कडा रोग लागेका बीमितका लागि उपचार सहुलियत दुई लाख रुपैयाँ पुर्याँउन निर्देशन
क्यान्सर लागेका लुम्बिनी प्रदेशका बीमितको उपचार सहुलियत पाँच लाख रुपैयाँ पुग्ने

काठमाडौँ, ९ असार । स्वास्थ्य बीमा गरेका व्यक्ति कडा रोगको संक्रमणमा परेमा दुई लाख रुपैयाँ सम्मको उपचार सहुलियत दिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य बीमा नियमावलीमा भएको व्यवस्था अनुसार कडा रोगका बिरामीलाई उपचार सहुलियत थप गर्न स्वास्थ्य बीमा बोर्डलाई निर्देशन दिएका हुन् । स्वास्थ्य मन्त्रीको निर्देशन पछि बोर्डले आगामी बैठकमा यो विषय राखि आवश्यक निर्णय गर्ने बताएको छ ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्ले भन्छन्, ‘नियमावलीमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न मन्त्रालयबाट निर्देशन आएको छ । अबको बोर्ड बैठकमा यो विषय राखिन्छ त्यसपछि यो विषयको बारेमा अन्तिम निर्णय हुनेछ ।’
के छ नियमावलीमा ?
स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १७ को उपनियम (२) को खण्ड (घ) अनुसार कडा रोग लागेका व्यक्तिलाई थप एक लाख रुपैयाँ दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याउन बोर्डलाई निर्देशन दिएका छन् । मन्त्रालयको निर्देशन पछि स्वास्थ्य बीमा बोर्डले आगामी बैठकमा यो विषय निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा जुटेको छ ।
स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १७ मा सुविधा सम्वन्धी व्यवस्था रहेको छ । त्यसको उपनियम २ मा ‘बीमितले देहाय बमोजिमको रकमको हदसम्म मात्र सेवा प्राप्त गर्न सक्नेछ’ भनिएको छ ।
त्यसको खण्ड (घ)मा खण्ड (ग) बमोजिमको सुविधा नदोहोरिने गरी सम्वत २०७६ साल साउन १ देखि लागू हुने गरी बीमितलाई अनुसूची ६ मा उल्लिखित रोगहरुको उपचारको लागि थप एक लाख रुपैयाँसम्म भनिएको छ ।
खण्ड (ग)मा ‘सत्तरी वर्ष उमेर नाघेका जेष्ठ नागरिकले मात्र उपयोग गर्ने गरी एक लाख रुपैयाँसम्म’ भनिएको छ ।
स्वास्थ्य बीमा बोर्डले खण्ड (ग) पहिले देखि नै कार्यान्वयनमा ल्याईसकेको छ । तर, कार्यान्वयनको मिति नै तोकिएको भए पनि घण्ड (घ) मा भएको व्यवस्था अहिलेसम्म कार्यान्वयनमा आएको छैन ।
मन्त्रालयले यसपटक घण्ड (घ)लाई कार्यान्वयनमा ल्याउन खोजेको हो । अर्थात अब ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकले पाउने सुविधा कडा रोग लागेका व्यक्तिले पनि पाउने छन् । तर, यी दुई सुविधा दोहोरो हुने छैन ।
कुन कुन रोगका लागि उपलव्ध हुन्छ थप एक लाख रुपैयाँ ?
उल्लेखित नियमावलीको नियम १७ खण्ड (घ)मा ‘अनुसूची ६ मा उल्लेखित रोगहरुको उपचारका लागि थप एक लाख रुपैयाँसम्म सहुलियत उपलव्ध हुने’ भनिएको छ ।
सो अनुसूचीमा क्यान्सर, मुटुरोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सन्स र अल्जाइमर्स रोगहरुको उपचारका लागि थप एक लाख रुपैयाँ दिन सकिने उल्लेख छ ।
क्यान्सर लागेका लुम्बिनी प्रदेशका बीमितको उपचार सहुलियत पाँच लाख रुपैयाँ पुग्ने
स्वास्थ्य बीमा नियमावलीमा भएको व्यवस्था कार्यान्वयनमा आएमा अब स्वास्थ्य बीमा गरेका लुम्बिनी प्रदेशका क्यान्सर बिरामीले एक पटकका लागि पाँच लाख रुपैयाँसम्म उपचार सहुलियत प्राप्त गर्ने छन् ।
कडा रोगको सूचीमा क्यान्सर पनि पर्ने भएको र उनीहरुलाई स्वास्थ्य बीमा बोर्डबाट थप एक लाख रुपैयाँ उपलव्ध हुने भएमा दुई लाख रुपैयाँ हुनेछ ।
त्यसबाहेक संघीय सरकारले विपन्न नागरिक उपचार कोषबाट थप एक लाख रुपैयाँ सहुलियत दिने गरेको छ ।
यस्तै प्रदेश सरकारले थप दुई लाख रुपैयाँ दिने गरेको छ । यस हिसावले कुल पाँच लाख रुपैयाँसम्मको उपचार सहुलियत मिल्ने भएको हो ।
अन्य प्रदेशमा भने दुई लाख रुपैयाँ सहुलियत पुगिसकेको छैन ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
