कैलालीमा हैजाका बिरामी फेला

44
Shares

कैलाली, १३ भदौ । कैलालीको गौरीगङ्गा नगरपालिका–११ मसुरिया गाउँकी एक महिलामा हैजाको जीवाणु फेला परेको छ। सेती प्रादेशिक अस्पताल धनगढीमा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा हैजाको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सूचना अधिकारी तेजविक्रम शाहीले बताए ।

बिरामी ३४ वर्षीया महिलालाई उपचारार्थ धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको शाहीले बताए। दूषित खानेपानी र खानाले यो हैजा फैलिने गर्छ। कलेरा नामको जीवाणुले मान्छेमा यो रोगको सङ्क्रमण गराउँछ ।

हैजा भएमा तारन्तार बान्ता हुने र झाडापखाला लाग्ने भई बिरामीको समयमै उपचार हुन नसकेमा जलवियोजन भई मृत्यु हुनसक्छ। बिरामी महिलाको स्वास्थ्य अवस्थामा सुधार भएकाले रोग अन्य व्यक्तिमा सङ्क्रमण हुने जोखिम नरहेको बताइएको छ ।

शाहीले भने, “अरु व्यक्तिलाई सङ्क्रमण भएको छैन, सङ्क्रमण हुनसक्ने अवधि पनि गुज्रिसकेकाले डराउनुपर्ने अवस्था छैन।” बिरामी महिला केही दिनअघि भारतबाट फर्किएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *