डा. शैल रुपाखेती जर्मनीको राजदूतमा पक्का

संसदीय सुनुवाई समितिले अरु १५ जनाको नाम पनि गर्‍यो अनुमोदन
188
Shares

काठमाडौँ, ३ असोज । सरकारको सिफारिस र संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेपछि डा. शैल रुपाखेती जर्मनीका लागि नेपालको राजदूत हुने पक्का भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले सिफारिस भएका १७ मध्ये १६ जनाको नाम राजदूतका लागि अनुमोदन गरेको थियो । नाम अनुमोदन भएका  १६ जना मध्येका एक हुन डा. रुपाखेती ।

अब उनले जर्मनीसंगै पूर्वी उत्तरी र दक्षिणी युरोपका अरु नौ वटा मुलुकको गैरआवासीय नेपाली राजदूतको भूमिका समेत निर्वाह गर्नुपर्ने हुन्छ ।

निजी अस्पताल व्यवस्थापन तथा मेडिकल प्राक्टिसमै रमाएका डा रुपाखेती पछिल्लो पटक शेरबहादुर देउवा प्रधानमन्त्री भएकाबेला निजी चिकित्सकको रुपमा राजनीतिक नियुक्ती लिएका थिए ।

‘कोभिड – १९ को महामारीले सारा विश्व आक्रान्त पारेको केही समय पछि खोप व्यवस्थापनका लागि हामी खटिएका थियौँ । त्यसबेला खोप डिप्लोम्यासी र हेल्थ डिप्लोम्यासीमा हामीले गरेको योगदानले महामारीमा ठूलो क्षति हुन दिएन जस्तो लाग्छ । अहिले पनि मेरो प्राथमिकता देशको कुटनीतिक त छदैछ स्वास्थ्य कुटनीतिक पनि अघि बढ्छ,’ संसदीय समितिले नाम अनुमोदन गरेपछि छोटो प्रतिक्रिया दिदै डा रुपाखेतीले भने । त्यसो त उनले संसदीय समितिमा पनि आफ्ना कार्ययोजना पेश गरेका थिए ।

समितिले बिहीबार नै चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, भारतका लागि शंकरप्रसाद शर्मा, इजरायलका लागि डा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहेम्फेको नाम अनुमोदन गरेको छ ।

यसैगरी स्पेनका लागि सनिल नेपाल, बेलायतका लागि चन्द्र कुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम अनुमोदन भएको छ।

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन हुन बाँकी छ । समिति सभापति ईश्वरी न्यौपानेका अनुसार श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको कागजात नपुगेकाले नाम अनुमोदन हुन नसकेको हो ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *