एमडी/एमएस भर्ना प्रक्रियामा विवाद : चिकित्सा शिक्षा आयोगको पक्षमा सर्बोच्चको फैसला
आयोगको निर्णयको विरुद्ध विद्यार्थीद्धारा दायर रिट खारेज
काठमाडौँ, १ जेठ । सर्बोच्च अदालतले एमडी/एमएसको भर्ना प्रक्रियामा चिकित्सा शिक्षा आयोगको कदमविरुद्ध एक जना विद्यार्थीले दायर गरेको रिट खारेज गरिदिएको छ ।
एमडी/एमएस भर्ना प्रक्रियालाई अवैध रुपमा संसोधन गरी आयोगले कानून विपरितको काम गरेको भन्दै विद्यार्थी निस्कर्ष रिजालले सर्बोच्चमा रिट दायर गरेका थिए ।
तर सोमबार न्यायाधीशद्धय टंकबहादुर मोक्तान र अनिलकुमार सिन्हाको संयुक्त इजलासले विद्यार्थीद्धारा दायर रिट खारेज गरेको हो ।
‘विद्यार्थीको रिट खारेज हुनुको मतलव आयोगले भर्ना प्रक्रियामा चालेको कदम ठिक छ भन्ने हो । अब उसलाई अगाडी बढ्न बाटो खुल्यो’ सर्बोच्चका प्रवक्ता विमल पौडेलले भने ।
यसअघि ११ बैशाखमा सर्बोच्चले एमडी एमएसको नयाँ शैक्षिक कार्यक्रम तत्काल सञ्चालन नगर्न र गरिसकेको भएपनि यथास्थितिमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
आयोगले त्यसअघि दिएको परामादेशको कार्यान्वयन नगरी भर्ना प्रक्रिया अघि बढाएको र शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्न लागिएको भन्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
के हो विवाद ?
चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा लिई सकेपछि बीचमा एमडीएमएसको भर्ना प्रक्रिया परिवर्तन गरेको र त्यसलाई खारेजीको माग गर्दै विद्यार्थीहरुले सर्बोच्चमा रिट दायर गरेका थिए ।
गत चैत २७ मा सो मुद्धाको सुनुवाई गर्दै सर्बोच्चले पुरानै प्रक्रिया अनुसार भर्ना लिनु भनेको थियो ।
तर आयोगले सो आदेशको वास्ता नगरी शैक्षिक प्रतिष्ठानहरुले भर्ना गरी कक्षा सञ्चालन समेत गर्न थालेपछि सर्बोच्चले कक्षा सञ्चालन नगर्न पुन: अन्तरिम आदेश जारी गरेको थियो ।