लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

बाँके, २० मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिने जानकारी दिएका छन् ।

हाल १५ शय्यामा सञ्चालित उक्त अस्पतालको आज अनुगमन गर्दै उनले यही आर्थिक वर्षमा नै अस्पतालमा शय्या थपिने बताए ।

मुख्यमन्त्री चौधरीले भने,“अस्पतालको सेवा सुविधालाई अझैं चुस्तदुरुस्त बनाएर बिरामीलाई सहज तरिकाले सेवा प्रवाह गर्नका लागि यसै आर्थिक वर्षमा नै थप ३५ शय्या थप गर्न पहल गर्नेछु ।” प्रदेश प्रहरी अस्पतालका निर्देशक तथा प्रहरी वरिष्ठ उपरीक्षक डा अमिनकुमार श्रेष्ठले मुख्यमन्त्री चौधरीलाई अस्पतालका बारेमा जानकारी दिएका थिए ।

सो अवसरमा निर्देशक डा श्रेष्ठले अस्पतामा आवश्यक भौतिक संरचनाका साथै निर्माणाधीन भवनको बारेमा पनि जानकारी गराएका थिए ।

विसं २०५५ मा स्थापना भएको उक्त अस्पतालले लुम्बिनी मात्र नभइ कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई समेत सेवा दिँदै आइरहेको छ । प्रदेश अन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरुका परिवार र भूपू प्रहरीलाई समेत लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आएको उनले बताए ।

निर्देशक डा श्रेष्ठले प्रदेश प्रहरी अस्पताललाई तीनवटै प्रदेशको स्वास्थ्य उपचारको ‘हब’ बनाउने योजना रहेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *