लुम्बिनी प्रदेशको बजेटमा स्वास्थ्यका १३ बुँदा : स्वस्थकर जीवनशैली प्रवर्द्धन देखि भान्सा सुधार कार्यक्रमसम्म

काठमाडौँ, १ असार । लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०८१ /०८२ का लागि ३८ अर्व ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । संवैधानिक प्रावधान अनुसार १ असारमा प्रदेश सरकारको बजेट पेस गर्नु पर्ने भएकाले आज लुम्बिनी प्रदेश सरकारले पनि बजेट सार्वजनिक गरेको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले शनिबार चालु आर्थिक वर्षको भन्दा १ अर्ब ५० करोड ९७ लाख घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरे । उनले बजेटमा चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार र पुँजिगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख विनियोजन गरिएको जानकारी दिउ । मन्त्री आचार्यले प्रदेश संचित कोषबाट विनियोजन हुनेगरी ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार र प्रदेश संचित कोषतर्फ व्ययभार हुनेगरी १ करोड ४ लाख रुपैयाँको बजेट व्यवस्था गरिएको बताए।
प्रदेशको आज प्रस्तुत बजेटमा स्वास्थ्य तर्फ १३ बुँदामा सम्वोधन गरिएको छ । बजेटमा नसर्ने रोगविरुद्धको अभियान अन्तर्गत मेरो स्वास्थ्य मेरो जिम्मेवारी कार्यक्रम सञ्चालन गरिने र त्यसमा जीवन शैली प्रवद्र्धन देखि भान्सा सुधार कार्यक्रम अघि सारेको छ । यस्तै सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदानलाई कदर गर्दै ६० वर्ष उमेर हद म्यादका कारण अवकाश हुने भएमा जनही ५० हजार रुपैयाँ दिने नीति लिएको छ। यसैगरी निस्शुल्क स्वास्थ्य सेवामा पनि जोड दिईएको छ ।
एम्बुलेन्समा जीपीएस जडान गर्ने, ४० वर्ष माथिका नागरिकको निःशुल्क मधुमेह, रक्तचाप र मृगौलाको परीक्षण, किशोर तथा किशोरीको रक्तअल्पता पहिचान कार्यक्रम सञ्चालन, मृगौला प्रत्यारोपण, मुटुको भल्भ र क्यान्सर रोगको उपचारमा सहुलियत कार्यक्रमलाई निरन्तरता र दृष्टि गुमाएकालाई प्रदेश भित्रका आँखा अस्पतालहरुबाट नानी प्रत्यारोपण सेवा निःशुल्क प्रदान गर्न रकम विनियोजन गरेको छ।
हेर्नुहोस लुम्बिनीको बजेटमा स्वास्थ्यका १३ बुँदा:
- नसर्ने रोगको बढ्दो प्रकोपलाई कम गर्न ‘मेरो स्वास्थ्यस् मेरो जिम्मेवारी अभियानका साथ स्वस्थकर जीवनशैली प्रवर्द्धन तथा भान्सा सुधार कार्यक्रम समेत सञ्चालन गर्दै नागरिक आरोग्य कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका साथै ४० वर्ष माथिका नागरिकको निःशुल्क मधुमेह, रक्तचाप र मृगौलाको परीक्षण, किशोर तथा किशोरीको रक्तअल्पता पहिचान कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि रू ४ करोड ४५ लाख विनियोजन गरेको छु।
- मानसिक स्वास्थ्यका समस्या पहिचान एवम् रोकथामका लागि समुदायस्तरमा योग, ध्यान तथा मनोसामाजिक परामर्श लगायतका कार्यक्रम सञ्चालन र उपचारको लागि स्वास्थ्य संस्थाको क्षमता विकास गरिनेछ । ८० वर्ष पुगेका जेष्ठ नागरिक तथा अति अशक्त (क) र (ख) वर्गलाई स्थानीय तहसँगको सहकार्यमा घरमै स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
- आमा बन्दा कसैले ज्यान गुमाउन नपरोस भनी उच्च मातृ तथा नवजात शिशु मृत्युदरलाई कम गर्न स्थानीय तहसँगको समन्वयमा “पूर्ण सुरक्षित मातृत्व सेवा’ अभियानसहित विशेष कार्यक्रम सञ्चालन गरिनेछ । जोखिमपूर्ण अवस्थाका गर्भवती महिलालाई अर्को सुबिधा सम्पन्न अस्पतालमा प्रेषण गर्न निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइने र दुर्गम क्षेत्रमा निःशुल्क हवाई उद्दार गरिने व्यवस्था गरेको छु । यसका लागि आवश्यक रकम छुट्याएको छु ।
- प्रदेश गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा एम.आर.आइ. सेवा विस्तारको लागि रू १५ करोड बिनियोजन गरेको छु । साथै राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा मातृशिशु सेवा युनिट निर्माणको लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।
- नवजात शिशुको रूग्णता र मृत्युदर घटाउन बर्दिया, कपिलबस्तु, प्यूठान, भीम, राप्ती प्रादेशिक र लुम्बिनी प्रादेशिक अस्पतालमा नवजात शिशु सघन उपचार इकाई (एन.आइ.सि.यु. र एस.एन.सि.यु.) को सुदृढीकरण गरिनेछ ।
- मृगौला प्रत्यारोपण, मुटुको भल्भ र क्यान्सर रोगको उपचारमा सहुलियत कार्यक्रमलाईनिरन्तरता दिनुका साथै विपन्न नागरिकलाई दम तथा ब्रोङ्काइटिसजन्य रोगको उपचार सहायतालाई निरन्तरता दिन रु ५ करोड ५० लाख विनियोजन गरेको छु ।
- प्रदेश गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा विशिष्टीकृत सेवाको विस्तार गरिनेछ । पहाडी तथा दुर्गम स्थानका अस्पतालहरुमा विशेषज्ञ चिकित्सक नियमित रुपमा उपलब्ध गराउन चिकित्सकहरुलाई प्रोत्साहन गरिनेछ ।
- ५० शैय्यामा स्तरोन्नति भएको अर्घाखाँची अस्पतालको बहुवर्षीय भवन र प्यूठानको स्वास्थ्य कार्यालय निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्नुका साथै कपिलवस्तुको शिवराज नगरपालिकामा निर्माणाधीन लुम्बिनी प्रदेशस्तरीय सुविधा सम्पन्न सरूवा रोग अस्पतालको भवन निर्माण निरन्तरताको लागि आवश्यक व्यवस्था मिलाएको छु ।
- प्रेषण प्रणालीमा आधारित एम्बुलेन्स सेवा प्रदान गर्न हालका एम्बुलेन्समा जि.पि.एस. जडान गरी एकीकृत सेवा सञ्चालन गरिनेछ ।
- लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालबाट उपलब्ध ईमरजेन्सी सेवाको निःशुल्क टिकट व्यवस्थालाइ निरन्तरता दिएको छु । प्रदेशका सबै सरकारी अस्पताल तथा सामुदायिक स्वास्थ्य संस्थामार्फत निःशुल्क रक्तसञ्चार सेवा उपलब्ध गराउन शोधभर्नाका लागि समेत आवश्यक रकम विनियोजन गरेको छु ।
- स्वास्थ्य प्रणालीको आधार तहमा रही आमा र बालबालिकाको स्वास्थ्य सेवामा खटिनु भएका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदानलाई कदर गर्दै ६० वर्ष उमेर हद म्यादका कारण अवकाश हुने भएमा जनही रु ५० हजार सहित सम्मानजनक बिदाई कार्यक्रमलाई निरन्तरता दिएको छु ।
- प्रदेश राजधानीमा सुविधा सम्पन्न अस्पतालको पूर्ण संरचना नबन्दासम्म लालमटिया स्वास्थ्य चौकीको परिसरभित्र भालुवाङ अस्पताल आकस्मिक स्वास्थ्य सेवासहितको बिशेषज्ञ सेवा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
- जनस्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल, थालसेमिया र हेमोफिलिया रोगको सचेतनार स्क्रिनिङ्गको उचित प्रबन्ध गरी यस्ता बिरामीहरुको स्वास्थ्य बिमा गराई उपचारमा सहज पहुँच सुनिश्चित गर्ने कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रकम विनियोजन गरेको छु ।
- मृगौला रोगीलाई उपचारको व्यवस्था मिलाउन कपिलवस्तु, प्यूठान, पृथ्वीचन्द्र, रामपुर, गुल्मी, बर्दिया र राप्ती प्रादेशिक अस्पतालमा डाइलाइसिस सेवालाई निरन्तरता दिई इरिथ्रोपोइटिन औषधिमा सहुलियत उपलब्ध गराइनेछ । साथै आँखाको नानीको समस्याका कारण दृष्टि गुमाएकालाई प्रदेश भित्रका आँखा अस्पतालहरुबाट नानी प्रत्यारोपण सेवा निःशुल्क प्रदान गर्न रकम विनियोजन गरेको छु ।
- अत्यावश्यक आयुर्वेद औषधी निःशुल्क वितरणको लागि प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा जि।एम।पि। स्टाण्डर्ड प्रादेशिक आयुर्वेद औषधी उत्पादन केन्द्र सञ्चालनमा ल्याइनेछ। आयुर्वेद तथा वैकल्पिक चिकित्सामा नागरिकको पहुँच वृद्धि गर्न प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा विशेषज्ञ सेवा र लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवललाई विशेषज्ञ चिकित्सालयको रूपमा स्तरोन्नतिका साथै प्रदेशका आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा पञ्चकर्म सेवा विस्तार गर्न रकम विनियोजन गरेको छु ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com





नेपाली हेल्थ 

