क्यान्सरविरुद्धको अभियानमा सक्रिय प्रधानाङ्गलाई ५ लाख जापानी येन सहितको अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ, १५ मंसिर । क्यान्सर रजिष्ट्रि, स्क्रिनिङ तथा सचेतनाको क्षेत्रमा उत्कृष्ठ कार्य गरेको भन्दै जापानको कोवायशी फाउन्डेशनले किशोरकुमार प्रधानाङ्गलाई यसवर्षको कोवायशी फाउन्डेशन अवार्ड प्रदान गरेको छ ।

एशियाली मुलुकका चिकित्सक अनुसन्धानकर्ता तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य क्षेत्रको अनुसन्धान, विकास र योगदानका आधारमा प्रत्येक दुई दुई वर्षमा यो अवार्ड दिईने गरिएको छ ।

यो अवार्डको राशी ५ लाख जापानी येन र सम्मानपत्र रहेको छ ।

विगत ४३ वर्ष देखि स्वास्थ्यका विभिन्न क्षेत्र र विधामा कार्यरत प्रधानाङ्गले २७ वर्ष वी पी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा काम गरेका छन् । सो अस्पताल स्थापनाकाल देखि नै क्यान्सर रोकथाम,नियन्त्रण र अनुसन्धान विभागमा कार्यरत उनी अवकाश लिनु अघिको १० वर्ष विभागीय प्रमुख भएर समेत काम गरेका थिए ।

अहिले उनी काठमाडौँ क्यान्सर सेन्टर ताथली भक्तपुरमा कार्यक्रम निर्देशकको रुपमा कार्यरत छन् ।

नेपालमा पहिलो पटक सन् १९९८ सालमा अस्पतालमा आधारित क्यान्सर रजिष्ट्री कार्यक्रम सुरुवात गर्दा त्यसको महत्वपूर्ण हिस्सा प्रधानाङ्ग बनेका थिए । यस्तै सन् २००४ मा विश्व स्वास्थ्य संगठनको सहयोगमा पाठेघरको मुखको क्यान्सर परीक्षण अभियान सुरु हुँदा उनको प्रत्यक्ष सम्लग्नता देखिएको थियो ।

प्रधानाङ्गले देशका ६५ बढी जिल्लामा पुगी स्थानीय सरकारसंग समन्वय गरी स्वास्थ्यकर्मीहरुलाई क्यान्सर रोकथाम र नियन्त्रण सम्वन्धी तालीम तथा समुदायमा सचेतना अभियान चलाएका छन् ।

ढाका युनिभर्सिटी बंगलादेशवाट पव्लिक हेल्थ विषयमा स्नातकोत्तर अध्ययन् पुरा गरेका प्रधानाङ्गले अमेरिकाको नेशनल इन्सिच्युट अफ हेल्थवाट क्यान्सर रोकथाम विषयमा डिप्लोमा अध्ययनका साथै गोरखुपर भारतवाट डक्टर अफ नेचुरोप्याथीको डिग्री हासिल प्राप्त गरेका छन् ।

उनी नेपाल एनसीडी एलायन्सका महासचिव समेत हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *