केयर गिभरको रुपमा जापान लैजान नेपाली नर्सिङ जनशक्ति खोज्दै जापानीहरु

नेपालबाट नर्सिङ केयरमा जानेले के काम गर्नुपर्छ ? कति कमाउँछन् ?

काठमाडौँ, ९ जेठ । जापानीहरु लामो समय बाच्दछन् । सन् २०१९ २० को तथ्यांकले ६५ वर्ष माथिका बृद्धको संख्या ३ करोड ५८ लाख ८० हजार (२८.४) देखाएको थियो । जो हालसम्मकै सबैभन्दा बढी हो । सरकारले यो उमेरको सन् २०४० सम्ममा ४० प्रतिशत पुग्ने अनुमान गरेको छ । एकातिर बृद्ध उमेरका व्यक्तिहरु थपिदै जाने र अर्कोतिर जन्मदर घट्दै जाने समस्या जापानलाई ठूलो चुनौतीको रुपमा अघि बढेको छ । त्यसैले सरकारले सन् २०१८ मा नयाँ नीति पारित गर्दै जापानीहरुको केयरका लागि विदेशबाट शिपयुक्त जनशक्ति झिकाउने निर्णय लियो ।

‘सोही अनुसार हामीले नेपालबाट अहिले नर्सिङ केयरका लागि दक्ष जनशक्ति जापान लगेका छौँ र थप लैजाने क्रममा छौँ,’ टोकियोमा रहेको ह्युमन आई कम्पनीका अध्यक्ष इचिरो किरयुले भने ।

उनले चार वर्ष अघि नै विशिष्ठ सिपमा दक्षता भएकालाई स्पेफिपाइड स्किल वर्कर (एसएसडब्लू) भिषा मार्फत जापानमा गएर काम गर्न सक्ने गरी नेपाल र जापानबीच समझदारी भएको समेत सुनाए ।

सोमबार कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको अवकोकन गर्न आएका आएका जापानी टोलीका अर्का सदस्य जो निहोन केयर क्वालिटीका अध्यक्षसमेत थिए माकोतो इसीले  पछिल्लो समय नर्सिङ केयर गिभरका लागि नेपालीहरुलाई जापान लैजान चाहेको बताए । सो क्रममा उनले त्यहाँको नियम, सुविधा, गर्नु पर्ने कामका विषयमा स्पष्ट पारेका थिए ।

‘हामीले अहिले नेपाल लगायतका विभिन्न देशबाट नर्सिङ केयरका लागि दक्ष जनशक्ति आपूर्ति गरिरहेका छौँ । अहिले नै पनि हाम्रो कम्पनी अन्तरगर्त १२ जना नेपालीले नर्सिङ केयर गिभरको रुपमा काम गरिरहनु भएको छ । हामी यसलाई अब तिब्रता दिन चाहन्छौँ । नर्सिङ केयरका लागि धेरै जनशक्ति नेपालबाट लैजान चाहन्छौँ’ उनले भने ।

उनले जापानमा बृद्धबृद्धाको संख्या बढ्दै गएको र स्याहार गर्नेको अभाव हुँदै गएकोले सरकारसंगको सहकार्यमा निजी क्षेत्रले पनि सेवा सुरु गरेको बताए । ‘इन्स्योरेन्स अन्तरगर्तमा रहेर काम गर्ने दुईवटा सहित हाम्रो २० बटा कम्पनी छ । जसले नर्सिङ केयरको सेवा दिईरहेको छ । उनले अगाडी थपे, यसमा नेपाली दक्ष जनशक्ति आवद्ध हुन सक्नुहुन्छ ।’

नेपालबाट नर्सिङ केयरमा जानेले के काम गर्नुपर्छ ? कति कमाउँछन् ?
सुविधाको विषय बताउँदै गर्दा उनले गर्नु पर्ने कामको विषयमा सुनाए ।

‘अहिले हामीले नर्मल बृद्धबृद्धा, बिरामी देखि डिमेन्सिया भएका व्यक्तिहरुको केयरका लागि विदेशबाट जनशक्ति लैजान खोजेका हौँ । यसमा पनि अझ बढी फोकस डिमेन्सिया भएका व्यक्तिको केयरका लागि छ । नर्सिङ होममा भर्ना भएका व्यक्ति, डे केयरमा आएर सेवा लिने व्यक्ति र घरमै बसेर स्याहार गर्नु पर्ने व्यक्तिका लागि यी जनशक्ति खटाउँछौँ,’ उनले भने ।

माकोतो इसीका अनुसार नेपाली कामदारका लागि बेसिक तलव १ लाख ६० हजार रुपैयाँबाट सुरु हुन्छ । त्यसमा नाइट मासिक कम्तिमा चार देखि पाँच दिन नाइट डिउटी हुन्छ । त्यसमा आउने भत्ता समेत जोडदा १ लाख ९० हजार बढी पुग्छ । त्यस बाहेक निजी क्षेत्रले दिएको सेवालाई प्रोत्साहन गर्न सरकारले केही भत्ता उपलव्ध गराउँछ । त्यो पनि कामदारले नै प्राप्त गर्दछ । यदि अनुभवी हो भने बेसिक तलव २ लाख २५ हजार रुपैयाँबाट सुरु हुन्छ ।

‘तलव १६० हजार देखि सुरु हुन्छ । त्यसपछि भत्ता हुँदै जान्छ । नाइट सिफ्टमा भत्ता थपिन्छ । ५ हजारबाट सिफट हुन्छ र महिनामा १ लाख ९० हजार जति पुग्छ ।

‘बस्नका लागि आवश्यक व्यवस्था कम्पनीले नै दिए पनि फ्ल्याट भाडा भने कामदार र कम्पनीले आधा आधा तिर्नुपर्छ । करीव ५० हजार फ्ल्याट भाडा पर्छ । त्यसमा कम्पनीले २५ हजार बेहोर्छ । दुई जना बस्यो भने १२ हजार ५०० एक जना व्यक्तिले तिर्नु पर्ने हुन्छ,’ उनले भने ।

‘अनुभवीलाई २ लाख २५ हजार रुपैयाँबाट सुरु हुन्छ । हरेक वर्ष तलव बढ्दै जाने र बर्षमा दुईपटक बोनस थपिने व्यवस्था छ । अनुभवको आधारमा अन्य सुविधाहरु पनि त्यहि हिसावले थपिदै जान्छ,’ उनले भने ।

जापानमा तीन वर्ष कामको अनुभव पछि छ महिने कोर्ष गरेर नर्सिङ केयरका लागि लाइसेन्स लिन सकिन्छ । यदि लाइसेन्स पास गरेमा बेसिक तलवमा मासिक कम्तीमा २५ हजार बढी हुन्छ । त्यसपछि उसले त्यहाँका पिआर लिएर परिवारलाई समेत लैजान पाउँछ ।

किरयुले यसअघि जापानले तीनवर्षे भिषा दिने गरेको भए पनि अहिले सो भिषा ५ बर्षे दिने गरेको भन्दै नेपाली नर्सहरुका लागि राम्रो अवसर हुनसक्ने बताए ।

उनले तीन वर्ष अघि काठमाडौँमा स्थापित स्किल एजुकेशन एण्ड वर्क एकेडेमी (सेवा नेपाल)ले जापानका रोजगारद्धाताको आवश्यकता अनुसारको सीप तथा भाषा कार्यक्रम सञ्चालन गरेर नेपाली केयर गिभर लैजान सहजीकरण गरिरहेको बताए ।

सो अवसरमा केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले वैदेशिक रोजगारीम दक्ष जनशक्ति जाँदा सम्मान र सुविधामा त्यहि किसिमको हुने भन्दै जापानमा नर्सिङ केयरसंंगै डेन्टल केयरको पनि जनशक्तिको खाँचो रहेको आफूले पाएको बताए । उनले डेन्टल हाइजिनिष्टलाई तेस्रो वर्षमा जापानी भाषा ऐच्छिक रुपमा राखेर जापानमा समेत अवसरको ढोका खोल्न खोजेको सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *