वेलायत जानका लागि आवेदन दिएका मध्ये ७१ जना नर्सलाई अन्तर्वार्तामा बोलाईयो (सूची सहित)

काठमाडौँ, ११ मंसिर ।  नेपाली नर्सलाई रोजगारीको लागि बेलायत पठाउने प्रक्रियाले गति लिएको छ । बैदेशिक रोजगार विभागले आवेदन दिएका मध्येबाट आइतबार प्रक्रिया पुरा गरेका ७१ जना नर्सको सूची प्रकाशित गरी अन्तर्वार्ताका लागि बोलाएको छ ।

विभागका निर्देशक गोपालराज तिमिल्सिनाले जारी गरेको सूचना अनुसार ७१ जनाको अन्तर्वार्ता अंग्रेजी क्यालेन्डर अनुसार यही डिसेम्बर ४ देखि ७ तारिखसम्म हुने छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको थियो। जसमध्ये ७१ जना मात्र अन्तर्वार्ताका लागि छनोट भएका छन्।

नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउने प्रक्रिया अगाडि बढाएको थियो।

न्युनतम पिसिएल नर्सिङ अध्ययन पुरा गरेकादेखि नर्सिङमा स्नातक तथा स्नातकोत्तर तह अध्ययन गरेका सबैले आवेदन दिएका थिए।

बेलायत जान आवेदन दिने नर्सले आईईएलटीएसमा भने न्यूनतम ७ अंक ल्याएको र २ वर्षको कार्यअनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ। कुनै आपराधिक रेकर्ड नभएको, बेलायत प्रवेशमा रोक लगाइएको व्यक्ति नहुनुपर्ने र कुनै शारीरिक तथा मानसिक समस्या नभएको व्यक्ति हुनु पर्नेछ।
रोजगारीका लागि छनौट भएर बेलायत पुगेका नर्सहरुले फेरि त्यहाँको नर्सिङ काउन्सिलको परीक्षा पनि दिनुपर्नेछ।

गभर्मेन्ट टु गभर्मेन्ट प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउन लागिएकाले यसरी जाने नर्सहरुले बेलायत सरकारले खटाएको स्थानमा काम गर्नुपर्नेछ।

यसरी रोजगारीका लागि जाने नर्सहरुले ५ वर्ष मात्र काम गर्न पाउने छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *