महिनावारीको विषयलाई राष्ट्रियकरण गर्न उपसभामुख रानाको जोड

काठमाडौँ, १५ जेठ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले महिनावारीको विषयलाई राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएकी छन् ।

अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा राष्ट्रिय महिनावारी स्वच्छता सञ्जालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले महिनावारी विभेदलाई तोड्नुपर्ने बताएकी हुन् ।

महिनावारी विभेद अन्त्य गर्न महिलामात्र सजग भएर नपुग्ने बताउदै उनले यो अभियानमा पुरुषहरुले पनि साथ दिनुपर्ने बताइन् । उनले छोरा र छोरीको विभेद अन्त्य गर्न सके मात्रै पनि महिलाहरुले भोग्नुपर्ने विभेदको अन्त्य हुनेमा विश्वास व्यक्त गरिन् ।

महिनावारीको समयमा महिलाले प्रयोग गर्ने सेनेटरी प्याडको सहज उपलब्धता गराउन सरकारलाई उनको आग्रह छ ।

उनले भनिन्, ‘सार्वजनिक स्थल, विद्यालयहरुमा पनि सहज रुपमा सेनेटरी प्याड नपाएको सुनिन्छ अन्तको त कुरै छोडौ संसद भवनकै महिला शौचालयमा पनि सेनेटरी प्याड नभएको गुनासो आउछ । महिला सांसदहरुले गुनासो लिएर आउनुभयो मैले प्याडको व्यवस्था गर्न निर्देशन पनि दिइसकेँ ।’

उनले सबै महिलाहरूलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गरेकी छिन् । महिनावारी हुँदा महिलाहरुले विभेदसँगै शारीरिक हिंसा पनि भोग्नुपरेको उनको भनाइ छ । यो विभेद अन्त्य गर्न सरकार एक्लैले नसक्ने भएकाले विभेद अन्त्यका लागि एकजुट हुन उनको आग्रह छ ।

महिलाहरुलाई राजनीतिक दलले उपयोग मात्र गरेको उनको गुनासो छ । संविधानले महिलालाई ३३ प्रतिशत सहभागिता उल्लेख गरेपनि निर्णायक तहमा पुरुषहरु नै हावी हुने गरेको उनको तर्क छ । साथै उनले अधिकार खोज्दै गर्दा आमा हुनुको कर्तव्य नभुल्न पनि महिलाहरुलाई आग्रह गरिन् । साथै उनले लैङ्गिक अल्पसंख्यक र अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि राज्यले समान अवसर दिनुपर्नेमा जोड दिइन ।

कार्यक्रममा छेसाङ घिसिङले लैङ्गिक तथा अल्पसंख्यक समुदायलाई हेर्ने नजर विभेदपूर्ण रहेको बताए । उनले आफु लैङ्गिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधि हुन पाएकोमा समेत खुसी ब्यक्त गरे । त्यस्तै कार्यक्रममा लक्ष्मी कुँवरले अपाङ्गता भएका ब्यक्तिहरुलाई महिनावारीको समय थप कठीन र चुनौतीपूर्ण भएको सुनाइन् ।

अपाङ्गताका कारण हिँडडुल मै समस्या भोगिरहेकाहरुले महिनावारीको समयमा थप विभेद भोग्नुपरेको उनको गुनासो छ । अपाङ्गता भएका महिलाहरुलाई महिनावारीको समयमा सरसफाई गर्न नै समस्या हुने उनले बताइन् । अपांगताको किसिम अनुसार नै ब्यक्तिले भोग्ने समस्या फरक फरक भएको उनले सुनाइन् ।

कार्यक्रममा युनिसेफका नेपाल प्रमुख एलके विइसले महिनावारी विभेद अन्त्यका लागि जनचेतना बढाउन आवश्यक रहेकोमा जोड दिइन् ।

नेपालमा करिब ९ लाख महिला तथा किशोरीले महिनावारी विभेद भोगिरहेकाले यो अन्त्यका लागि पहल गर्नुपर्ने उनको भनाइ छ । उनले महिनावारीको समयमा सामान्यदेखि जघन्य अपराधको सामना महिलाहरुले गर्नुपरेको अध्ययनहरुले देखाएको बताइन् । उनले महिलाहरुलाई महिनावारीको समयमा खुलेर आफ्ना समस्या राख्न समेत सुझाइन् । उनले पुरुषहरुलाई पनि महिनावारीबारे बुझाउन सकेमा विभेद कम गर्न सकिने बताइन् ।

राष्ट्रिय महिनावारी स्वच्छता सञ्जालका संयोजक गुणराज श्रेष्ठले २०१९ को तथ्याङ्क अनुसार नेपालको महिलाको कुल जनसंख्या मध्ये २ दशमलव ९ प्रतिशत जनसंख्या महिनावारीको समयमा छाउगोठमा बस्न बाध्य भएको जानकारी दिए । यस्तै २ दशमलव ३ प्रतिशत महिला गाइगोठमा बस्नेगरेको अध्ययनले देखाएको जानकारी दिए ।

त्यसैगरी  २ दशमलव ८ प्रतिशत महिलाहरुले महिनावारीको समयमा खानेकुरा समेत बार्ने गरेको देखाएको बताए ।  २ दशमलव ३ प्रतिशत महिला महिनावारीको समयमा विद्यालयमा अनुपस्थित हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

२५ प्रतिशत महिलाहरु महिनावारी हुँदाको समयमा छुट्टै कोठामा बस्ने गरेको देखाएको छ ।

यस्तै ८ दशमलव ८ प्रतिशत जनसंख्याले महिनावारी हुँदा छुटै बाथरुम प्रयोग गर्ने देखाएको छ भने ५७ दशमलव ६ प्रतिशत महिलाहरुले महिनावारीको समयमा धार्मिक तथा सामाजिक कार्यमा प्रतिबन्ध खेप्नुपरेको अध्ययनले देखाएको उनले जानकारी दिए ।

महिनावारीको समयमा मानवअधिकार समेत उल्लंघन हुनेगरेको बताए । महिनावारीको समयमा सरसफाइमा ध्यान नदिँदा महिलाको स्वास्थ्यमा समेत असर गरेको देखिएको उनले बताए । महिनावारी सम्बन्धी छुट्टै नीति बनाएर कार्यान्वयन गर्न उनले सरकारलाई आग्रह गरे ।

कार्यक्रममा नेपालमा महिनावारी अभियन्ताका कथाहरु नामक पुस्तकको विमोचन भएको छ । जसमा ३४ जना महिनावारी अभियन्ताका कथा समेटिएको पुस्तकका प्रकाशक बाबुकाजी श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बीबीसीका अध्यक्ष कृष्ण कुमारी वाइवाले धन्यवाद व्यक्त गरिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *