आज देखि बढ्यो डाक्टरहरुले लिने ओपिडी शुल्क

स्वास्थ्य मन्त्री बस्नेत भन्छन्, 'यस विषयमा पुन: छलफल गर्छु'

 

काठमाडौँ, १ जेठ । बिरामी जाँच गर्दा डाक्टरहरुले लिने ओपिडी शुल्क आज देखि बृद्धि भएको छ । नेपालका चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघ (एनएमए) र निजी अस्पताल सञ्चालकहरुको छाता संस्था एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले आज देखि ओपिडी शुल्क बढाउने निर्णय गरेका हुन् ।

यसअघि १६ बैशाखमा एनएमएका अध्यक्ष डा अनिल बिक्रम कार्की र अफिनका अध्यक्ष डा पदमबहादुर खड्काले जारी गरेको संयुक्त प्रेस विज्ञप्तीमा १ जेठ देखि ओपिडी शुल्क बढ्ने उल्लेख थियो ।

ओपिडी शुल्कको पुनरावलोकन गर्ने काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हो । तर संघले अहिले आफूहरुलाई नै शुल्क तोक्ने सम्वन्धी अख्तियारी दिएको उल्लेख गरेको छ । ‘हामीले गत १६ बैशाखमा जारी विज्ञप्ती अनुसार नै आज देखि ओपिडीको नयाँ शुल्क कार्यान्वयनमा ल्याउन भनेका छौँ,’ संघका अध्यक्ष डा कार्कीले भने ।

उनले बढ्दो महंगी र नेपाल राष्ट्र बैठकले जारी गरेको मुद्रास्फितिको विश्लेषण गरेर नै नयाँ शुल्क निर्धारण गरिएको दावी गरे ।

डाक्टरहरु संग फेरी छलफल गर्छु : स्वास्थ्य मन्त्री बस्नेत
त्यसो त मोहनबहादुर बस्नेत स्वास्थ्य मन्त्री भएर आउनु पूर्व नै चिकित्सकहरुले १ जेठ देखि ओपिडी शुल्क बढ्ने विज्ञप्ती सार्वजनिक गरिसकेका थिए । तर बस्नेतले २१ बैशाखका दिन पदवहाली पछिको सम्वोधनमा चिकित्सकहरुको ओपिडी शुल्कको विषयमा आफू गम्भीर रहेको बताएका थिए ।

गत २७ बैशाखमा स्वास्थ्य मन्त्रालयमै गरेको पत्रकार सम्मेलनमा ओपिडी शुल्कको विषयमा प्रश्न उठे पछि मन्त्री बस्नेतले पुन त्यसलाई सम्वोधन गर्ने दावी गरेका थिए । उनले त्यसबेला भनेका थिए, ‘यसरी एक पक्षीय रुपमा शुल्क बृद्धि गर्न मिल्दैन्, मैले चिकित्सक संघका प्रतिनिधिहरुलाई भनिसकेको छु । फेरी पनि भन्छु ।’

सोमबार नेपाली हेल्थले जिज्ञासा राख्दा भने मन्त्री बस्नेतले यस विषयमा कुरा गर्नै नभ्याएको बताए । उनले भने, ‘कामको चापले कुरा नै बिर्सेछु । हजुरले आज सम्झाईदिनु भयो । आजै साथीहरुसंग यस विषयमा कुरा गर्छु । सम्झाइदिनु भएकोमा यहाँलाई धन्यवाद ।’

एनएमए अध्यक्ष  डा.  कार्कीले भने मन्त्री बस्नेतलाई शुल्क बढाउनु पर्नुको कारण भनिसकेको बताए । ‘उहाँले चासो राख्नु भएको हो । हामीले शुल्क बढाउनु पर्ने बाध्यताबारेमा बुझायौँ । त्यसपछि उहाँले त्यस्तो केही भन्नु भएन । हामीले पनि मन्त्री कन्भिन्स हुनु भएको छ भन्ने ठानेका छौँ,’ डा. कार्कीले भने ।

कति बढ्यो ओपिडी शुल्क ?
आजबाट बढेको भनिएको नयाँ शुल्कमा अब एमबीबीएस बीडीएसको डाक्टर जसको अनुभव पाँच बर्ष भन्दा कम छ उसले ४२० रुपैयाँ लिन पाउँछ । यसअघि यस्तो डाक्टरको शुल्क ३७० रुपैयाँ तोकिएको थियो । पाँच वर्ष बढी अनुभव भएका एमबीबीएस तथा बीडीएस डाक्टरले ५१५ रुपैयाँ लिन पाउँछ । उसको यसअघि ४५० रुपैयाँ शुल्क तोकिएका थियो ।

यस्तै अब डिप्लोमा लेभलको चिकित्सकले पाँच वर्ष मुनिको अनुभव छ भने ५९० रुपैयाँ र त्यो भन्दा बढी छ भने ६७० रुपैयाँ लिन पाउँछ । यसअघि यो लेभलको चिकित्सकको पाँच वर्ष कम अनुभव भएकोले ५१५ रुपैयाँ र पाँच वर्ष बढी अनुभव भएकाको ५९० रुपैयाँ तोकिएको थियो ।

यस्तै एमडीएमएस एमडीएस लेभलका चिकित्सकले पाँच वर्ष मुनि अनुभव भएपनि ७५० रुपैयाँ ओपिडी शुल्क लिन पाउनेछन् । पाँच वर्ष बढी अनुभव भएमा सो लेभलको चिकित्सकले ८०० रुपेयाँसम्म शुल्क लिन सक्नेछन् ।

दुई बर्ष अघि भने यो लेभलको चिकित्सकको शुल्क पाँच वर्ष भन्दा कम अनुभव भएकाको ६६० रुपैयाँ र त्यसभन्दा बढी अनुभव भएमा ७०० रुपैयाँ थियो ।

यस्तै डीएम एमसीएच तहका चिकित्सक जसको अनुभव पाँच वर्ष भन्दा कम छ उनीहरुको शुल्क ८८० रुपैयाँ हुने भएको छ । यसअघि उनीहरुको शुल्क ७७० रुपैयाँ थियो ।

पाँचवर्ष माथिकाले ९४० रुपैयाँ लिन सक्ने छन् । यसअघि यो तहका चिकित्सकले ८२५ रुपैयाँ लिन पाउँथे ।

यस्तै आजबाट निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरको न्युनतम तलव पनि बढने भएको छ । यसअघि उनीहरुको न्युनतम तलव मासिक ४२ हजार रुपैयाँ तोकिएकोमा आज देखि न्युनतम तलव ४८ हजार ७३७ कायम गरिएको उल्लेख छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *