देशले राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाएको दिन ‘स्वास्थ्य मन्त्रीहरु’ भने नाचगानमा रमाए

456
Shares

काठमाडौँ, २३ असोज । इजारयलमा १० जना नेपालीको मृत्यु भएको शोकमा सरकारले आजको दिनलाई राष्ट्रिय शोकको घोषणा गरेको थियो । तर, राष्ट्रिय शोक कै दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा भएको एक औपचारिक कार्यक्रममा नाचगान सहित रमाइलो गरिएको छ ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल थिए । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत विशिष्ठ अतिथि थिए । सोही कार्यक्रममा नाचगान भएको हो ।

यद्धपी, आयोजकले औपचारिक कार्यक्रम सकेपछि नाचगानको कार्यक्रम राखेका थिए ।

हुटिङ र होहल्लाका साथ सुरु भएको नाचगानलाई स्वास्थ्य मन्त्री बस्नेत सहित मन्त्रालयका विशिष्ठ अधिकारीहरु, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रीहरुले ताली बजाएर ‘सपोर्ट’ गरेका थिए । मन्त्री र उच्च सरकारी अधिकारीहरुको उपस्थिति र निर्देशनमा चलेको यो रमाइलोले कार्यक्रमको गरिमालाई नै ठेस पुर्‍याएको कर्मचारीहरु बताउँछन् ।

‘यो कार्यक्रम पूर्वनिर्धारित थियो । नाचगानको तालिका राखिएको थियो । तर बीचमा आकस्मिक घटना घट्यो र देशले आकस्मिक रुपमा निर्णय गरेर राष्ट्रिय शोक मनाउने निर्णय गर्‍यो, यस्तो भएपछि गाना बजानाको कार्यक्रम क्यान्सिल गर्नु पर्दथ्यो । तर गरिएन । भन्न त औपचारिक कार्यक्रम होइन अनौपचारिक भनिएला, तर उदघोषक एउटै थिए । उनले पहिले देखि नै नाचगानको कार्यक्रम छ भनि रहेका थिए । यो चाहि बास्तवमै राम्रो भएन,’ मन्त्रालयकै एक उच्च अधिकारीले टिप्पणी गरे ।

‘ शोक दिवसको दिन सरकारले औपचारिक कार्यक्रम नै गर्नु हुनि थिएन । तर यहि कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरे । शोकको घडीमा यस्तो पनि सुहाउँदो होइन थियो । तर खोइ के ? मन्त्रालयमा झण्डा झुकाएर आएर दिप प्रज्वलन र नाचगान भयो,’ ती कर्मचारीले गुनासो गरे ।

त्यसो त हिजो राष्ट्रिय शोक घोषणा गरेपछि औपचारिक कार्यक्रम गर्ने कि नगर्ने भन्नेमा मन्त्रालयमा छलफल समेत भएको थियो । कतिपय अधिकारीहरुले नगर्दा राम्रो हुन्छ भनेका पनि थिए । तर मन्त्रीले प्रधानमन्त्री प्रचण्ड आउने ‘कन्फर्म’ भएको भन्दै यसलाई निरन्तरता दिने निर्णय गरे ।

‘मन्त्रीमा केही नयाँ गरौँ भन्ने हुटहुटी त देखिन्छ । तर ढंग पुर्‍याउँन जान्दैनन् । अरुले भनेको पनि हतपत मान्दैनन् । म जत्तिको जान्ने कोही छैन भन्ने घमण्ड पनि देखिन्छ । त्यसैले स साना कुरामा विवादमा आईरहन्छन्,’ मन्त्रालयका अर्का कर्मचारीको टिप्पणी थियो ।

उनले आज विश्व मानसिक स्वास्थ्य दिवसकै व्यानरमा सेतो कोट दिवस पनि मनाउने निर्णय गराएका थिए ।

यहि अवसरमा स्वास्थ्य क्षेत्रमा विशिष्ठ योगदान पुरयाएको भन्दै केही स्वास्थ्यकर्मी, केही स्वास्थ्य संस्था र जनप्रतिनिधिहरुलाई पुरस्कृत तथा सम्मान समेत गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *