडिएको छाउपडी प्रथाबारेमा जानकारी दिएका थिए ।
‘महिनावारी भएपछि घर देखि पर असुरक्षित टहरोमा गएर बस्नु पर्ने, सो क्रममा विभिन्न दुर्घटनामा परेर ज्यान जाने गरेको छ । अहिलेसम्म अछाममा मात्रै छाउगोठमा रहँदा २० जनाको किशोरी तथा महिलाले ज्यान गुमाइसकेका छन्,’अभियन्ता कुँवरले भनिन् । उनले अन्य जिल्लामा जस्तै अछाममा पनि धेरै चाल चलन परिवर्तन आएपनि छाउपडी प्रथा अपेक्षाकृत सुधार हुन नसकेको बताईन् ।
‘भ्यालेन्टाइन डे मनाउने चलन भित्रियो, बर्थ डे केक काट्ने चलन भित्रियो, तीजमा दरखान हिड्ने आधुनिक नाचगान गर्दै हिड्ने चलन पनि भित्रियो तर उहिल्यै देखि जरा गाडेर बसेको कुरुती छाउपडी प्रथा अझै हटेन । शिक्षित अशिक्षित, धनी गरीब, जात भात, शिक्षक, कर्मचारी, राजनीतिक व्यक्तित्व आदी सबै पक्ष यो कुरुतीबाट बाहिर निस्कन सकिरहेका छैनन्,’ कुँवरले अगाडी थपिन् ।
कार्यक्रममा अर्की अभियन्ता एवं पत्रकार मेनुका ढुंगानाले समाचारका माध्यमबाट छाउपडी प्रथाको विषय उजागर गर्दा भोगेका दुख, छाउ गोडबाट आफूले गरेको विद्रोहबारेमा बताएकी थिईन् । उनले देशमा शासकीय परिवर्तन भए पनि अछाममा छाउपडी प्रथा हट्न नसकेको भन्दै दुखेसो गरिन् ।
कार्यक्रममा एमएसएमपीएका राष्ट्रिय संयोजक गुणराज श्रेष्ठले छाउगोठ विरुद्धको अभियानमा संस्थाले खेलेका भूमिका र संस्थाको धारणाबारेमा बताएका थिए । यस्तै बीबीसीका सचिव सीता पौडेलले २१ औँ शताब्दीमा पनि छाउपडी प्रथा उन्मुलन हुन नसकेको भन्दै दुख व्यक्त गरिन् । उनले अभियानलाई थप नयाँ ढंगले अघि बढाउनु पर्ने बताईन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



