गर्भवती महिला र सुत्केरीका लागि दिईने आईरन चक्की देशभर अभाव

काठमाडौँ, १० बैशाख । गर्भवती महिला र सुत्केरीका लागि नि:शुल्क वितरण हुँदै आएको आईरन चक्की अहिले देशभर अभाव भएको छ । संघ, प्रदेश र स्थानीय सरकारबीच खरीदको अलमलले पछिल्लो दुई महिना देखि आईरन चक्की अभाव भएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंकप्रसाद बाराकोटी आईरन चक्की अभाव भएको आफूले थाहा पाएको र त्यसको तत्काल व्यवस्थापन गर्न परिवार कल्याण महाशाखालाई निर्देशन दिएको बताउँछन् ।

उनी भन्छन्, ‘पहिले संघले खरीद गरेर वितरण हुन्थ्यो । बीचमा प्रदेश तथा स्थानीय तहले यसको जिम्मेवारी लिए । अहिले प्रदेश तथा स्थानीय तहबाट खरीद हुन नसकेको भन्ने कुरा आयो । संघले पनि पछिल्लो समय यो खरीद गरेको रहेनछ । मैले परिवार कल्याण महाशाखालाई निर्देशन दिईसकेको छु । छिटै यो अभाव हटाउनु पर्छ ।’

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा. बसन्त अधिकारीले काठमाडौँ सहित देशभर नै आईरन चक्की अभाव भएको बताए । उनले तीन तहका सरकारबीच भएको असमझदारीले यो अवस्थाको सिर्जना भएको दावी गरे । ‘पहिले संघबाट हुने यसको खरीद व्यवस्थापन बीचमा प्रदेश तथा स्थानीय तहले गर्ने भनिएछ । अहिले पछि पुनः संघले नै खरीद गरेर पठाईने भनिएको रहेछ । तर संघले दुई वर्ष यता खरीद गरेको छैन् । दुई वर्ष अघि गरिएको खरीदको मौज्दात अब सकियो । त्यसैले देशव्यापी रुपमा अभाव हुन थाल्यो,’ उनले भने ।

काठमाडौँ दक्षिणकाली नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी विष्णु लामिछानेले पछिल्लो दुई महिना यता आईरन चक्की अभाव भएको बताए । ‘हामी स्वास्थ्यका ठूला कुरा गर्दछौँ तर देशमा आइरन चक्की अभाव छ । अभाव हटाउने तर्फ कसैको ध्यान गएको छैन,’ उनले भने ।

लामिछानेले बालबालिकालाई खुवाईने भिटामिन ए समेत पर्याप्त नभएको जिकिर गरे । ‘आईरन चक्कीको मात्रै के कुरा गर्ने काठमाडौँकै विभिन्न पालिकामा भिटामिन ए पनि पर्याप्त छैन । स्वास्थ्यको नेतृत्व टोलीले ठूला घोषणामा रमाउनु भन्दा पूर्व घोषित योजनालाई कार्यान्वयनमा लैजानुमा जोड दिनु पर्छ । पाइरहेको आईरन चक्की र भिटामिन ए नै नभएको अवस्थामा ठूला घोषणाको के अर्थ ?,’ मन्त्रालय नेतृत्वलाई कटाक्ष गर्दै उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *