शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामा २८ जनाको प्रत्यारोपण

भक्तपुर ११ असोज । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पछिल्लो एक महिनामा २८ जना बिरामीमा अंग प्रत्यारोपण गरेको छ । केन्द्रले गत भदौ महिनामा २७ जनाको मिर्गौला र एक जनामा कलेजो प्रत्यारोपण गरेको जनाएको छ । केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले सबै प्रत्यारोपण सफल भएको बताए ।

त्यसो त प्रत्यारोपण केन्द्र नेपालमै सबैभन्दा बढी अंग प्रत्यारोपण गराउने केन्द्रको रुपमा दहरिएको छ । स्थापनाको ११ वर्ष अवधिमा यस केन्द्रमा १ हजार १२७ जनाको मिर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भएको छ ।

स्थापनाको एक दशक पुरा गरेको प्रत्यारोपण केन्द्र नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने अस्पतालको रुपमा रहेको छ । कार्यकारी निर्देशक डा श्रेष्ठका अनुसार केन्द्रमा विसं २०७३ मंसिर २२ गते कलेजो प्रत्यारोपण भएको थियो ।

यस्तै सो केन्द्र मस्तिष्क मृत्यु भएकाबाट अंग झिकी प्रत्यारोपण गराउने पहिलो अस्पतालको रुपमा समेत चिनिएको छ । विसं २०७४ बैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गरिएको थियो । हालसम्म पाँच जना मष्तिष्क मृत्यु भएका व्यक्तिबाट १० जनाको मृर्गौला र ३ जनाको कलेजो प्रत्याारोपण गरेको छ । यस्तै परिवारको सदस्यको ग्रुप नमिलेका बिरामीहरुलाई आपसी साटासाट पियर एक्सचेन्ज)बाट प्रत्यारोपण गर्ने मौका दिइएको छ ।

हाल सम्म ४६ जोडीको पियर एक्सचेन्ज विधिबाट मिर्गौला प्रत्यारोपण भएको निर्देशक डा श्रेष्ठले बताए ।

त्यसो त प्रत्यारोपण केन्द्रले संस्थाको आफ्नै भवन नभएको अवस्थामा पनि सबै भन्दा धेरै कलेजो र मृर्गौला प्रत्यारोपण गर्नका साथै अंगदान सम्बन्धी व्यापक प्रचार प्रशार गरेको तथा देश भरी प्रत्यारोपण र डायलाइसिस सेवा विस्तार गर्न प्रयासरत रहेको छ ।

गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र साथै कर्णाली प्रदेश को सुर्खेत प्रादेशीक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *