वीरको निर्देशक बाट हटाइएपछि डा. सन्तोषले भने, ‘स्वास्थ्य मन्त्रीको ‘हर्कत’बाट लोकतन्त्र लजाएको छ’

मन्त्रालयका एक उच्च अधिकारीको प्रश्न : 'मन्त्रीले अधिवेशनका बेला बनाएका आफ्ना सदस्यहरुलाई पनि यसै गरी हटाउलान ?'

काठमाडौँ, १५ मंसिर । वीर अस्पतालको निर्देशकबाट हटाइएका डा सन्तोष पौडेल स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको कदमबाट क्रुद्ध भएका छन् । उनले आफूलाई राजनीतिक आस्थाका आधारमा पदबाट हटाएको भन्दै मन्त्री बस्नेतको कदमले ‘लोकतन्त्र नै लजाएको’ टिप्पणी गरेका छन् ।

आफूलाई पदबाट हटाइएको पत्र सामाजिक सञ्जाल फेसबुकमा राख्दै डा. पौडेलले आफू दुई वर्षको अवधी तोकेर नियुक्ति पाएको तर राजनीतिक आस्थाको आधारमा निर्देशकबाट हटाइएको र एक जना हाडजोर्नीको विशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानेर मन्त्रीले ‘हर्कत’ देखाएको बताएका छन् ।

उनले तत्कालीन अधिनायक राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई प्रमबाट हटाउँदा निर्वाचन गराउन नसकेको अक्षम भन्ने आरोप लगाएर हटाएको इतिहास छ भन्दै आफूलाई कुनै आधार विना नै पदबाट हटाएको उल्लेख गरेका छन् ।

उनले अगाडी भनेका छन्, ‘यो राणा शासन भन्दा कडा अधिनायकवाद हो । विधिको शासनको रट लगाएर नथाक्ने नेपाली कांग्रेस मन्त्रीको यो हर्कतबाट लोकतन्त्र लजाएको छ ।’

त्यसो त डा. पौडेललाई नेकपा एमालेमा सक्रिय भएको आरोप लागेको र निर्वाचन आयोगले समेत कार्वाही गर्न पत्र पठाएकोले मन्त्रीले निर्णय लिएको भन्ने गरेका छन् । तर निर्वाचन स्रोतका अनुसार मन्त्रालयलाई उनी पार्टीमा सक्रिय भएको र कारवाही गर्नु भनेर पत्र पठाएको छैन ।

डा. पौडेलले भने लोकतन्त्रमा हरेक व्यक्तिले दलसंग आस्था राख्न पाउने भन्दै पेशागत कार्यमा त्यो झल्किन नहुने बताएका छन् ।

‘म माथि जे आरोप लगाइएको छ, त्यो लेखेर दिनु परयो नि त । पत्रमा त केही पनि छैन त । निर्देशक नियुक्ति र पदबाट हटाउनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कानून छ नियमावली छ । अर्थात विधि छ। त्यसको प्रयोग त गर्नु परयो नि,’ उनले भने ।

हुन पनि मन्त्री बस्नेतको यो निर्णयपछि उनी राजनीतिक आस्थाका आधारमा व्यक्ति राख्ने र फाल्ने गरेको अझ् स्पष्ट भएको छ ।

दुई वर्ष अघि कांग्रेसको १४ औँ महाधिवेशनका बेला आफ्नो नेतृत्वमा बनेको स्वास्थ्य समितिका सदस्य चिकित्सकहरुलाई उनले स्वास्थ्यका महत्वपूर्ण ठाउँमा नियुक्ति दिलाएका छन् ।

‘नियम त मन्त्रीको पार्टीमा आवद्ध हुने डाक्टरलाई पनि लाग्दो हो,  त्यस्तो छ त ? उनले आफ्ना सदस्यहरुलाई स्वास्थ्यका उच्च ओहोदा र कार्याकारी भूमिकामा धमाधम नियुक्ति दिइरहेका छन् । सामाजिक सञ्जालमा त्यसबेलाको पत्र अहिले सार्वजनिक भइरहेको छ त । अब उनीहरुलाई पनि बोलाउँछन् मन्त्रालय ? खोस्छन् जिम्मेवारी ?’ मन्त्रालयकै एक अधिकारीले कटाक्ष गर्दै भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *