जन्मजात ओठ तथा तालु काटिएका बालबालिकाहरुको त्रिवि शिक्षण अस्पतालमा हुन्छ निशुल्क शल्यक्रिया

काठमाडौँ, १४ फागुन । धेरैलाई थाहा नहुन सक्छ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा जन्मजात ओठ तथा तालु काटिएका बालबालिकाहरुको निशुल्क शल्यक्रिया गरी उपचार हुने गरेको छ ।

अस्पतालको प्लास्टिक सर्जरी विभागले स्माईल ट्रेन नामक अन्तराष्ट्रिय संस्थाको सहयोगमा यस्ता बालबालिकाहरुको निशुल्क शल्यक्रिया गर्दै आएको छ ।

अस्पतालका प्लास्टिक सर्जन प्राडा ईश्वर लोहनीले त्रिवि शिक्षण अस्पतालमा पछिल्लो तीन वर्ष देखि जन्मजात ओठ तथा तालु काटिएका बालबालिकाहरुको निशुल्क शल्यक्रिया हुँदै आएको बताए ।

‘हामीले भनिरहेका छौँ, यस्ता समस्या भएका बालबालिकाहरुले आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनु पर्दैन । त्रिवि शिक्षण अस्पतालको प्लास्टिक सर्जरी विभागले स्माइल ट्रेन नामक संस्थाको सहयोगमा पछिल्लो तीन वर्ष देखि निशुल्क सर्जरीसेवा प्रदान गर्दै आएको छ,’ प्राडा लोहनीले भने ।

उनका अनुसार ओठ तथा तालु काटिएका बालबालिकाहरुका लागि विभागले सोमबार र विहीबार विहानी सत्रमा ओपिडी सेवा सञ्चालन गर्दै आएको छ । यस्तै आइतबार र बिहिबार दिवा (दिउसो) सत्रमा ओपिडी सेवा सञ्चालन गर्दै आएको छ ।

‘यस्ता बालबालिकाहरुलाई अभिभावकले पहिले हाम्रो ओपिडीमा ल्याउनु पर्छ । त्यहाँ हेरिसकेपछि आवश्यकताको आधारमा शल्यक्रियाको योजना गरिन्छ । यो शल्यक्रियाका लागि बिरामी पक्षले पैसा तिर्नु पर्दैन,’ डा. लोहनीले भने ।

उनले जन्मजात ओठ काटिएकाहरुको शल्यक्रिया तीन महिना भित्र र तालु काटिएकाहरुको शल्यक्रिया १८ महिना भित्र गर्नु राम्रो हुने बताए ।
‘विदाको दिन बाहेक तोकिएका बारहरुमा विहानी र दिवा सत्रमा ओपिडी आई समस्या भएका बालबालिकाहरुलाई देखाए हामीले शल्यक्रियाको योजना बनाउँछौँ,’ डा लोहनीले भने ।

त्रिवि शिक्षण अस्पतालमा हरेक महिना तीन देखि चार जना ओठ तथा तालु काटिएका बालबालिकाहरुको शल्यक्रिया भइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *