कहिले आउँछ एचपीभी खोप ?

कसरी लाग्छ पाठेघरको मुखको क्यान्सर ?

काठमाडौँ, २१ जेठ । गत साता आएको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट बक्तव्यको २३४ नम्बर बुँदामा भनिएको छ, ‘महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई क्रमशः बिस्तार गरिनेछ। पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रमलाई बिस्तार गरिनेछ ।’

यसपटक मात्रै होईन, गतवर्ष सरकारले प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा पनि ‘पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम सुरु गरिनेछ’ भनिएको थियो । त्यसको कार्यान्वयन अहिलेसम्म हुन सकेको छैन् ।

आर्थिक वर्ष सकिन करीव ५ साता बाँकी रहँदासम्म एचपीभी खोप ल्याउन नसकेको सरकारले यो कार्यक्रम विस्तार हुनेछ भन्दा आम सर्वसाधारणले भने पत्याउन गाह्रो मानिरहेका छन् ।

सरकारी अधिकारीहरुले गतवर्ष प्रस्तुत भएको बजेटको कार्यान्वयन गर्न आउँदो असार मसान्तसम्ममा केही मात्रामा भएपनि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) आउछ नै नै भनेका छन् ।

‘यसपटक २० हजार भाइल खोप आउने छ । त्यसको लागि खरीद प्रक्रिया लगभग सकिएको छ । अब सप्लायर्सले कहिले ल्याउँछ भन्ने हो,’ स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति शाखा प्रमुख  डा सुरेन्द्र चौरसियाले भने ।

सरकारले यो खोप १ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई दिई भनेको छ । तर अहिले आउन लागेको खोप कहाँ दिने भन्ने विषयमा अझै तय गरेको छैन ।

‘अहिलेसम्म खोप आएको अवस्था छैन् । नयाँ खोप सञ्चालन गर्नु अघि यसबारेमा केही ओरिन्टेसन गर्नु पर्ने हुन्छ । त्यसका लागि पनि बजेट चाहिन्छ । हामीले लेखेर महानिर्देशक ज्यू मार्फत मन्त्रालयमा त पठाएका छौँ तर त्यसको जवाफ आइसकेको छैन,’ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लाल भन्छन् ।

अधिकारीहरुले खोप आउने मिति तय नभएको र खोप लगाउनकै लागि पनि अन्य तयारी गर्नु पर्ने भएकोले गतवर्षको बजेटले भने बमोजिम यस आर्थिक बर्षमै खोप कार्यक्रम सुरु हुनेमा आफूहरु ढुक्क नभएको बताउने गरेका छन् ।

त्यसो त मन्त्रालयले एचपीभी खोप आफ्नै खर्चबाट खरीद गरी लगाउने पक्षमा छैन । उसले द भ्याक्सिन अलायन्स (गाभी)को अनुदानमा यो खोप प्राप्त गर्नका लागि तयारी थालेको छ । ‘अहिले हामीले गाभी मार्फत नै यो खोप प्राप्त गर्नका लागि प्रयासरत छौँ । त्यसका लागि प्रस्तावनाहरु तयार गर्ने काम भइरहेको छ,’ महाशाखाका निर्देशक डा लालले भने ।

कसरी लाग्छ पाठेघरको मुखको क्यान्सर ?

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक एवं बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा विष्णुदत्त पौडेल भन्छन्, ‘विवाहित महिलामा देखिने पाठेघरको मुखको क्यान्सर एउटा नदेखिने किरा (जम्स)ले गर्दा हुने गर्दछ । त्यसलाई भाइरस पनि भनिन्छ । त्यसको नाम ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) नामले चिनिन्छ । यो भाइरस यत्तिकै महिलाको पाठेघरसम्म पुग्दैन् । जब महिला र पुरुषबीच शारीरिक सम्पर्क अर्थात यौन सम्पर्क हुन्छ त्यसबेला पुरुषद्धारा महिलामा सर्न सक्छ । अर्थात पुरुषविना यो भाइरस आफै महिलाको पाठेघरसम्म पुग्दैन् । महिलामा भाइसर सर्ने माध्यम पुरुष हो ।’

उनी अगाडी थप्छन्, ‘तर यौन सम्पर्क गर्नासाथ नै यो भाइरस देखिन्छ भन्ने छैन् । नसर्न पनि सक्छ । यदि सरेको रहेछ भने पनि आजको भोली नै असर देखिदैन । असर देखिनका लागि कम्तिमा ५ -१० वा १५ वर्षसम्म पनि लाग्न सक्छ । अर्थात यसले एकदमै मन्द गतिमा आफ्नो प्रभाव देखाउन सक्छ ।’

त्यसो त ह्युमन प्यापिलोमा भाइरस ९एचपीभी० भनेको भाइरसहरुको समूह हो । यो भाईरस १७० भन्दा बढी प्रकारको हुन्छ । यो संसारभर पाइन्छ । यीमध्ये १४ प्रकारका एचपीभी भाईसरको संक्रमणले पाठेघरको मुखको क्यान्सर, योनी, लिंग, गुदद्धार र घाँटीको समेत क्यान्सर गराउन सक्दछ ।

एचपीभी -१६ र एचपीभी -१८ ले मात्रै ७० प्रतिशत भन्दा बढी क्यान्सर गदाउँछन् ।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) का अनुसार सन् २०२० मा मात्रै संसारभर ६ लाख ४ हजार महिलामा पाठेघरको मुखको क्यान्सर देखापरेको अनुमान छ । त्यहिवर्ष वर्ष सोही रोगका कारण ३ लाख ४२ हजारको ज्यान गएको डव्लुएचओले जनाएको छ ।

नेपालमा पनि एक लाख महिलामध्ये १९ जनामा यो समस्या रहेको अनुमान छ । बर्षेनी करीब २ हजार जना नेपाली महिलाहरुको यसै समस्याका कारण मृत्यु हुने गरेको सरकारी तथ्यांक छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *