आज विश्व सुर्तीजन्य पदार्थ रहित दिवस

“हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन”

काठमाडौँ, १७ जेठ । हरेक वर्ष मे ३१ का दिन विश्व भरी नै “विश्व सुर्तीजन्य पदार्थ रहित दिवस” मनाउने गरिन्छ । नेपालमा पनि आज यो दिवस विविध कार्यक्रम गरी मनाईदै छ ।

यस वर्षको विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अन्तर्रष्ट्रिय नारा “We need food, not tobacco” अर्थात ‘हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने छ ।

नेपालले सन् २००३ मा सुर्तीजन्य पदार्थ रोकथामको अन्तराष्ट्रिय महासन्धि (डब्लुएचओ एफसिटीसी)मा हस्ताक्षर गरेको थियो । त्यसपछि सन् २००६ मा अनुमोदन गरयो । सन् २००७ मा उ एफसीटीसी कार्यान्वयन गर्ने पक्ष राष्ट्र दहरियो । त्यसैको आधारमा सन् २०११ मा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा निर्देशिकाहरु जारी भएका हुन् ।

दीगो विकास लक्ष्यका लागि पनि डब्लुएचओ एफसीटीसीको कार्यान्वयन महत्वपूर्ण हुने हो । तर नेपालमा कानून कार्यान्वयनको पाटो निकै नै फितलो देखिएको छ ।

त्यसैले अब डब्लुएचओ एफसीटीसीको कार्यान्वयनलाई तीव्रता दिन पनि आवश्यक छ । किनभने यसले सुर्तीजन्य पदार्थको माग र आपूर्ति न्यूनीकरणको लागि सुर्तीजन्य पदार्थ रोकथामको महासन्धि (डब्लुएचओ एफसिटीसी)का प्रावधानहरूको कार्यान्वयनलाई जोड दिन्छ ।

केही महिना अघि मन्त्रिपरिषद्ले अनुमोदन गरेको नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय बहुक्षेत्रीय कार्य योजना २०२१–२०२५ ले नेपालमा सन् २०२५ सम्ममा १५ वर्ष माथिका मानिसहरुमा व्याप्त रहेको सुर्तीजन्य पदार्थको प्रयोगमा ३०% सापेक्षिक कमी ल्याउन आह्वान गरेको छ ।

सुर्तीजन्य पदार्थको सेवनबाट कति हुन्छ जनधनको क्षति ?
नेपाल स्वास्थ्य अनुसन्धान परिषद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन नेपालद्वारा गरिएको एनसीडी स्टेप्स सर्वेक्षण अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनको कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ । ती मध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको छ भने धुम्रपान नगर्ने तर अन्य व्यक्तिले गरेको धुम्रपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ ।

नेपालमा हरेक वर्ष २७ हजार भन्दा बढी मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन गर्दा क्यान्सर, मुटु रोग, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोगहरू निम्त्याउने गरेको छ । त्यसैगरी सुर्तीजन्य पदार्थको सेवन गर्दा मुख, दाँत, गिजामा समस्या आउने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना हुने, आँखाको दृष्टि कमजोर हुने र श्रवण शक्ति कम्जोर हुने जस्ता स्वास्थ्य समस्या हुन्छन् । अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वास सम्बन्धी समस्या, मुटु रोग, क्यान्सर लगायतका स्वास्थ्य जोखिम बढाउँछ ।

विश्व स्वास्थ्य संगठनको सन् २०२२ को तथ्याङ्क अनुसार विश्वमा २२.३% मानिसहरु सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । सुर्तीजन्य पदार्थको प्रयोग महिलाहरुको (७.८%) तुलनामा पुरुषहरुमा (३६.७%) बढी हुने गरेको छ । स्टेप्स सर्भे २०१९ अनुसार नेपालमा २८.९% मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ र ४८.३% पुरुष र ११.६% महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् ।

यस वर्षको नाराले कुपोषणको समस्यालाई ध्यानमा राख्दै खाद्य सुरक्षा सुधार र थप पौष्टिक खाद्य उत्पादन गर्न वैकल्पिक र दिगो खेतीका लागि नीति र रणनीतिहरू विकास गर्ने विषयमा राष्ट्रहरुको ध्यानाकर्षण गराएको छ ।

सुर्तीजन्य पदार्थको खेती गर्दा, उत्पादनको क्रममा र प्रयोग पश्चात उत्सर्जन हुने फोहरले जल, वायु र जमिन प्रदूषित हुन्छ र मानव स्वास्थ्यको साथै समग्र वातावरणमा प्रतिकुल प्रभाव पार्दछ । यी समस्याहरुको सम्बोधन गर्न सरोकारवाला सबैको भूमिको विषयलाई जोड दिंदै सुर्तीजन्य पदार्थको खेती, उत्पादन र प्रयोगलाई निरुत्साहित गर्न आवश्यक छ ।

सुर्तीजन्य पदार्थको महामारीलाई सम्बोधन गर्न नेपालले सुर्तीजन्य पदार्थ रोकथामको महासन्धि (डब्लुएचओ एफसीटीसी) मा सन् २००३ डिसेम्बर ३ मा हस्ताक्षर गरेको र सन् २००६ नोभेम्बर ७ मा अनुमोदन गरी सन् २००७ फेब्रुअरी ५ देखि सुर्तीजन्य पदार्थ रोकथामको महास को पक्ष राष्ट्र बनेको हो ।

सुर्तीजन्य पदार्थ रोकथामको महासन्धि (डब्लुएचओ एफसीटीसी) को आधारमा नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण लक्षित कानून र प्रक्रियात्मक दस्तावेजहरू तयार गरी कार्यान्वयनमा ल्याएको छ ।

कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहर केन्द्र, वृद्धाश्रम, अनाथालयको कम्तीमा एक सय मिटर भित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाइने व्यवस्था रहेको छ ।

त्यसैगरी सुर्तीजन्य पदार्थ बिक्रेताले अठार बर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ नबेच्ने र बेच्न नलगाउने र चुरोट तथा बिडीको फुटकर खिल्ली बेच्न नपाउने व्यवस्था रहेको छ ।

संघ, प्रदेश र स्थानीय तहमा सुर्तीजन्य पदार्थसँग सम्बन्धित कानून र नियमको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आवश्यक छ । प्रत्येक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रत्येक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको निरीक्षक तोकिएको छ ।

सुर्तीजन्य पदार्थको हानिकारक असर तथा सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन सम्बन्धि सचेतना कार्यक्रम तथा प्रवद्र्धनात्मक कार्यक्रम गर्न स्थानीय तह, प्रादेशिक तह र संघिय तहमा समन्वय र पैरवी गर्दै आइएको छ । स्वास्थ्यकर्मीहरुका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि क्षमता अभिवृद्घि तालिम संचालन गरिँदै आइएको छ ।

विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्यकर्मीहरुका लागि सुर्तीजन्य पदार्थको लत त्याग्न चाहने व्यक्तिहरुलाई मद्दत गर्न सहयोग तालिम संचालन गरिएको छ । सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रणको लागि तीनै तहमा विद्यालय स्वास्थ्य शिक्षा, सरोकारवालाहरु सँग अन्तक्रिया कार्यत्रमहरु, आमसञ्चार कार्यक्रमहरु थप व्यापक गर्दै लौजान आवश्यक छ ।

सुर्तीजन्य पदार्थको असरहरुलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी ऐन, कानून, नियमावली र निर्देशिका पारित भई लागु भइसकेको अवस्थामा यी प्रावधनहरुको कडाईका साथ लागु गरी सुर्तीजन्य पदार्थबाट हुने असरलाई न्यूनीकरण गर्न अपरिहार्य बनेको छ ।

सुर्तीजन्य पदार्थको सेवनको लत छुटाउने कार्यक्रमलाई पहुँचयोग्य बनाउन, सुर्तीजन्य पदार्थमा कर बढाउन र विक्रि वितरणलाई नियमन गर्न आवश्यक छ । नेपालको वर्तमान आर्थिक परिप्रेक्ष्य र कोभिड–१९ को महामारीले विश्वभर निम्त्याएको आर्थिक सङ्कटको परिस्थितिको विकल्पको रुपमा सुर्तीजन्य पदार्थमा कर बढाउनाले  Brief tobacco intervention को काम गर्दछ ।

सुर्तीजन्य पदार्थको खेती, उत्पादन, विक्रि वितरण र प्रयोगबाट मानव स्वास्थ्यको साथै समग्र वातावरणमा हुने प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थ रहित दिवसलाई अभियानका रुपमा वर्षैभरी सञ्चालन गर्न आवश्यक छ । सुर्तीजन्य पदार्थको यो साझा समस्याको सम्बोधन गर्न संघ, प्रदेश र स्थानीय तह, राजनितिक नेतृत्व,गैरसरकारी संस्था, नागरिक समाज, संचारकर्मी, निजि क्षेत्र र सम्पूर्ण नागरिकको भूमिका आवश्यक छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *