लाइसेन्स परीक्षामा कमजोर नतिजा पछि प्रमुख सरोकारवाला पक्षसंग छलफल गर्ने तयारीमा फार्मेसी परिषद्

काठमाडौँ, २४ मंसिर । गत शनिबार लिइएको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा १० प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । सो नतिजालाई लिएर मिश्रित प्रतिक्रिया आएको थियो । कतिपयले परिषद्ले परीक्षा कडाईको नाममा गाह्रो प्रश्न सोधेर परीक्षार्थीहरु बढी फेल भएको बताएका थिए, कतिपयले कलेजहरुको पढाईको गुणस्तर खस्किएर यस्तो नतिजा आएको टिप्पणी गरेका थिए ।
परिषद्ले भने नतिजापछि प्रमुख सरोकारवाला पक्षसंग छलफल गर्ने तयारीमा रहेको छ ।
परिषद्का अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, चिकित्सा शिक्षा आयोग, प्राविधि शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सीटीईभीटी) समेतलाई डाकेट छलफल गर्ने तयारीमा रहेको बताए ।’साधारण प्रश्न सोधिने हो, सेलेवर्स भित्रबाटै सोधिन्छ । तर कमजोर विद्यार्थीलाई त सामान्य प्रश्न पनि गाह्रो हुने भयो । यो नतिजाले सरोकारवाला पक्षहरुले गम्भीर समिक्षा गरेर अघि बढ्नुपर्ने संकेत गरेको छ,’ उनले भने ।

अध्यक्षले पाण्डेले फार्मेसी पढाउने कलेजहरुमा चाहिने जति फ्याकल्टी नभएको, नियमित कलेज जानु पर्ने विद्यार्थीहरु कलेज नै नगएको जस्ता समस्याहरु बढी रहेको बताए । फेल हुने धेरै विद्यार्थीहरु छिमेकी मुलुकबाट पढेर आएकाहरु भएको समेत दावी गरे ।
उनले नतिजामा चित्त नबुझेकाहरुले पुर्नयोग तथा उत्तरपुस्तिका हेर्न समेत सकिने व्यवस्था भएको बताए । अहिलेसम्म तीन जनाले मात्रै सोका लागि निवेदन हालेको जानकारी दिए ।
‘सीटीईभीटीले सम्वन्धन दिन्छ, आयोगले सिट निर्धारण गरिदिन्छ । त्यसको आवश्यक मापदण्ड पुरा भएको छ कि छैन त्यसविषयमा रिथिंक गर्नुपर्ने देखिएको छ । किनभने परिषद्ले गर्ने अनुगमनमा धेरै शिक्षण संस्थाहरुमा आवश्यक मापदण्ड अपुग भएको देखिएको थियो । त्यसैले हामीले प्रमुख सरोकारवाला निकायसंग छलफल गर्न खोजेका हौँ,’ पाण्डेले भने ।
परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेका अनुसार गत शनिबारको परीक्षामा १ हजार २९९ जनाले फारम भरे पनि परीक्षाका बेला १ हजार २६४ जना मात्रै सहभागी थिए । ती मध्ये १२९ जना (१०.२० प्रतिशत) मात्रै उत्तीर्ण भएका हुन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



