आफ्नो ‘बहादुर’ हटाउन बहादुरी प्रस्तुत गरिरहेकी रुविना

8
Shares
रुविना तामाङ

काठमाडौँ, २६ कात्तिक ।  सिन्धुपाल्चोककी रुविना तामाङ (उनी आफूले राखेको नाम) २९ वर्षकी भईन् । जन्मदा छोरा मान्छेको अङ्गमा देखिए पनि उनले आफू भित्र पुरुष भएको महसुस् कहिल्यै गरिनन् ।

१० – १२ वर्ष पछि जव किशोरावस्था सुरु हुन थाल्यो, उनी केटासंग घुलमिल हुँनै छाडिन् । केटीहरु देख्दा भने उनलाई खास मेरा हितैसी त यी हुन् जस्तो लाग्ने गर्दथ्यो । घरमा आमा हजुर आमा लगायतले छोरा भनेर उनलाई बोलाउँथे तर उनलाई त्यो सुनेर रिस उठ्थ्यो, झर्को लाग्दथ्यो ।

‘शरीरका अङ्ग त फेरी पनि छोराकै थियो तर छोरा मान्छेको फिल किन आएन ?’ उनी आफूलाई छोरा भनेर बोलाउँदा कहिले काँही आफैसंग प्रश्न गर्दथिन । तर, उत्तर पाउँदिनथिईन् ।

एकदिन उनलाई फेरी यस्तै भयो। अनि एकान्तमा गएर भनिन्,  ‘म छोरा त होइन……….., अनि के हो त ?’ आफै माथि प्रश्न गर्दथिन उनले, ‘म फरक प्रकृतिको मान्छे हुँ,’…….

अनि के हो त फरक प्रकृति भनेको ? ‘त्यो त थाहा छैन,’ आफैले आफैलाई प्रश्नोउत्तरमा भिडाउँदै गईन उनी ।

‘करीव १५-१६ वर्षको उमेर हुनुपर्छ मैले आफूलाई फरक प्रकृतिको व्यक्ति हुँ भनेर स्पष्ट भएको । तर के हुँ भन्ने अझै थाहा थिएन,’ नेपाली हेल्थसंग आफ्नो विगत सुनाउने क्रममा तामाङले भनिन् ।
……………………………………………………………

म सिन्धुपाल्चोकको निवु गाउँमा पर्ने मेरो मामा घरमा जन्मेको । म गर्भमै छँदा बुबाले दोस्रो विहे गर्नु भएछ । त्यसपछि मेरी आमा भोटेचौर आफ्नो घर छाडेर माइत आउनु भयो र त्यहि मलाई जन्माउनु भयो ।

म त्यहि हुर्के, बढें र विद्यालय तहको शिक्षा त्यहिबाट पुरा गरें । जब कान्छी आमाहरुबाट समेत छोरी जन्मिए माइतीमा बसेको मेरी आमासंग बुबाको सम्वन्ध ठिकै थियो । जे भए पनि मेरी आमाले मलाई छोराको रुपमा जन्माउनु भएको थियो त्यसैले ।

कान्छी लिएर छुट्टै घरजम गरेको व्यक्तिमा शंका हुनु स्वभाविक नै थियो त्यसैले मैले एकदिन बुबालाई फकाएर १६ वर्ष नपुग्दै उमेर बढाएर नागरिकता बनाउने निधो गरें । सोही अनुसार नागरिकता बन्यो पनि । तर नागरिकताको नामको बीचमा बहादुर थपियो । त्यसबेला खास ख्याल पनि भएन तर जब सोही अनुसार शैक्षिक प्रमाणपत्रहरु बन्दै गए त्यसपछि मलाई पाइला पाइलामा अफ्टेरो हुन थाल्यो ।

एसईई पछि उच्च शिक्षाका लागि भन्दै काठमाडाँ आएँ । कसो कसो गरेर नीलहिरा समाजको सम्पर्कमा पुगें । त्यसपछि बल्ल थाहा भयो म आफू पारालैगिंक महिला रहेछु ।
……………………………………………………………………..

स्कुलको ८-९ कक्षामा हो सायद, एक दिन सरले पुलिङ्ग, स्त्री लिङ्ग र नपुंसक लिङ्ग भनेर पढाउँदै हुनुहुन्थ्यो । मैले नपुंसक लिङ्गको विषयमा थप प्रष्ट पारिदिनुहोस भनेर सोधें, त्यसबेला कक्षाका सबै साथीहरु गल्लल हाँस्दै भने, ‘तिमी जस्तै व्यक्ति हो ।’

‘खासमा त्यो म माथि गरिएको भद्धा टिप्पणी थियो । दुव्र्यहार थियो । तर त्यसलाई सहनुको विकल्प नै थिएन । म फरक हुँ भन्ने थियो, मेरो व्यवहारकै कारण होला कि साथीहरुलाई पनि रहेछ । तर उनीहरुले यस्ता दुव्यहार बुलिङ गर्ने काम जारी राख्थे,’ उनले फेरी विगत सम्झिईन् ।

‘म संग स्कुटर छ तर लाइसेन्स छैन, नागरिकतामा बहादुर छ म छोरी मान्छे जस्तो भईसके । नागरिकता र मान्छे मिल्दैन भनेर फर्काउँछ । बैंक खाता खोल्न, विलबुक रिन्यु गर्न लगायत धेरै कुरामा हामीलाई पुरानो नागरिकताले व्यवहारिक रुपमा अफ्टेरो पारेको छ । त्यो भन्दा ठूलो अफ्टेरो मेरो पहिचान लुकेको छ । मैले आफूमा जे अनुभूति पाएको छु त्यहि अनुभूतिका साथ जीवन जिउन चाहन्छु । तर त्यो छैन । कलेजमा अहिले पनि फलानो बहादुर भनेर जिस्काउने चलन अझै पनि छ । यसले पनि मलाई निकै अफ्टेरो पारेको छ । त्यसैले नागरिकता सच्याउन चाहन्छौँ,’ उनले आफ्नो लैङ्गिक पहिचानसहितको नागरिकता बनाउन खोज्नुको कारण भनिन् ।
…………………………………………………………………

रुविनाले नागरिकता लैंगिक पहिचानसहितको नारिकता सच्याउनका लागि सर्बोच्चमा रिट दायर गरिन् । गत १४ साउनमा सर्बोच्चले उनकै पक्षमा फैसला पनि दियो । तर त्यसको कार्यान्वयन जिल्ला प्रशासन कार्यलय काठमाडाँले अहिलेसम्म गर्न सकेको छैन् । ‘यो केश यति सजिलै कहाँ समाधान हुन्छ । हामी हेरेर खबर गर्छौँ,’ कर्मचारीले रुविनालाई सधै त्यहि भनेर फर्काउने गर्दछन् ।

नागरिकताकै प्रसंगमा एक पटक जिल्ला प्रशासन कार्यालयको एक जना कर्मचारीले सर्जरी गरेर लिंग परिवर्तन गरेर आउँ अनि छोरा भएको ठाउँमा छोरी बनाइदिउला भनेर भन्यो । तर उनले मानिनन् । ‘यो हाम्रो पहिचानको लडाईँ हो । सर्बोच्चबाट फैसला समेत आइसकेको छ, हामी स्व अनुभूतिका आधारमा लिंङ्ग खुलाएर नागरिकता लिने हो । म बीचमा बहादुर भएको नामलाई सच्याएर रुविना बन्ने छु । लिंग खुलाउनु पर्ने स्थानमा पुरुष हटाएर स्त्री बनाउने छु । अनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका साथीहरुको हक अधिकारको लागि अझ दृढताको साथ काम गर्नेछु,’ उनले अन्तिममा भनिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *