डेंगुका सङ्क्रमित निरन्तर बढ्दै

56
Shares

मकवानपुर, २६ भदौ । हेटौँडा उपमहनगरपालिकासहित मकवानपुर जिल्लामा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साउन एक गतेदेखि हालसम्म डेङ्गुबाट सङक्रमितको सङ्ख्या चार सय २१ पुगेको छ ।

उक्त कार्यालयका अनुसार जिल्लामा हालसम्म सबैभन्दा बढी सङ्क्रमित हेटौँडा उपमहानगरपालिकामा रहेको र त्यहाँ अहिलेसम्म तीन सय २९ जनामा डेङ्गु फेला परेको छ ।

त्यसैगरी थाहा नगरपालिकामा एक, मकवानपुरगढी गाउँपालिकामा ११, बागमती गाउँपालिकामा २०, मनहरि गाउँपालिकामा ३३, इन्द्रसरोवर गाउँपालिकामा दुई, भीमफेदी गाउँपालिकामा दस, वकैया गाउँपालिकामा १४ तथा विकट एवम् दुर्गम राक्सिरागङ गाउँपालिकामा एकजना डेङ्गु सङ्क्रमित फेला परेको छ ।

उक्त कार्यालयको विवरणअनुसार सो अवधिमा जिल्लामा एक पुरुषको डेङ्गुबाट मृत्यु भएको थियो । जिल्लामा सोमबारसम्म थप १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेकामा हेटौँडा उपमहानगरपालिकामा छ, मकवानपुरगढी गाउँपालिकामा एक, मनहरि गाउँपालिकामा दुई जनाका साथै यहाँ बस्दै आएका अन्य जिल्लाका तीन जनामा पनि सङ्क्रमण फेला परेको थियो

जिल्लामा दैनिक सरदर दसभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित भइरहेका अनुमान उक्त कार्यालयले गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *