किओच परियोजनाका लागि आनी छोईङ डोल्मा फाउन्डेशनको १ करोड ८० लाख रुपैयाँ सहयोग

काठमाडौँ, २५ भदौ । बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला नेतृत्वमा बन्दै गरेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)का लागि गायिका आनी छोइङ डोल्माले १ करोड ८० लाख रुपैयाँ सहयोग गरेकी छन् ।

उनले आफ्नो नाममा स्थापित संस्था आनी छोइङ डोल्मा फाउन्डेशनको नामबाट सो रकम किओचलाई हस्तान्तरण गरेकी हुन् ।

सोमबार काठमाडौँमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा आनीले आफ्ना सांगितिक गुरु एवं कवि दुर्गालाल श्रेष्ठको हातबाट प्राडा कोइरालालाई चेक हस्तान्तरण गरिन् ।

‘मैले संगीतबाट जुन उपलब्धि हासिल गरें, त्यो हजुरहरुकै कारणले हो । म यो उपलब्धिलाई तपाईंहरुसामु बाँड्न चाहन्छु,’ कार्यक्रममा बोल्दै आनीले भनिन्, ‘सत्कर्म गर्न सके धर्म मिल्छ भन्ने मलाई लाग्छ ।’

सो अबसरमा उनले आफूलाई चिनियाँ दिदी लिवईले केही वर्ष अघि उपहारमा दिएको मर्सिडिज गाडी बिक्री गरेर आएको रकम बाल अस्पताल निर्माणका लागि सहयोग गरेको बताईन् ।

कार्यक्रममा डा. कोइरालाले नेपालमा बाल स्वास्थ्यको अवस्थाबारे प्रकाश पारेका थिए । एक हजार बालबालिका जन्मिदा उपचार नपाएर ३३ जनाको मृत्यु हुने तथ्यांक कोइरालाले पेश गरे । ‘ती सबै मृत्यु रोक्न सकिने खालका थिए,’ उनले भने, ‘सोही अनुसार अब संस्थामार्फत सबै प्रदेशमा भौतिक संरचनासहितको स्याटेलाइट बाल अस्पताल सञ्चालन गर्ने लक्ष्य छ ।’

उनले आनीले दिएको रकम काठमाडौँमा बन्दै गरेको मेडिकल भवनमा खर्च हुने बताए । उनले सो भवनलाई फाउण्डेशनको नाम दिईने बताए ।


काठमाडौँमा २०० बेड र प्रदेशमा १०० बेडको बाल अस्पताल बनाउने योजना सहित अघि बढेको यो परियोजनामा स्वदेश तथा विदेश, सरकारी तथा निजी र व्यक्तिगत सहयोग हुने क्रम जारी रहेको छ ।

अहिले यो परियोजनाले झापाको दमकमा अस्पताल सञ्चालनमा ल्याइसकेको र तीन चार महिना भित्र काठमाडौँमा पनि ओपिडी सुरु गर्ने लक्ष्य रहेको डा कोइरालाले बताए ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *