डेंगु संक्रमितको संख्या १९ हजार नाघ्यो

काठमाडौँ, १० भदौ । पछिल्लो केही महिनायता देशभर डेंगु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । नेपालमा गत जनवरीयता अगस्ट २५ सम्म अर्थात पछिल्लो आठ महिनाको अवधिमा १९ हजार २७० जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार पछिल्लो आठ महिनाको अवधिमा १९ हजार २७० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १३ जनाको मृत्यु भएको छ ।
सबैभन्दा धेरै कोसी प्रदेशमा १४ हजार ३६९ जना संक्रमित भएका छन् । कर्णालीबाहेक सबै प्रदेशमा संक्रमितको संख्या १५० भन्दा माथि छ ।
त्यस्तै, वाग्मती प्रदेशमा २ हजार ९९९ जना संक्रमित भएका छन् । मधेसमा १८४, गण्डकीमा ६३५, लुम्बिनीमा ३४५, कर्णालीमा ४१ र सुदूरपश्चिम प्रदेशमा ५४० जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
वाग्मती प्रदेशको काठमाडौँ उपत्यकाका तीन जिल्ला र धादिङमा डेंगु संक्रमण निरन्तर बढिरहेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा ६९६ जना संक्रमित रहेका छन् । धादिङ जिल्लामा डेंगु संक्रमितको संख्या २ हजार ५ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

