सन्दर्भ : विश्व मस्तिष्क घात दिवस

मस्तिष्कघात समस्या के कारणले हुन्छ ? यसबाट जोगिनका लागि कसरी सावधानी अपनाउने ?

मस्तिष्कघात अर्थात् स्ट्रोक रक्त प्रवाहमा अवरोध भएपछि हुने समस्या हो । मस्तिष्कको कुनै पनि भागमा रक्तनली बन्द भएर वा रक्तनली फुट्नाले स्ट्रोक हुने गर्दछ ।

यो अवस्था केही मिनेटसम्म रहिरहेमा मस्तिष्कका कोशिकाहरु मर्छन र समयमै उपचार नपाएको खण्डमा बिरामीको ज्यान समेत जान सक्दछ ।

मस्तिष्कघात भएका धेरै जसो बिरामीलाई पक्षघात पनि हुने हुँदा यस रोगलाई पक्षघात, लकुवा अथवा प्यारालाइसिस जस्ता नामले पनि सम्बोधन गर्ने गरिन्छ।

पक्षघात भएको ४-५ घन्टाभित्र उपचार गर्न सकेमा मात्रै बिरामीको ज्यान जोगिन सक्छ साथै स्ट्रोकको जटिलताबाट पनि बचाउन सकिन्छ।

त्यसैले पक्षघातको कुनै पनि लक्षण देखिएमा बिरामीलाई छिटोभन्दा छिटो अस्पताल पुर्‍याई उपचार सुरु गर्नुपर्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विशवभर हरेक वर्ष करिब एक करोड पचास लाख मानिसहरू यसबाट ग्रसित हुने गर्दछन् ।

त्यसमध्ये ५० लाख मानिसले ज्यान गुमाइरहेका हुन्छन् भने पचास लाख मानिसहरु शारीरिक रुपले अशक्त बन्न पुग्दछन् ।

हरेक ४ जना मध्ये १ जनालाई आफ्नो जीवन अवधिमा मस्तिष्कघात देखा पर्दछ ।

वर्षेनी यो समस्या बढ्दै गइरहेकाले हाल यो रोग विशवभर मृत्युको दोस्रो ठूलो कारण बन्न पुगेको छ।

पक्षघातको प्रकार :

पक्षघात दुई प्रकारको हुन्छ।

पहिलो,  ‘स्केमिक स्ट्रोक’ जहाँ मस्तिष्कमा भएका रक्तनलीहरुमा अन्य कुराहरु जस्तै बोसो (कोलेस्टेरोल), रगतको चोक्टा गएर जम्मा भइ रक्तनली बन्द गरिदिन्छ। यसले गर्दा मस्तिष्कमा भएका तन्तुहरु मर्न जान्छन् अनि काम गर्न छाड्छन् र त्यसै अनुसार लक्षणहरु देखा पर्दछ।

दोस्रो,  ‘हेमोरेजिक स्ट्रोक’ जहाँ रक्तनली उच्च रक्तचापले गर्दा फुट्छ । प्राय उच्च रक्तचाप भएका व्यक्तिहरुले चिकित्सकको परामर्श अनुसार औषधि सेवन नगरेमा हेमोरेजिक स्ट्रोक हुन्छ।

पक्षघातका बिरामीमध्ये ८० प्रतिशतलाई ‘स्केमिक स्ट्रोक’ हुने गर्दछ भने बांकी २० प्रतिशतलाई हेमोरेजिक स्ट्रोक हुने गरेको छ।

पक्षघातको शल्यक्रिया पश्चात पनि बिरामीले पुरानै अवस्थाको जीवन बाँच्न नसक्ने भएकाले हृदयघात भन्दा पक्षघातलाई अझै बढी जटिल समस्याका रुपमा लिइन्छ।

मस्तिष्कघातका प्रमुख लक्ष्णहरु के के हुन ?

समयमै उपचार नभए ज्यान नै जाने भएकाले मस्तिष्कघात हुन लागेको वा भएको बिरामीलाई लक्षण देखिनासाथ छिटै अस्पताल पुर्‍याउन अत्यन्तै जरुरी छ । जसका लागि मस्तिष्कघातका लक्षण, कारण र बच्ने उपाय थाहा पाउन अत्यावश्यक रहन्छ।

मस्तिष्कघातका प्रमुख लक्ष्णहरु:

BE FAST

B- Balance loss ( शारीरिक सन्तुलन गुमाउनु)

E- Eyes vision loss ( आँखा धमिलो हुनु वा ज्योती गुमाउनु)

F- Face Unevenness ( अनुहार बाँगो हुनु )

A- Arm weakness ( शरीरको एक भाग झम्झमाउनु वा दुख्नु)

S- Speech slurred ( बोली लर्बराउनु वा बोल्न नसक्नु)

T- Timely Intervention ( समयमै उपचार गराउनु)

यी लक्ष्णहरु मध्ये कुनै एक लक्ष्ण अचानक देखिएमा तुरुन्तै अस्पताल लगेर उपचार गर्नुपर्छ। समयमै उपचार भएमा बिरामीलाई प्यारालाइसिस हुन बाट र अन्य समस्याबाट बचाउन सकिन्छ।

यी लक्ष्णहरु मध्ये कुनै एक लक्ष्ण अचानक देखिएमा तुरुन्तै अस्पताल लगेर उपचार गर्नुपर्छ। समयमै उपचार भएमा बिरामीलाई प्यारालाइसिस हुन बाट र अन्य समस्याबाट बचाउन सकिन्छ।

मस्तिष्कघातका प्रमुख कारणहरु:

  • निष्क्रिय जीवनशौली , व्यस्त जिन्दगी , मानसिक तनाब, चिन्ता, धुम्रपान, लागुपदार्थ सेवन र मदिरापान आदिलाई प्रमुख कारण मानिन्छ,

  • त्यस्तै मधुमेह, मोटोपन , मुटुरोग , उच्च रक्तचाप, कोलेस्ट्रोलको मात्रा अत्याधिक बढी भएका व्यक्तिहरुमा पक्षघातको जोखिम बढी हुने गर्दछ,

  • उमेर बढ्दै जाँदा उच्च रक्तचाप, मस्तिष्कघात र अन्य रोगको जोखिम बढ्दै जान्छ ,

  • महिलामा भन्दा पुरुषमा पक्षघातको बढी जोखिम देखिन्छ,

  • परिवारमा एक जनालाई पक्षघातको समस्या भएमा अन्य सदस्यलाई पनि पक्षघात हुने सम्भावना रहन्छ।

  • टाइप ‘ए’ व्यक्तिहरूमा ( धेरै जोखिम लिइ उच्च उपलब्धि हासिल गर्ने स्वभावका व्यक्तिहरु)

  • मुटु तथा रक्तनली सम्बन्धी समस्या जस्तै एथेरोस्केलेरेसिस्, डिपभेन थ्रोम्बोसिस् र एन्युरिजम भएका मानिसहरुमा मस्तिष्कघातको जोखिम धेरै हुन्छ।

मस्तिष्कघातबाट बच्ने उपायहरु :

  • दैनिक रुपमा शारीरिक व्यायाम तथा कसरत गर्ने , तौल नियन्त्रणमा राख्ने। तर असाध्यै जोखिममा परेका व्यक्तिले कठिन कसरत गर्नुहुँदैन,
  • धुम्रपान, सुर्तीजन्य पदार्थ , जाँड रक्सीको सेवन नगर्ने,
  • स्वस्थ जीवन जिउने, स्वस्थकर खाना खाने, धेरै गुलियो , नुनिलो, चिल्लो खाना कम गर्ने , साग सब्जी, सलाद फलफुलहरुमा प्राथमिकता दिने ,
  • धेरै चिन्ता र तनाव नलिने, दैनिक रुपमा धयान गर्ने , योगा गर्ने ,
  • ४० वर्ष उमेर कटेका व्यक्तिहरूले समयसमयमा स्वास्थ्य परीक्षण गराउने,

चिसोबाट जोगिने। चिसोले रक्तनलीलाई साँघुरो बनाएर रक्तचाप बढाई मस्तिष्कघात समस्या निम्त्याउन सक्छ।

माथी उल्लिखित कुनै पनि लक्षणहरु अचानक देखिएमा बिरामीलाई जतिसक्दो चाडो अस्पताल पुर्‍याई समयमै उपचार गराउनु पर्दछ।

स्वस्थकर खानपान र दैनिक रुपमा शारीरिक व्यायाम गर्नाले मस्तिष्कघात, हृदयघात जस्ता रोगबाट आफुलाई र आफ्नो परिवारलाई बचाउन सकिन्छ ।

अहिले २०२३ अक्टोवर २९ विश्व मस्तिष्कघात दिवसको नारा ‘टुगेदर वी आर :  ग्रेटर देन स्ट्रेक’ रहेको छ अर्थात सम्पूर्ण मानिसहरु एकजुट भई मस्तिष्कघात बारेमा जनचेतना फैलाउने र आफ्नो जीवनशैलीलाई राम्रो राखेमा मस्तिष्कघात माथी विजय पाउन सकिन्छ ।

 

#भण्डारी एमबीबीएस चौथो बर्षका विद्यार्थी हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *