‘सुलभ फार्मेसी’ खोल्दै काठमाडौँ महानगर

काठमाडौँ, २५ जेठ ।  जनतालाई सुलभ रुपमा गुणस्तरीय औषधि उपलव्ध गराउने योजना अनुरुप काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने योजना बनाउँदै छ ।

महानगरले आर्थिक वर्ष ०८०/८१ मा ‘सुलभ फार्मेसी’ कार्यक्रमअन्तर्गत आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने भएको हो ।

निजी फार्मेसीहरूले औषधिमा लिँदै आएको चर्को शुल्क नियन्त्रण र मूल्यमा एकरूपता ल्याउन सुलभ फार्मेसीको अवधारणा आएको हो । सात स्थानमा फार्मेसी खोल्न लागेका छौँ । काठमाडौँ महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले भने ।

यसरी स्थापना हुने फार्मेसी महानगरको स्वास्थ्य विभागले चलाउनेछ । यसको स्थापनाका लागि सात करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विभागले सोहीअनुसारको लागत इस्टिमेटसहित उपमेयरको संयोजकत्वमा रहेको बजेट निर्माण समितिलाई विवरण पठाएको छ ।

मेयर बालेन्द्र साह शिक्षा र स्वास्थ्यमा केन्द्रित देखिएकाले उक्त कार्यक्रम आगामी आर्थिक वर्षभित्रै सम्पन्न हुने धेरैको अनुमान छ । यी फार्मेसी सबैभन्दा बढी जनघनत्व भएका वडामा सञ्चालन गरिनेछ ।

महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जनघनत्व बढी भएका क्षेत्रमा फार्मेसी चलाउने र निजी फार्मेसीमाथि पनि नियमन गर्ने बताए । उनका अनुसार फार्मेसीमा सरकारले दिने ९८ प्रकारका निःशुल्क औषधि, स्वास्थ्य बिमा कार्यक्रमसहित अन्य औषधिसमेत सुपथ मूल्यमा पाइनेछ ।

‘हामीले नै फार्मेसी खोल्यौँ भने निजी फार्मेसीलाई नियमन गर्न सहज हुन्छ,’ उनले भने, ‘उनीहरू आफैँ पनि मूल्य घढाउन बाध्य हुन्छन्, सकेसम्म फार्मेसी सेवा सहज गराउँछौँ ।’

उनले गतवर्ष नै महानगरले सुलभ फार्मेसीको अवधारणा ल्याएको थियो । तर त्यसपटक अन्य केही कारणले यो कार्यक्रम समेटिन सकेन ।

मेयर बालेन्द्र साहकै अवधारणा अनुरुप यसपटक यो कार्यक्रम अघि बढेकोले बजेटमा आउनेमा महानगरका अधिकारीहरु विश्वस्त छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *