स्वास्थ्य सेवा विभागमा रहेको नसर्ने रोग र मानसिक स्वास्थ्य शाखा छुट्टिने
काठमाडौँ, २६ बैशाख । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) अन्तरगर्त रहेको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा अब छुट्टिने भएको छ ।
इडीसीडीले ठूलो समस्याको रुपमा देखिन थालेको नसर्ने रोग र मानसिक स्वास्थ्यका विषय अब एउटै शाखाले थेग्न नसक्ने भन्दै दुई शाखामा छुट्याउन लागेको हो ।
इडीसीडीका निर्देशक डा चन्द्रभाल झाले अबको केही दिनमा यी दुई शाखालाई छुट्याउने बताए । ‘एनसीडी र मेन्टल हेल्थ अहिलेको प्रमुख समस्याको रुपमा देखा परिरहेको छ । हामीले अहिलेसम्म जनशक्ति अभावले एउटै शाखा मार्फत काम गरिरहेका थियौँ । तर अब एनसीडी र मेन्टल हेल्थका छुट्टा छुट्टै शाखा हुनेछन् । यसले काम गर्न सजिलो पनि हुन्छ,’ डा झाले भने ।
अहिलेसम्म ईडीसीडी अन्तर्गत नसर्ने रोग र मानसिक स्वास्थ्य शाखा समेत गरी कुल छ वटा शाखा छन् ।
त्यसमा इडीसीडी अन्तर्गत अहिले नसर्ने रोग र मानसिक स्वास्थ्य शाखा सहित नेग्लेक्टेड ट्रपिकल डीजीज(एनटीडी) र भेक्टर वर्न डिजिज शाखा, जुनोटिक र अन्य सरुवा रोग नियन्त्रण शाखा, इपीडीमियोलोजी र प्रकोप व्यवस्थापन शाखा र कुष्ठरोग नियन्त्रण तथा अपांङ्गता व्यवस्थापन शाखा रहेका छन् ।
सम्पर्क इमेल : [email protected]