चिकित्सा शिक्षा आयोगमा रिक्त चार निर्देशकका लागि पाँच गुणा बढी आवेदन

काठमाडौँ, ११ मंसिर ।  चिकित्सा शिक्षा आयोगमा रिक्त चार निर्देशक पदका लागि २० जनाको आवेदन परेको छ ।

गत ४ मंसिर देखि आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजमा निर्देशक पद खाली छ ।

निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिले गत ५ मंसिरमा एक साताको अवधी तोकेर योग्यता पुगेका ईच्छुक व्यक्तिलाई आवेदन गर्न भनेको थियो । तोकिएको अवधी आज अपरान्ह सकिदा २० जनाको आवेदन परेको समितिका सदस्य सचिव लक्ष्मीबहादुर खड्काले बताए ।

उनले आवेदन परेको २० जना योग्यता पुगेको हो कि होईन् त्यो पहिले रुजु गरिसकेपछि अन्तिम नामावली प्रकाशित हुने बताए । अहिले त कोरा विवरण मात्रै हो । ‘२० जनाको आवेदन परेको छ । तर परेका आवेदनहरु हाम्रो मापदण्ड अनुसारको छ कि छैन् । मापदण्ड पुगेकाहरुको मात्रै प्रतिस्पर्धामा भाग लिन दिईन्छ,’खड्काले भने । उनले समितिले भोली देखि नै त्यसमा काम गर्ने समेत बताए । त्यसपछि मात्रै नाम सार्वजनिक गर्ने जानकारी दिए ।

यता स्रोतले भने आवेदन गरेका केहीको नाम उपलव्ध गराएको छ । आवेदन दिनेहरुमा डा वाईपी सिंह, डा सुजनबाबु मरहठ्ठा, डा शैल रुपाखेती रहेका छन् । यस्तै डा सुदीप आचार्य, डा बन्दना गुरुङ, डा सुरज बज्राचार्य र नारायण विक्रम थापाले पनि निर्देशक पदका लागि आवेदन दिएको बताइएको छ ।

यस्तै डा दिनेश लम्साल, डा गुरु खनाल, डा सरला केसी, डा कृष्णसागर शर्मा, डा स्वयंप्रकाश पण्डितले पनि निर्देशक पदका लागि आवेदन दिएका छन् । यसैगरी डा नागेन्द्र चौधरी, डा बिजय आचार्य, डा पशुपति चौधरी डा नीलमणि उपाध्याय र डा अजित खनालले पनि आवेदन दिएका छन् । अरु आवेदकको भने नाम प्राप्त हुन सकेन ।

समितिले आवेदनका आधारमा उपयुक्त उम्मेदवारलाई विभिन्न १० वटा बुँदामा आवश्यक कागजपत्र ७ दिनभित्र दरखास्त हाल्न भनेको थियो।

समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहेका छन् । सदस्यहरुमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा रहेका छन् ।

उनीहरुले काम सुरु गरेको १५ दिन भित्र निर्देशक पदमा नियुक्तिका लागि उपाध्यक्ष समक्ष नाम सिफारिस गर्नुपर्नेछ । निर्देशकको पदावधी ४ बर्षको हुनेछ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *