डा. ओम मूर्ति अनिलद्धारा लिखित पुस्तक ‘जीवन्त सम्वन्ध’ लोकार्पण
काठमाडौँ, ५ असोज । बरिष्ठ मुटुरोेग विशेषज्ञ डा. ओममूर्ति अनिलद्धारा लिखित जीवन्त सम्वन्ध पुस्तक लोकार्पण भएको छ । राजधानीमा शुक्रबार भएको विशेष समारोहकाबीच लेखक डा ओममूर्तिकी आमा राजकुमारी देवी सिंहले पुस्तकको लोकार्पण गरेकी हुन् ।
संस्मरण विधाको सो पुस्तक २४० पृष्ठको छ भने त्यसभित्र ५३ वटा जीवन उपयोगी खण्ड रहेको छ ।
कार्यक्रममा लेखक डा. ओममूर्तिले जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको बताए ।
पुस्तकको लोकार्पण लेखकी आमाले गरेपनि प्रमुख अतिथि बरिष्ठ कलाकारद्धय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य थिए ।
आईओएमका पूर्वडिन प्राडा जगदीश प्रसाद अग्रवालद्वारा लेखकको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारेका थिए । यस्तै डा रविन्द्र समिरले पुस्तकमाथि समिक्षा गरेका थिए ।
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला, पूर्वराजदूत प्रा.डा. विश्वम्भर प्याकुरेल लगायतकले भिडियोमार्फत् शुभाकामना सन्देश दिएका थिए ।
डा रविन्द्र समिरले पुस्तकमा सम्बन्धहरूको गहिराईलाई केलाइएको, व्यक्तिको कर्तव्य, सोच र दायित्यलगायतका विषयमाथि केन्द्रित भएको, मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने र सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिने कुरा रहेको बताए ।
कलाकारद्धय महजोडीले पुस्तकबाट एक बरिष्ठ डाक्टरको रुपमा परिचित डाक्टर सफल लेखक तथा साहित्यकारको भूमिकामा देखिएको बताए । उनीहरुले यो पुस्तकले जीबन र सम्वन्धको बारेमा सरल ढंगले शिक्षा दिएको बताए ।
डा ओम मूर्तिले पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असाहय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत् खर्च गरिने बताए ।
पुस्तकको मूल्य ६ सय रुपैयाँ राखिएको छ । विशेष प्रकाशनको मूल्य १ हजार रुपैयाँ (हार्ड कभरसहित लेखकको हस्ताक्षर तथा गिफ्ट ब्याग) सहितको भएको कार्यक्रममा जानकारी दिईयो ।