स्वास्थ्यका यी कार्यक्रम : बजेट बक्तव्यमा आयो तर पूर्ण कार्यान्वयन भएन

काठमाडौँ, १४ जेठ । सामान्य त सरकारको बार्षिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेखित विषय कार्यान्वयनमा आउँछ भनेर सोचिन्छ । तर, सोँचे जसरी आइरहेको हुँदैन ।

राष्ट्रपति रामचन्द्र पौडेललाई आइतबार बुझाएको महालेखापरीक्षकको ६१ औँ बार्षिक प्रतिवेदनले पनि ती कुराहरुलाई उल्लेख गरेको छ ।

स्वास्थ्यको सन्दर्भ प्रस्तुत गर्ने क्रममा महालेखाले बजेट बक्तव्य २०७९/८०मा प्रस्तुत थुप्रै विषय अहिलेसम्म कार्यान्वयन नभएको उल्लेख गरेको छ ।

त्यसबर्षको बजेटमा ६५५ स्थानीय तहमा निर्माणाधिन आधारभूत अस्पतालको निर्माण सम्पन्न गर्ने उल्लेख थियो तर अहिलेसम्म २७ वटा मात्रै निर्माण सम्पन्न भएको छ । महालेखाले ५९२ को विस्तृत परियोजना प्रतिवेदन तयार भएको, सो मध्ये ४१३ निर्माणाधीन अवस्था रहेको उल्लेख गरेको छ ।

सो बजेट बक्तव्यमा थप २० केन्द्रीय र प्रादेशिक अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गर्ने उल्लेख भएकोमा सो को कार्यान्वयन नभएको बताएको छ ।

यसैगरी स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्न लुम्बिनी प्रदेशको राजापुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत र मधेश प्रदेशको सप्तरीमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मार्फत सुपर स्पेसियालिटी सेवा सहितको स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल स्थापना गर्ने कार्य अघि बढाउने उल्लेख भएको थियो तर त्यसो अहिले पनि कार्यान्वयन भएको छैन ।

यस्तै रुपन्देहीको सैनामैना, नवलपरासी पूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गरिने उल्लेख भएकोमा जग्गा प्राप्तिको प्रक्रिया नै टुंगो लागेको छैन ।

महालेखाले बजेट कार्यान्वयनको अवस्था झल्काउने क्रममा स्वास्थ्यको अर्को विषय पनि उजागर गरेको छ । बजेटमा ४० बर्ष माथिका नागरिकको लागि स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा बर्षमा एक पटक नसर्ने रोगको निशुल्क स्क्रिनिङ सेवा सञ्चालन गर्ने उल्लेख भएकोमा सो लागि बजेट व्यवस्था नभएको कारण कार्यान्वयन हुन नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी शैक्षिक सत्र सुरु हुनु अघि सार्वजनिक विद्यालयका सबै विद्यार्थीहरुको निशुल्क स्वास्थ्य जाँच गर्ने भन्ने उल्लेख भएकोमा २३४ विद्यालयका ४० हजार विद्यार्थीको मात्र निशुल्क स्वास्थ्य जाँच गरेको जनाएको छ ।

यस्तै शारीरिक तथा मानसिक अपांगता भएका व्यक्तिहरुका लागि प्रत्येक प्रदेशमा एक एक वटा पुनस्र्थापना केन्द्र स्थापना गर्ने उल्लेख भएकोमा सो कार्य नभएको उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *