इन्टरनल मेडिसिनका विशेषज्ञ चिकित्सकहरुको संस्था साइमनको १५ औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ, १८ मंसिर । इन्टरनल मेडिसिन विषयका विशेषज्ञ चिकित्सकहरको साझा संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)को १५ औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्मन्न भएको छ ।

गत शुक्रबार र शनिबार काठमाडौँ आयोजित सो सम्मेलनमा नेपालसहित भारत बंगलादेश, भुटान, जापान, माल्दिभ्स, श्रीलंका बेलायत, अष्ट्रेलियाबाट गरी ४९० बढी चिकित्सकहरुको सहभागिता थियो । सम्मेलनमा ४३ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सम्मेलन सम्पन्न गर्नका लागि साइमनका सभापति प्राडा अरुण मास्केको नेतृत्वमा मुल समारोह समिति गठन भएको थियो । यस्तै वैज्ञानिक समितिको सभापति प्राडा शितल अधिकारी र सचिवको जिम्मेवारीमा डा मुकुन्दप्रसाद काफ्ले थिए ।

सम्मेलनको उद्घाटन गत शुक्रबार नेपालका बरिष्ठ चिकित्सक डा मृगेन्द्रराज पाण्डेले गरेका थिए ।

सम्मेलनमा बेलायतको रोयल कलेज अफ फिजिसियन एडिनबराका अध्यक्ष डा एन्ड्रु एल्डर, भारतको एसोसिएसन अफ फिजिसियन अफ इन्डियाका सभापति डा गिरिश माथुर, श्रीलंकाका श्री लंका कलेज अफ इन्टरनल मेडिसिनका सभापति डा कुमुदिनी जयसिंघे, बंगलादेशको एसोसिएसन अफ फिजिसियन अफ बंगलादेशका महासचिव प्राडा सोहेल महमुद अराफात लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनकै अवसरमा चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डिन तथा साइमनका पूर्व सभापति प्राडा जगदीशप्रसाद अग्रवाललाई मृगेन्द्र सम्झना मेडिकल गुठिको विशेष ओरेशन सम्मान प्रदान गरिएको थियो । त्यसबाहेक डा कुमुद भट्टराईलाई सर्बोत्कृष्ठ पोष्टर पुरस्कार, डा सागर पौडेललाई सर्बोत्कृष्ठ ओरल प्रिजेन्टेशन पुरस्कार तथा डा सन्दीप सापकोटालार्य ५० हजार रुपैयाँको पोष्ट ग्राजुएट्स इन्भेस्टीगेटर अवार्ड प्रदान गरिएको थियो ।

सम्मेलनको अघिल्लो दिन अर्थात १४ मंसिरमा भएको चार भिन्दा भिन्दै कार्यशालामा १२० जना इन्टरनल मेडिसिन विषयका आवासीय चिकित्सकहरु सहभागि थिए । उक्त कार्यशालामा नेपाली चिकित्सकहरुलाई तालीम दिनका लागि नेपाल बाहेक बेलायत तथा भारतबाट विशेषज्ञहरु आमन्त्रण गरिएको थियो ।

मेडिकल अनुसन्धान, पराजैविक औषधिको उचित उपयोग, मानव शरीरमा पानी तथा धातुको सन्तुलन सम्वन्धी कार्याशाला बाहेक बेलायतको रोयल कलेज अफ फिजिसियन एडिनबराले अस्पतालमा उपचाररत बिरामीको अवस्था, अकस्मात बिग्रेमा कसरी सम्हाल्ने भन्ने तालीम सञ्चालन गरेका थियो ।

सम्मेलनको अघिल्लो दिन रोयल कलेज अफ फिजिसिएन एडिनबराका अध्यक्ष डा एन्ड्रु एल्डरले नेपालमा कार्यरत विशिष्ट शैक्षिक उपलव्धि हासिल गरेका केही चिकित्सकहरुलाई फेलो अफ रोयल कलेज अफ फिजिसियन एडिनबरा (एफआरसीपी एडिन) उपाधिले विभूषित गरेको सचिव डा काफ्लेले जानकारी दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *