पहिल्यै छुटेका १४ लाख ६० हजार बालबालिकाहरुलाई पोलियोबिरुद्धको आईपीभी खोप दिईदै

काठमाडौं ८ जेठ । सरकारले आगामी १३ देखि २६ जेठसम्म पोलियो रोग विरुद्धको आईपीभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन) खोप अभियान सञ्चालन गर्ने भएको छ ।

विसं २०७३ बैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १४ लाख ६० हजार ६१२ जना बालबालिकाहरुलाई अभियान सञ्चालन गरी आईपीभी खोप दिने तयारी गरेको हो ।

त्यसबेला विश्वबजारमा यो खोप अभाव भएका कारण ती बालबालिकाहरु आईपीभी खोपबाट पाउनबाट बन्चित थिए । खोपबाट बन्चित भएका बालबालिकाहरु पोलियो रोगको जोखिममा हुनसक्ने भन्दै खोप दिन लागिएको हो ।

त्यसो त नेपालले सन् २०१४ मै पोलियोमुक्त राष्ट्रको रुपमा प्रमाणपत्र पाइसकेको छ । तर दक्षिण एशियाली मुलुकहरु पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियो केश देखिएका कारण जोखिम कायमै रहेको सरोकारवालाहरु बताउँछन् ।

‘त्यसै काण कारण हामीले यी बीचमा छुटेका बालबालिकाहरुलाई खोप दिने अभियान सञ्चालन गर्न थालेका हौँ,’ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा, विवेककुमार लालले भने । उनले खोप अभियानका लागि ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाईजेशन (गाभी)को ठूलो सहयोग रहेको बताए ।

विभागका खोप शाखा प्रमुख डा. अभियान गौतमले आईपीभी खोप सुरु गरिसकेपछि बीचमा यो खोपको अन्तराष्ट्रिय रुपमा अभाव भएको भन्दै बीचमा छुटेका बालबालिकाहरुलाई विद्यालय मै गएर र बाँकीलाई स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा बोलाएर दिईने जानकारी दिए । उनले भने, ‘यो अभियान १३ जेठ देखि दुई सातासम्म अर्थात २६ जेठसम्म सञ्चालन हुनेछ । र सो अवधीमा कतिपय स्थानीय तहले आफ्नो समय मिलाएर अभियान सञ्चालन गर्नेछन् ।’

डा. गौतमले अहिले बीचमा छुटेका बालबालिकाहरुलाई मात्रै खोप दिन लागिएको भन्दै यसअघि जन्मेर आइपीभी लिईसकेको र पछि जन्मेर सो खोप लिईसकेकाहरुले अहिले खोप लिन नपर्ने समेत स्पष्ट पारे ।

‘सरकारले पोलियो रोगविरुद्ध दुईवटा खोप सञ्चालन गरेको छ । ओपिभि खोप नियमित खोप सेवाको माध्यमबाट छ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा लगाउनु पर्ने हुन्छ । यस्तै आईपीभी खोप १४ हप्ता र ९ महिनाको उमेरमा लगाउनु पर्छ । हाम्रा स्वास्थ्यकर्मीहरुले लगाई राख्नु पनि भएको छ तर बीचमा छुटेको समूहलाई यसपटक समावेश गर्न खोजेका हौँ,’ डा. गौतमले भने ।

यसैबीच महाशाखाका निर्देशक डा. लालले अभियानका लागि सरकार तथा दातृ निकायले ३२ करोड बढी छुट्याएको जानकारी दिए ।

नेपालमा २०७१ साल देखि आईपीभी खोप सञ्चालन गरिएको हो । बीचको दुई वर्ष रोकिए पनि त्यसपछिको बर्षहरुमा यो खोप नियमित खोप कार्यक्रममा पर्दै आएको छ ।

अभियानका लागि ३४ हजरा ३५४ खोप केन्द्र तयार गरिएको छ । यस्तै अभियानमा ३४ हजार ३०६ जना स्वास्थ्यकर्मी र ६० हजार १३ जना स्वयंसेवक परिचालन गरिने महाशाखाले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *