सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसुमाथि कुटपिट

काठमाडौँ, १३ मंसिर । अस्पतालमा उपचाररत सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् ।

कुटपिटबाट गम्भीर घाइते डा. बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको छ ।

मङ्गलवार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

बिरामीको मृत्युपछि भएको विवाद समाधान गर्न बसेको समयमा मेसुमाथि आक्रोशित बिरामीका आफन्तले हातपात गरेका हुन् ।

अस्पताल श्रोतका अनुसार मृतकका आफन्तले मृत्युको विषयमा छानबिन गर्ने भन्दा पनि सुरु देखि नै ५० लाख रुपैयाँ क्षतिपूर्ति रकम मागेपछि स्थिति असहज बन्दै गएको अस्पताल श्रोतले बताएको छ ।

छलफलकै क्रममा बिरामीका आफन्तले चिकित्सकहरू माथि कार्यालयकै कुर्ची टेबलका खुट्टा भाँचेर टाउको र छातीमा प्रहार गरेको अस्पताल श्रोतले बताएको छ ।

अस्पताल प्रशासनसँग सहमति भई मृतकको शव आफन्तले शव बहनामा राखेर निस्कने तयारी भई सकेपछि केही उत्तेजक समूहको भिड पसेर मेसु बस्यालमाथि आक्रमण गरेको एक चिकित्सकले बताए । अहिले मृतक महिलाको शव अस्पताल परिसरमै शव बहनामा राखिएको छ ।

मृतकका आफन्तहरूको आक्रमणमा अस्पतालको प्रशासनिक भवनका झ्याल ढोका लगायतका फर्निचरहरू तोडफोड भएको छ। अस्पताल अहिले प्रहरीको सुरक्षामा रहेको र कुनै पनि नयाँ बिरामीहरूको भर्ना गरिएको छैन ।

राती २ बजेबाट अस्पताल आउने बिरामीहरू अस्पतालको गेटबाटै फर्काइएको छ भने अहिले अस्पतालका भर्ना भएर उपचाररत बिरामीहरू हेर्नेबाहेक सबै काम ठप्प रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।

लुम्बिनी चिकित्सक संघका सचिव डाक्टर सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सकमाथि हातपात हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसँग आफूहरू उपचार रोकेर विरोध गर्ने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *