पूर्वखोला बन्यो यसपटक पनि पूर्णखोप सुनिश्चिता गाउँपालिका

पाल्पा, २३ जेठ । पूर्वखोला गाउँपालिका यसपटक पनि पूर्णखोप गाउँपालिका सुनिश्चिता भएको छ ।

सोमबार जिल्ला खोप समन्वय समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल र जिल्ला खोप समन्वय समितिका सदस्य सचिव समेत रहेका स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले गाउँपालिका खोप समन्वय समितिका अध्यक्ष समेत रहेका पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापालाई प्रमाणपत्र दिएर पूर्ण खोप गाउँपालिका सुनिश्चित गरेका हुन् ।

पूर्णखोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिनामा नियमित खोपको दररेट सर्वेक्षण लिस्टिङ गरी उमेर अनुसार लगाउनु पर्ने खोप पाए नपाएको एकिन गरिन्छ । पालिकाले विवरण पठाएपछि जिल्ला खोप समन्वय समितिले समेत नमूना घरधुरी सर्भेक्षण गर्दछ । सो क्रममा छुटेको पाइएमा वैशाख महिना भित्र खोप दिने र जेठ महिनामा पूर्ण खोप सुनिश्चितता गरी पूर्ण खोप पालिका घोषणा गरिन्छ ।

पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले पूर्णखोप गाउँपालिका सुनिश्चतता गर्ने सबै आधार पूर्ण भएपछि घोषणा गरिएको बताए । उनले भने, ‘गाउँपालिकामा छ वटा वडा छ त्यसमा १५ महिना मुनिका २४८ जना बालबालिका छन् । ती सबैको खोप कार्ड छन् र उनीहरु सबैले समयमै खोप पाइरहेका छन् ।’

ढकालले १६ देखि २३ महिनासम्मका बालबालिका १६४ जना रहेको र उनीहरुले पनि पूर्ण खोप पाएको बताए ।

पूर्वखोला गाउँपालिका भित्र ६ वटा स्वास्थ्य चौकी ५ वटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् ।यस्तै २४ वटा खोप केन्द्र रहेका छन् ।

यसैगरी स्वास्थ्य चौकीहरुमा चौविस घण्टा सुत्केरी सेवा, सुनिश्चित गर्भपतन सेवा, जनस्वास्थ्य प्रयोगशाला सेवा समेत उपलव्ध भएको ढकालले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *