सोलिड सामाजिक बहस श्रृङ्खला : बृहत्त(र) यौनिकता शिक्षामा हामी कहाँ छौँ ?


काठमाडौँ, १२ जेठ । नेपालमा बृहत्त(र) यौनिकता शिक्षाका बारेमा चर्चा, कार्यक्रम तथा कक्षा हुन थालेको धेरै भयो तर त्यसबाट अपेक्षित नतिजा भने अझै प्राप्त हुन सकेको छैन ।

अहिले पनि समाज यौनिकता शिक्षाका बारेमा अझै खुल्न सकेको छैन, सरकार पनि यस विषयलाई प्राथमिकताका साथ अगाडी बढाउन हिचकिचाएको हो कि जस्तो देखिन्छ ।

यहि विषयमा काम गर्ने गैर सरकारी संस्थाहरुले प्रयास त गरेका छन् तर नतिजामा उत्साहजनक सफलता देखिईसकेको छैन ।

किन यस्तो भयो ? हामी कहाँ चुक्यौँ ? अब हामी कहाँ छौँ ?

लोकल इन्ट्रिग्रेटेड डेभलपमेन्ट नेपाल (सोलिड नेपाल) ले यहि विषयमा केन्द्रीत रहेर बृहत सामाजिक बहसको थालनी गरेको छ ।

सोलिड नेपालले बहसको पहिलो श्रृङ्खला अन्तर्गत शुक्रबार यस विषयसंग जोडिएका सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिसंग बृहत छलफलको आयोजना गरेको छ ।

‘बृहत्त(र) यौनिकता शिक्षा किन आवश्यक हो ? विश्वमा र नेपालमा यस विषयमा के कस्ता बहस भए ? नेपालमा यो अभियानमा क्रियाशिल संघ संस्थाहरुले के गरे ? कहाँ निर अफ्टेरो भयो ? यस विषयमा राज्यको नीति के छ ? समुदायको धारणा के छ ? सञ्चार माध्यमको बुझाई के छ ? यहि विषयमा केन्द्रीत रहेर छलफल भयो । यो सुरुवात हो, अब विभिन्न चरणमा विभिन्न पक्षसंग यस्ता छलफल र बहस जारी रहन्छ,’ कार्यक्रमको सहजीकरण गरिरहेका सोलिड नेपालका संस्थापक अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन् संस्थानका सह प्राध्यापक डा. खेमबहादुर कार्कीले भने ।

त्यसो त सयौ वर्ष अघि बनेका हाम्रा मन्दिरका टुंडालमा कुदिएका चित्रले पनि नेपालमा यौनिकता शिक्षा उ बेला पनि थियो भन्ने दर्शाउँछ । यद्धपी राज्यको तर्फबाट औपचारिक रुपमा यौनिकता शिक्षाले धेरै पछि मात्रै स्थान पाएको हो ।

डा. कार्की यौनिकता शिक्षा आजको आवश्यकता हो भन्दै विद्यालय तहमै पाठ्यक्रम तयार गरि अनिवार्य रुपमा किशोर किशोरीलाई पढाउनु पर्ने बताउँछन् । उनले यसका लागि सरकारले तत्काल कदम चाल्नु पर्नेमा जोड दिए ।

‘किशोर किशोरी अवस्थामा यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी दिईयो भने अवान्चित घट्नामा न्युनिकरण गर्न सकिन्छ । असुरक्षित यौन सम्पर्क, यौन व्यवहार, टीन एज प्रेग्नेन्सी, बालविवाह जस्ता घटना रोक्नका लागि पनि यसबारेमा पढाई हुन जरुरी छ,’ विषय प्रवेश गर्ने क्रममा उनले थपेका थिए ।

कार्यक्रममा सहभागि भएका युनेस्को नेपालका शिक्षा हेर्ने नेशनल प्रोग्राम अफिसर ध्रुबराज रेग्मीले सोलिड नेपालले सुरु गरेको सामाजिक बहस र विषय निकै नै सान्दर्भिक र महत्वपूर्ण रहेको बताए । उनले यौनिकता शिक्षाका विषयमा सन्दर्भ उठ्दा औपचारिक संगै अनौपचारिक क्षेत्रलाई विर्षनु नहुने भन्दै यो विषयलाई स्थानीयकरण गरेर पनि अघि लैजानु पर्ने सुझाव दिए ।

यता शिक्षा विभाग पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा गशेणप्रसाद भट्टराईले विद्यालय तहमा यौनिकताका विषय समेटेर पाठ्यक्रम तयार गर्नु पर्ने विषयमा दुई मत नरहेको भन्दै यी विषय पढाउने शिक्षकको भने अभाव देखिएको बताए । स्वास्थ्य, जनसंख्या विषय केही अनिवार्यबाट शैक्षिक बनाएको सम्दर्भमा पनि उनले जनशक्ति नहुनुको प्रमुख कारक भएकोमा जोड दिए । उनले ऐच्छिक विषय भए पनि यो विषय पढ्ने विद्यार्थीको संख्या तेस्रो बढी भएको सुनाए ।

नेपाल परिवार नियोजन संघका कार्यकारी निर्देशक यौनिकता शिक्षाको महत्वबारे राज्य पक्ष र आम नागरिकलाई बुझाउनु पर्ने आवश्यकता रहेको बताए । उनले यसमा मिडियाको भूमिका समेत महत्वपूर्ण हुने भन्दै ध्यानाकर्षण गराउन चाहेको बताए ।

यस्तै सीप सूचना समाज नेपाल(सिसो नेपाल)का कार्यकारी निर्देशक खुमानन्द सुवेदीले यौनिकता शिक्षा ग्रामिण क्षेत्रका लागि भन्दै शहरी क्षेत्रका किशोर किशोरीका लागि बढी आवश्यकता देखिएको बताए । उनले विद्यालय तहबाटै यस विषयमा किशोर किशोरीलाई सचेत गराउनु पर्नेमा राज्यले भएका पाठ्यक्रमबाट पनि यी विषयहरु हटाउने प्रपन्च गरेको आरोप लगाए । उनले यसका लागि सञ्चारमाध्यमले वकालत गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा किशोरीका तर्फबाट रविना शाक्यले यौनिकता शिक्षाको कमिका कारण नै टिन एज प्रेग्नेन्सी बढेको, आकस्मिक गर्भ निरोधका साधनहरुको दुरुपयोग बढेको, बालविवाह नरोकिएको जस्ता उदाहरण पेश गरिन । उनले यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा विद्यालयमा अहिले पनि गतिलोसंग पढाउने शिक्षक नभएको बताईन् ।

कार्यक्रममा डा राजेन्द्र भद्रा, पीएसआईका खेमराज श्रेष्ठ, डा भगवान, प्लान इन्टरनेशनल नेपालका निराजन खड्का लगायतले यौनिकता शिक्षाका आवश्यकता र महत्वको बारेमा धारणा राखेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *