कस्तो रोग हो मंकीपक्स ? कसरी सर्छ ? लक्षणहरु के के हुन् ?


विश्वभरमा फैलिएको मंकीपक्सको (Monkeypox) संक्रमण नेपालमा पनि पहिलोपटक एक ६० बर्षीया विदेशी महिलामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्बजनिक गरेको छ ।

यस रोगको हालसालैको प्रकोप करिब एक बर्ष अघि बेलायतको लण्डनमा फेला परेको थियो । त्यसयता हालसम्ममा यो रोगको संक्रमण ११० भन्दा बढी मुलुकहरुमा देखिएको छ जसमा ८७ हजार भन्दा बढी संक्रमित भएका छन भने ११२ को मृत्यु भइसकेको छ ।

यस रोगको संक्रमण दर घटाउन विश्व स्वास्थ्य संगठनले सबै देशलाई उचित उपाय अपनाउन आह्वान गरेको छ । त्यस्तै नेपालमा संक्रमण फेला परेपछि नेपाल सरकारले पनि आकस्मिक उपायहरु अपनाउन थालेको छ ।

यस रोगसंग लडनका निमित्त नेपालभर विभिन्न अस्पतालहरुमा यस रोगको उपचारका लागि डाक्टहरु परिचालन गरिएको छ । त्यसैगरि लक्षणहरुको बारेमा सल्लाहसुझाव लिनका लागि सर्बसाधारणका लागि हटलाइन नम्बरहरु १११५ र ११३३ निर्धारण गरिएको छ ।

के हो मंकीपक्स ?
मंकीपक्स (Monkeypox) अथवा एमपक्स (Mpox) एक भाइरल रोग हो जुन मंकीपक्स भाइरस (Monkeypox Virus) ले गर्दा मावनजाति तथा केहि अरु प्राणिमा लाग्ने गर्दछ । यस भाइरसका दुई प्रजाति छन । क्लेड १ (Clade -I) र क्लेड २ (Clade -II) ।

यो भाइरस बिफर(Smallpox) गराउने भाइरससंग मिल्दोजुल्दो हुन्छ । यस भाइरस सन १९५८ मा बाँदरमा फेला परेको थियो भने मानिसमा पहिलोपटक १९७० मा संक्रमण भेटिएको थियो ।

सन १९८० मा बिफर (Smallpox) उल्मुलन भएर खोप लगाउन बन्द भएपछि अफ्रिकामा बिस्तारै मंकीपक्स देखा पर्न थालेको थियो ।

अफ्रिकाका साना स्तनधारि जनावर जस्तै बाँदर,मुसा, लोखर्केमा यो भाइरस भेटिएको उल्लेख छ ।

सन २००३ मा अमेरिकामा निर्यात गरिएको जंगली जनावरहरुबाट संक्रमणहरु फैलिएको थियो । त्यसयता बर्षेनी प्रजातान्त्रिक गणतन्त्र कंगो मा कैयौं संक्रमणहरु भेटिने गरेको छ । सन २०२२ को मेइमा यूरोपबाट सूरु भएको यो माहामारी अमेरिका तथा अन्य विभिन्न मुलुकहरुमा फैलिएको छ जसको यस भाइरसको प्रजाती क्लेड २ (Clade -II) कारक रहेको छ । त्यस्तै सुडानमा सरणार्थीहरुमा देखिएको संक्रमण भने क्लेड १ (Clade -I) को कारण रहेको छ ।

कसरी सर्छ ?
मंकीपक्सको संक्रमणले शरीरमा घाउखटिरा आउने गर्छ । यस्ता घाउखटिरामा हुने संक्रमित पदार्थको सम्पर्कमा आउदा उक्त भाइरस एकदेखि अर्कामा सर्ने गर्छ ।

संक्रमण फैलिने माध्यममा स्पर्स गर्ने, चुम्बन तथा यौन सम्पर्क आदि पर्छन । त्यस्तै स्वासप्रस्वासको माध्यमबाट, बोल्दा, खोक्दा पनि एकअर्कामा सर्ने गरेको छ । एउटै सामान तथा कपडाको प्रयोग गर्दा पनि सर्नसक्ने सम्भावना रहन्छ ।

संक्रमित जनावरहरुको मासु खाँदा, सिकार गर्दा, जनावरले टोक्दा वा चिथोर्दा पनि सर्न सक्ने सम्भावना रहेको छ । अहिलेको महामारी यौनसम्पर्क प्रमुख माध्यम रहेको पाइएको छ र यो रोग फैलिनुमा यौनकर्मीको प्रमुख भुमिका पाइएको छ ।

लक्षणहरु के के हुन ?
मंकीपक्सको संक्रमणको १ देखि २१ दिनसम्ममा लक्षणहरु देखा पर्छन । प्रायमा एक हप्ताभित्रमा लक्षण देखिन्छन र २ देखि ४ हप्तासम्म रहि रहन्छन । रोग प्रतिरोधात्मक क्षमता कम भएकामा भने लामो समयसम्म लक्षण देखापर्न सक्छन । यस अवधिपछि भने रोग बिस्तारै निको हुदै जान्छ ।

लक्षणहरुमा,  डाबर आउनु, ज्वरो, घाँटी दुख्ने, टाउको दुख्ने, मांसपेसी दुख्ने, ढाड दुख्ने, थकान हुने, ग्रन्थी सुन्निने आदि हुन । सुरुमा देखिने डाबर बिस्तारै बढदै गएर फोका उठने, चिलाउने, दुख्ने हुनसक्छ । कसैमा थोरै तथा कसैमा सयौं खटिराहरु आउन सक्छ । खटिरा शरीरको जुनसुकै भागमा आउन सक्ने तर प्राय हातखुट्टा, अनुहार, मुख, घाँटी तथा तिघ्राको भित्रि भागमा बढी देखिन्छ ।

प्रायमा सुरुमा ज्वरो, मांसपेसी दुख्ने तथा घाँटी दुख्ने हुन्छ र पछि अनुहारबाट डाबर आउन सुरु हुन्छ । डाबर शरीरभरि फैलिन्छ र फोकामा परिणत हुन्छ । फोका फुटेर खटिरा बन्छ र निको हुदै गर्दा खटिरा झरेर जान्छ । सबै खटिरा हराउदासम्म संक्रमित ब्यक्तिले रोग अन्यमा सार्न सक्छ ।

गर्भवती, बालबच्चा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका ब्यक्तिमा भने जटिलताहरुमा उत्पन्न हुने जोखिम बढी हुन्छ । जटिलताहरुमा अरु संक्रमणको सम्भावना, न्युमोनिया, एन्सेफलाइटिस, आँखाको ज्योती गुम्ने आदि हुनसक्छ । साथै गर्भवतीको बच्चा खेर जाने हुनसक्छ ।

परीक्षण तथा उपचार के छ ?

मंकीपक्सका लक्षणहरु अरु संक्रमणहरु जस्तै ठेउला (Chichenpox), लुतो (Scabies), दादुरा (Measles) आदिसंग मेलखाने भएकोले छुटयाउन गाहो हुन्छ ।

यसको परिक्षणको लागि घाउखटिरा, फोका तथा नाकमुख, घाँटी आदिको स्वाब (Swab)लिएर भाइरसको पी.सी.आर. प्रणालीबाट जाँच गरिन्छ ।

मंकीपक्सको उपचार लक्षणहरु केन्द्रीत हुन्छ ।

संक्रमण हुदैमा अस्पताल जानुपर्ने जरुरी  हुँदैन । संक्रमण भएपछि सकेसम्म घरमा आफ्नो कोठामा बस्नुपर्छ । अरुसंग सम्पर्कमा नआउने, आफ्नो सामान तथा कपडा तथा अरुलाई चलाउन नदिने, मास्क लगाउने, साबुन पानीले बेलाबेला हात धुने, छाला सुख्खा र खुला छोड्ने आदि गर्न सकिन्छ ।

त्यस्तै प्रसस्त पानी पिउने, स्वास्थ खाना खाने र दुःखाइ र ज्वरोको लागि सिटामोल जस्ता औषधि खान सकिन्छ ।

त्यस्तै फोका फुटाउने कोट्याउने भने गर्नुहुदैन ।

अन्य ब्यक्तिहरुको नजिक हुदा मास्क लगाउने तथा खटिराहरु छोप्नाले रोग सर्ने जोखिम कम हुन्छ । लक्षणहरु धेरै बढ्दा वा थप जटिलता देखा परेमा भने नजिकैको स्वास्थसंस्थामा तुरुन्त सम्पर्क गर्न जरुरी हुन्छ ।

रोकथाम कसरी गर्ने ?

पहिले बिफरको लागि उत्पादन भएको खोप MVA-BN अहिले मंकीपक्सको रोकथाममा प्रयोगमा आएकोछ । यो खोप संक्रमणको उच्च जोखिममा रहेका तथा तत्कालै संक्रमित ब्यक्तिलाई दिइने गरेको छ ।

संक्रमित ब्यक्तिको सम्पर्कमा आएको ४ दिनसम्ममा खोप लगाउन विश्व स्वास्थ संगठनले सल्लाह दिएको छ ।

त्यस्तै पहिले बिफरमा प्रयोग हुने एन्टीभाइरल जस्तै टेकोभाइरिम्याट (Tecovirimat) पनि एमपक्सको उपचारमा प्रयोग गर्ने गरिएको छ । यसैगरि संक्रमण भइसकेपछि आइसोलेशन बसेर रोगको संक्रमण कम गर्न सकिन्छ ।

अहिलेसम्म नेपाली नागरिकमा संक्रमण पुष्टि भएको छैन तरपनि यो रोग लागेको छैन भनेर ढुक्क हुने अवस्था छैन । सरकारले रोगको परीक्षणका लागि केन्द्रहरु छुट्याएर उपचार गराउने आधिकारिक स्थानहरुको निरक्यौल गर्न जरुरी छ ।

यस रोगले उग्र रुप लिनु अगावै सरकारले उचित उपायहरु अपनाएर यस रोगको संक्रमण रोक्न परीक्षण तथा उपचारमा ध्यान दिन जरुरी हुन्छ । त्यसैगरि बिभिन्न संचारमाध्यम मार्फत अथवा अन्य निकाय मार्फत यस रोगको बारेमा जानकारी र रोकाथामबारे जागरुकता गराउन जरुरी देखिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *