प्राडा भगवान कोइराला ‘भिजिटिङ प्रोफेसर’को रुपमा न्याम्समा आवद्ध, वीरबाट उपचार सेवा दिने

काठमाडौँ, २३ भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) बाट अवकाश पाएका बरिष्ठ मुटु शल्य चिकित्सक प्राडा भगवान कोइराला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आवद्ध भएका छन् ।
अब उनी न्याम्समा भिजिटिङ प्रोफेसरको रुपमा एकेडेमिक (शैक्षिक) कार्यक्रममा सहभागी हुनेछन् भने वीर अस्पतालबाट मुटु उपचार सेवा प्रदान गर्नेछन् ।
‘गत हप्ता देखि नै म न्याम्समा आवद्ध भएको छु । वीर अस्पतालमा मुटुको एउटा जटिल शल्यक्रियामा पनि सहभागी भएँ । अब विस्तारै ओपिडी र शल्यक्रियालाई नियमित गर्छु होला,’ उनले भने ।
त्रिवि आईओएम अन्तर्गतका विभिन्न अस्पतालमा गरी २८ वर्ष फ्याकल्टीको रुपमा काम गरेका कोइराला पछिल्लो समय मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्प्लान्ट सेन्टरबाट सेवा दिएका थिए । उमेर हदका कारण उनी सोही संस्थाबाट गत ९ साउनमा अवकाश पाएका थिए ।
‘आम नागरिकको मुटु उपचारका लागि मैले अहिलेसम्म मनमोहनबाट सेवा दिईरहेका थिएँ । तत्काललाई मैले त्यो सेवा न्याम्स अन्तगर्तको वीरबाट दिने योजना बनाएको छु । म त्यहाँ शैक्षिक कार्यक्रममा पनि सहभागी हुने हो । वीरमा दुई दिन ओपिडी र दुई दिन शल्यक्रिया गर्ने कि भन्ने योजना छ । तर अन्तिम निर्णय भइसकेको छैन,’ उनले भने ।
वीरका निर्देशक डा सन्तोष पौडेलले पनि प्राडा कोइराला न्याम्सको शैक्षिक कार्यक्रम र वीरको उपचार सेवालाई थप मद्धत गर्ने गरी आवद्ध भएको बताए । उनले यसबाट न्याम्सको शैक्षिक कार्यक्रम, वीरको मुटु विभागलाई पनि मद्धत मिल्ने र आम जनतालाई प्रत्यक्ष फाइदा हुने बताए ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका प्राडा कोइराला, पछिल्लो समय गैर नाफामुलक रुपमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) परियोजना सञ्चालन गर्ने योजनामा लागेका छन् ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

