नारायणी अस्पतालको अनुगमन गर्न वीरगञ्ज पुगे स्वास्थ्य मन्त्री यादव

काठमाडौँ, २० जेठ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले मङ्गलवार गृह नगर वीरगञ्जस्थित नारायणी अस्पतालको अनुगमन गरेका छन् ।

मङ्गलवार बिहानै वीरगञ्ज पुगेका मन्त्री यादवले मधेस प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रका रूपमा परिचित नारायणी अस्पतालमा ओपिडी, फार्मेसी, पोस्टअप, ल्याबलगायत अनुगमन गर्दै त्यहाँ उपचाररत बिरामी र कुरुवासँग समेत कुराकानी गरेका थिए ।

सो क्रममा मन्त्री यादवले उनीहरुसंग उपचार, चिकित्सक र स्वास्थ्यकर्मीहरूले गर्ने व्यवहार, औषधीको उपलब्धता र अस्पतालमा उपलब्ध अन्य सेवाको गुणस्तरका बारेमा जानकारी लिएका थिए ।

बिरामीहरूले अस्पतालस्थित फार्मेसीमा सबै प्रकारका औषधी उपलब्ध नरहेको, ओपिडी टिकट काट्ने काउन्टरमा बढी भिडभाड रहेको, चिकित्सकहरू ओपिडीमा पर्याप्त समय नदिएको गुनासो गरेका थिए ।

मन्त्री यादवले बिरामीले गर्नुभएको गुनासोलाई यथाशीघ्र सम्बोधन गर्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. एनामुल हकलाई निर्देशन दिए । यस्तै फार्मेसीमा औषधीको व्यवस्थापनका लागि मन्त्रालयसँग बजेट माग गर्न र ओपिडी सेवाका लागि आउनुहुने बिरामीको सहजताका निमित्त टिकट काउन्टर थप्दै सो स्थानलाई वातानुकूलित बनाउन पनि निर्देशन दिए ।

अनुगमन पश्चात् मन्त्री यादवले अस्पताल विकास समितिका सदस्य, मेसु, चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूसँग पनि छलफल गरेका थिए । सो क्रममा मेसु डा. हकले भवन पुरानो हुँदा बिरामीहरूको उपचारमा समस्या आइरहेको दुखेसो पोखेका थिए ।

उनले भने, ‘अस्पतालमा रहेका अधिकांश भवनहरूको अवस्था जर्जर छ । वर्षायाममा पानी चुहिँदा बिरामीहरूको उपचारमा कठिनाइ आउँछ ।’

डा. हकले नारायणी अस्पताल ३५० बेडमा स्तरोन्नति भएको वर्षौँ बितिसक्दा पनि कर्मचारी दरबन्दी सय बेड अनुसार कै रहेको बताए ।

‘दरबन्दी नहुँदा जनशक्ति अभाव छ । हामीले अपेक्षित ढङ्गबाट सेवा प्रवाह गर्न सकेका छैनौँ । बेड अनुसारको दरबन्दी कायम गर्न मेरो आग्रह छ,’ उनले भने ।

मन्त्री यादवले अदालतमा विचाराधीन रहेको अस्पताल भवन निर्माणको मुद्दालाई फास्ट ट्र्याकमा सम्बोधन गर्न आफू लागिपरेको बताए । उनले भने, ‘अस्पतालको भवन निर्माणका लागि सबै प्रक्रिया अगाडि बढेपनि केही स्वार्थी व्यक्तिले अदालतमा मुद्दा हालेको कारण काम अगाडि बढेको छैन । मैले प्रधानमन्त्री र कानुन मन्त्रीसँग भेटेर फास्ट ट्र्याकमा मुद्दाको फैसला गर्न आग्रह गरेको छु । मुद्दा फैसला भएसँगै भवन निर्माणको काम द्रुतगतिमा अगाडि बढ्ने छ ।’

त्यसै गरी अनुगमनमा  वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नारायणी अस्पतालको स्तरोन्नतिलाई आफ्नो प्रमुख एजेण्डा बनाएर काम गर्न मन्त्री यादवसँग आग्रह गरेका थिए । उनले सोका लागि आवश्यक सम्पूर्ण सहयोग वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।

अनुगमनमा अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ता, पूर्व प्रदेश सभा सदस्य जनत अन्सारी लगायतको पनि सहभागिता रहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *